काठमाडौँ, १० पुस । सत्ता एवम् प्रतिपक्षी दलका नेताले मन्त्रालय टुक्रयाएर मन्त्रीको सङ्ख्या बढाइनु भूकम्पपीडितमाथिको असंवेदनशीलताको पराकाष्ठा भएको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले भूकम्पपीडित जाडाले कठ्याङ्ग्रिएर मरेका बेला सरकार संविधान मिचेर मन्त्रीको सङ्ख्या बढाउन लागिपरेको आरोप लगाउनुभयो ।
“जनता अभाव र कालाबजारियाको चपेटामा परेका बेला सरकार असंवेदनशील रुपमा प्रस्तुत भएको छ, सरकार जनतालाई अप्ठ्यारो अवस्थामा चाहिने भए पनि सरकारले त्यसअनुसार भूमिका निर्वाह गर्न सकेन”–सांसद जोशीले भन्नुभयो ।
आइतबारको संसद् बैठकमा सरकारको असंवेदनशीलतका विषयमा आवाज उठाउने तयारीमा काँग्रेस लागेको जानकारी पनि उहाँले गराउनुभयो ।
नेकपा (एमाले) का नेता डा वंशीधर मिश्रले सांसद सङ्ख्याको १० प्रतिशत मात्र मन्त्री बनाए पनि ५० भन्दा बढी मन्त्री हुने भएकाले प्रधानमन्त्रीको विशेषाधिकारको विरोध गर्न नहुने बताउनुभयो । राजनीतिक स्थिरताका लागि केही बढी सङ्ख्यामा मन्त्री बनाइएको जिकिर गर्नुभयो । संविधानमा मधेस विरोधी विषय नभए पनि नबुझी आन्दोलन भइरहेकामा आश्चर्य व्यक्त गर्दै उहाँले संविधान धर्मशास्त्र वा ढुङ्गामा लेखिएको अक्षर होइन, नपुगेको विषय संशोधनबाट थप्न सकिन्छ भन्नुभयो ।
एकीकृत नेकपा (माओवादी)का नेता गोपाल किराँतीले मन्त्रीको सङ्ख्या बढाएर प्रधानमन्त्रीले अभावग्रस्त जनताको चहराइरहेको घाउमा नुन हालेको आरोप लगाउनुभयो । यो सरकारले शान्ति सुरक्षा दिन सकेन, तराईको समस्या समाधान गर्न पनि सकेन, प्रधानमन्त्री गैरजिम्मेवार भाषण गर्दै हिँड्नुहुन्छ भन्नुभयो ।
विज्ञान तथा प्रविधिमन्त्री शिवलाल थापाले कम बजेट र महत्व दिएर सबैले हेला गरेको मन्त्रालयमा केही गर्ने सोच लिएर आफू मन्त्री बनेको बताउनुभयो ।
बिनाविभागीयमन्त्री एकनाथ ढकालले आवश्यकताको सिद्धान्तअनुसार बिहीबार मन्त्रिपरिषद् विस्तार भएकाले विरोध छाडेर संविधान कार्यान्वयनमा लाग्नुपर्ने बताउनुभयो ।
“मधेस समस्याका विषयमा अनौपचारिक सहमति भइसकेको छ, त्यसलाई औपचारिकता दिन मात्र बाँकी छ, बाँकी समस्याबाट मुलुकले दुई हप्ताभित्र निकास पाउँछ, मन्त्रीको सङ्ख्या बढाउनुहुन्न भन्नेमा हाम्रो पनि सहमति छ, राष्ट्रिय सहमतिको सरकार बन्छ र काँग्रेसलगायतका दल सरकारमा आउँछन् भने म भोलि नै राजीनामा दिन तयार छु”– मन्त्री ढकालले भन्नुभयो ।
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा