काँग्रेस नेतालाई महाधिवेशन चटारो

congress

काठमाडौँ, १५ पुस । आशन्न १३औँ महाधिवेशनमा आआफ्नो पक्षमा लविङ गर्न तथा पद सुरक्षित गर्न नेपाली काँग्रेसका नेता देशव्यापी दौडाहामा लागेका छन् ।

महाधिवेशनको तयारीका लागि यसअघि विभिन्न जिल्लामा पुगेर आफ्नो अवस्था बुझ्न, कार्यकर्ताको सुझाव लिन र आफ्नो मत बलियो बनाउन खटेका काँग्रेस नेताहरु पुस १६ गतेको मेलमिलाप दिवस पारेर काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् ।

सभापति सुशील कोइराला काँग्रेस स्याङ्जा जिल्ला कार्यसमितिको कार्यालय भवन उद्घाटनका लागि आज अपराह्न पोखरा प्रस्थान गर्नुभएको छ । उहाँ आज पोखरामा नेता कार्यकर्तासँगको भेटघाटमा व्यस्त रहनुभयो भने भोलि स्याङ्जा प्रस्थान गर्नुहुनेछ ।
वरिष्ठ नेता शेरबहादुर देउवा सुदूरपश्चिमाञ्चल पश्चिमाञ्चल विकास क्षेत्रका विभिन्न कार्यक्रममा सहभागी भई केही दिनअघि मात्र काठमाडौँ फर्कनुभएको थियो भने उहाँ भोलि नेपाल महिला सङ्घको कोसी अञ्चलस्तरीय भेलाको उद्घाटन गर्न विराटनगर जानुहुने भएको छ ।

यही पुस १० गतेदेखि लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजको पश्चिमाञ्चल क्षेत्रीय भेलाको उद्घाटन गर्न पोखरा जानुभएका उपसभापति रामचन्द्र पौडेल त्यसयता काठमाडौँ फर्कनुभएको छैन । उहाँ गुम्मी, स्याङ्जा, अर्घाखाँची हुँदै आज कपिलवस्तु पुग्नुभएको छ । उहाँ अझै केही दिन बाँकी जिल्लाको भ्रमण सकेरमात्र काठमाडौँ फर्कने उहाँका सहयोगीले बताउनुभयो ।

काँग्रेसका शीर्ष नेता कोइराला, देउवा र पौडेलले औपचारिक रुपमा घोषणा नगरे पनि तिनै नेताले आशन्न १३औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने पक्कापक्की छ । काँग्रेसको १३औँ महाधिवेशन आगामी फागुन २० देखि २३ गतेसम्म राजधानीमा हुँदैछ ।

पुस १६ गतेको मेलमिलाप दिवसका अवसरमा काँग्रेसका संस्थापक स्व नेताद्वय बिपी कोइराला र गणेशमान सिंहको अर्धकद शालिकको अनावरण गर्न आज चितवन पुग्नुभएका महामन्त्री प्रकाशमानसिंह भोलि काठमाडाँै फर्कने कार्यक्रम छ ।

अर्का महामन्त्री कृष्णप्रसाद सिटौला एक सातादेखि उपत्यका बाहिर हुनुहुन्छ । उहाँ बुटवल, नवलपरासी, दाङ, हँुदै सुदूरपश्चिमसम्म पुग्ने कार्यक्रम रहेको उहाँका सहयोगीले बताउनुभयो ।

पूर्वसहमहामन्त्री पूर्णबहादुर खड्का करिब एक सातादेखि मेची अञ्चलको भ्रमणपछि पश्चिमाञ्चल क्षेत्रसम्म पुगेर आजैमात्र काठमाडौँ फर्कनुभएको छ ।

त्यस्तै सुदूपश्चिमाञ्चल क्षेत्रको भ्रमण सकेर हालै काठमाडौँ फर्कनुभएकी पूर्वउपप्रधानमन्त्री एवम् काँग्रेस नेत्री सुजाता कोइरालाले भोलिदेखि मध्यपश्चिमाञ्चल क्षेत्रको भ्रमण गर्ने बताउनुभएको छ । नेता अर्जुननरसिंह केसी बिहीबार भैरहवा हँुदै बुटवल पुग्ने कार्यक्रम रहेको छ । आगामी महाधिवेशनमा पदाधिकारीका आकाङ्क्षी मानिने नेताहरु रामशरण महत, विमलेन्द्र निधि, बालकृष्ण खाँणलगायतले पनि महाधिवेशनमा आफ्नो स्थान पक्का गराउन जोड घटाउ सुरु गरिसकेका छन् ।

आगामी महाधिवेशनका लागि गाउँ, नगर, वडा र नगर अधिवेशन आगामी माघ १५ गते, क्षेत्रीय अधिवेशन माघ २२ गते र माघ २५ गते जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्ने तालिका छ । गाउँ नगरस्तरका अधिवेशनका लागि जिल्लामा निर्वाचनको माहोल सुरु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री