मोर्चासँगको छलफल निष्कर्षमा पुरयाउन काँग्रेसले प्रयास गर्ने

congress

काठमाडौँ ८ पुस । नेपाली काँग्रेसले वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँगको छलफललाई निष्कर्षमा पुरयाउन सक्दो प्रयास गर्ने जनाएको छ ।

काँग्रेस सभापति सुशील कोइराला निवास महाराजगञ्जमा आज भएको काँगे्रस पदाधिकारी बैठकले मोर्चासँगको छलफललाई व्यवस्थित बनाई टुङ्गोमा पुरयाउन सक्दो प्रयास गर्ने निष्कर्ष निकालेको छ ।

काँग्रेसले केही दिनयता मोर्चाको माग सम्बोधन गर्ने सम्बन्धमा वार्ता र छलफललाई तीव्रता दिएको छ ।

साथै बैठकले आजको व्यवस्थापिका–संसदको बैठकलाई कसरी अघि बढाउने सम्बन्धमा पनि छलफल गरेको बैठकमा सहभागी केन्द्रीय सदस्य महेश आचार्यले बताए ।

बैठकले क्रियाशील सदस्यता वितरणमा देखिएको विवादलाई सुल्झाउने सम्बन्धमा पनि छलफल गरेको छ ।

काँग्रेस केन्द्रीय समिति बैठकले क्रियाशील सदस्यता वितरणमा देखिएका विवाद समाधान सम्बन्धमा समितिमा उठेका धारणालाई समेत सम्बोधन गरी तीन दिनभित्र सभापतिलाई प्रतिवेदन बुझाउन आदेश दिएको थियो । केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिलाई दिएको समयावधिको आज अन्तिम दिन हो ।

आजै प्रतिपक्षी दलका नेतासमेत रहनु भएका सभापति कोइराला र उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाबीच भेटघाट भएको छ । आजदेखि चीनको औपचारिक भ्रमणमा जान लागेका उपप्रधानमन्त्री थापाले आफ्नो चीन भ्रमणका बारेमा अवगत गराएको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री