
संसद्मा सरकारको आलोचना
काठमाडौँ, १४ पुस । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले भूकम्प र नाकाबन्दीबाट पीडित जनताको पक्षमा सरकारले काम नसकेको आरोप लगाउँदै सांसदको भूमिकाबारे बृहत् छलफलको खाँचो औँल्याएको छ ।
व्यवस्थापिका–संसद्को आजको बैठकमा काँग्रेसका नवीन्द्रराज जोशीले ३१ मन्त्रालय, छ उपप्रधानमन्त्रीसहितको सरकार गठन भए पनि चिसोमा कठ्याङ्ग्रिएका जनताले सरकारको महसुस गर्न पाएका छैनन् भन्नुभयो ।
उहाँले भन्नुभयो – “महँगीको मारमा जनता छट्पटाइरहेका भए पनि सरकार मन्त्रालय, मन्त्री थप्नेतिर उद्दत भएको छ, नाकाबन्दी र भूकम्पबाट पीडितलाई राहत दिने मामिलामा संवेदनशील छैन, त्यसैले सांसदको भूमिकाबारे बृहत् छलफलको आवश्यकता देखिएको छ ।”
एकीकृत नेकपा(माओवादी)का श्यामकुमार श्रेष्ठले चिसोका कारण दोलखामा १३ भूकम्पपीडितको मृत्यु भएको बारेमा सदनको ध्यानाकर्षण गराउँदै पीडितलाई सरकारले राहत पुरयाउन नसकेकामा गुनासो गर्नुभयो । उहाँले आन्दोलनरत मधेसी समुदायको माग सम्बोधन गर्न तीन दलको निर्णयले छिट्टै पूर्णता पाओस् भन्नुभयो ।
मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का आशा चतुर्वेदीले पानी, बिजुली, तेल र पानी नभएको नयाँ नेपालको कस्तो परिकल्पना गरिएको हो भनी प्रश्न गर्नुभयो ।
उहाँले तराई मधेसमा हुँदै आएको आन्दोलन र अघोषित नाकाबन्दीलाई खुलाउनेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नेपाल मज्दुर किसान पार्टीका डिल्लीराज काफ्लेले भारतीय नाकाबन्दीका कारण खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको अभाव भएको बताउँदै सरकारले विभिन्न जलविद्युत् आयोजना निर्माणका लागि भारतीय कम्पनीलाई सुम्पेको आरोप लगाउनुभयो ।
नेकपा(संयुक्त)का जयदेव जोशीले सरकारले जनता र मुलुकप्रति जनाएको प्रतिबद्धता पूरा नगरेको, कालोबजारी बढेको, इन्धनको अभावमा दाउरासमेत दिन नसकेको तथा भूकम्पपीडितलाई नौ महिनासम्म राहत पुरयाउन नसकेको बताउनुभयो ।
नेपाल परिवार दलका मिलन राजवंशीले भूकम्प र नाकाबन्दीबाट अभाव र कठिनाइ भोगिरहेको जनताको समस्या सुल्झाउने र जवाफदेहिता प्रस्तुत गर्ने काम सरकारबाट भएको छैन भन्नुभयो ।
नेकपा (एमाले)का रञ्जनाकुमारी सरकारले सर्लाही जिल्लाको हरिपुर गाविसमा आज रामनरेश रायको हत्या भएकाले त्यसको छानबिन गरी दोषीलाई कारबाहीको माग गर्नुभयो ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायतमा काम गर्न चाहने विदेशी नागरिकका लागि मङ्गलबारदेखि भिसा आवेदन खुला
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई