चीनले थप एक करोड युआन बराबरको इन्धन दिने

चीनको पाँचदिने औपचारिक भ्रमण पूरा गरी मङ्गलबार स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कमल थापा । साथमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्नि प्रसाद खरेललगायत । तस्बिर ः प्रदीपराज वन्त, रासस

चीनको पाँचदिने औपचारिक भ्रमण पूरा गरी मङ्गलबार स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कमल थापा । साथमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्नि प्रसाद खरेललगायत । तस्बिर ः प्रदीपराज वन्त, रासस

काठमाडौँ, १४ पुस । चीनले नेपाललाई तत्कालको आवश्यकता परिपूर्ति गर्न एक करोड युआन बराबरको इन्धन अनुदानस्वरुप उपलब्ध गराउने भएको छ ।

चीनको पाँचदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कमल थापाले आफ्नो भ्रमण उपलब्धिमूलक भएको बताउँदै उक्त जानकारी दिनुभएको हो ।

दुई देशबीच आर्थिक सम्बन्धको दीर्घकालीन रुपरेखा तयार पार्न भ्रमणबाट महत्वपूर्ण उपलब्धि हासिल भएको उहाँको कथन थियो । उहाँले भन्नुभयो – “पारस्परिक सम्बन्ध थप सुदृढ तुल्याउन यो भ्रमणबाट महत्वपूर्ण योगदान पुगेको मेरो विश्वास छ ।”

यसअघि चीनले अनुदानमा प्रदान गरेको परिमाणमा नै फेरि पनि अनुदान सहयोगस्वरुप इन्धन दिने जानकारी दिँदै उहाँले इन्धन व्यापार विविधीकरण गर्ने राष्ट्रिय नीतिअनुसार चीनसँग इन्धन खरिदबारे विचारविमर्श भएको तथा दीर्घकालीन रुपमा इन्धन व्यापारका निम्ति कर, यातायात र मूल्यबारे सम्बन्धित निकायले आपसी छलफल गरी निर्धारण गर्ने सहमति भएको बताउनुभयो ।

नेपाल र चीनबीचको आर्थिक सम्बन्धलाई थप सुदृढ तुल्याउन दुई मुलुकबीच खुला रु स्वतन्त्र व्यापार अभिवृद्धि, पारवहन सन्धि, लगानी वृद्धिका विषयमा पनि चिनियाँ पक्षसँग विस्तृत छलफल गरी अघि बढ्ने सहमति भएको परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका उपप्रधानमन्त्री थापाले बताउनुभयो ।

“दुई देशबीचको सडक÷हवाई सम्पर्क र पूर्वाधार विकासबारे छलफल भयो, चीनसँगका नौवटा नाकालाई क्रमशः प्राथमिकताका आधारमा सञ्चालन गर्दै जाने सहमति भएको छ” – आफ्ना चिनियाँ समकक्षीसँगको द्विपक्षीय वार्ताबारे जानकारी दिँदै उहाँले भन्नुभयो ।

नेपाल–चीन मैत्रीको महत्वपूर्ण आधारस्तम्भका रुपमा रहेको अरनिको राजमार्गलाई पुनः सञ्चालन गर्न चिनियाँ पक्षबाट सहयोग हुने र रसुवागढी–स्याफ्रुबेसी सडक सबै याममा सञ्चालनयोग्य बनाउनेबारेमा पनि छलफल भएको मन्त्री थापाले बताउनुभयो ।

नेपालसँगको सीमा क्षेत्रसम्म चीनले रेल सेवा विस्तार गर्न लागेको सन्दर्भमा नेपाल सरकारले पनि रेलमार्ग निर्माणको प्रारम्भिक काम थाल्ने जानकारी पनि उहाँले दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले निकट भविष्यमा गर्ने चीनको भ्रमणबाट दुई देशबीच दीर्घकालीन आर्थिक विकासका निम्ति तयार पारिएको प्रारुपलाई कार्यान्वयन गर्न सहज हुने भन्दै उपप्रधानमन्त्री थापाले चीनबाट पनि उच्चस्तरमा नेपालको भ्रमण हुने जानकारी दिनुभयो ।

चीनबाट कुन तहका नेताको नेपाल भ्रमण हुन्छ भन्ने जिज्ञासाको जवाफमा उहाँले उपयुक्त समयमा त्यसबारे जानकारी गराइने बताउनुभयो ।

भ्रमणका क्रममा आफूले चिनियाँ उपराष्ट्रपति तथा सिचुवान प्रान्तका उच्च अधिकारीहरूसँग पनि भेटवार्ता गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार सिचुवान प्रान्तका अधिकारीहरूले जलविद्युत् उत्पादनका क्षेत्रमा लगानी गर्ने चाहना व्यक्त गरेका छन् ।

उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री थापा चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा गत बुधबार नौ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बेइजिङ भ्रमणमा जानुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री