लन्डनमा मनाइयो बेलायत नेपाल दौत्य सम्वन्धको २ सय वर्ष गांठ

कार्यक्रमका सहभागी साथमा मन्त्री थापा । तस्विर सौजन्य कुशल श्रेष्ठ, कान्तिपुर टिभी

कार्यक्रमका सहभागी साथमा मन्त्री थापा । तस्विर सौजन्य कुशल श्रेष्ठ, कान्तिपुर टिभी

 

लन्डन । बेलायतले नेपालमा गत सेप्टेम्बरमा जारी नयां संविधान राजनीतिक प्रक्रियामा एउटा कोशेढुंगा भएको दोहोर्याएको छ । संविधान जारी लगत्तै समर्थन गरेको बेलायतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बेलायत भ्रमणका सिलसिलामा भने भारतकै साथ रहेर समावेशी हुन नसकेको भन्दै नेपालको संविधानप्रति घुमाउरो पाराले प्रश्न उठाएको थियो ।

बेलायती विदेश मन्त्रालय (एफसीओ) द्वारा बेलायत नेपाल दौत्य सम्वन्ध स्थापनाको २ सय वर्ष गांठका अवसरमा बुधवार सांझ लन्डनमा आयोजित विशेष समारोहमा बेलायती विदेश राज्यमन्त्री ह्युगो स्वायरले नयां संविधान राजनीतिक प्रक्रियामा कोसेढुंगा भएको टिप्पणी गरे ।

‘चुनौतीहरु बांकी छन् तर मलाई आशा छ शान्तिपूर्ण वार्ता र समझदारीले हरेक नेपालीको चासोलाई सम्वोधन गर्नेछ’, स्वायरले भने । उनले भारतसंगको नाका अवरोधका कारण नेपालमा उत्पन्न मानवीय संकट छिट्टै सहज हुने आशा समेत व्यक्त गरे । बेलायत नेपाल सदियौं पुरानो ऐतिहासिक सम्वन्धबारे चर्चा गर्दै मन्त्री स्वायनले बेलायतले विगत दुई शताब्दीदेखि गर्दै आएको सहयोग भविष्यमा पनि निरन्तर जारी रहने बताए ।

नेपालमा गत अप्रिलको विनाशकारी भूकम्पपछि बेलायतले डिजास्टर इमर्जेन्सी कमिटीमार्फत करिव ८५ मिलियन पाउण्ड सहयोग गरेको स्मरण गर्दै स्वायरले बुधबारमात्र नेपालको व्यवस्थापिका संसदको बैठकले पारित गरेको भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माण गर्ने सम्वन्धमा बनेको विधेयक २०७२ ले पुनर्निर्माण प्रक्रिया तीव्र रुपले अघि बढ्नेमा यूके आशावादी रहेको बताए । ‘ब्रिटेन मानवीय सहायता र पुनर्निर्माणमा आफूले सकेको सहयोग गर्न तयार छ’, उनको प्रतिवद्धता थियो ।

पूर्व गोर्खा अफिसरको ज्वाईंका नाताले नेपाल आफ्नो मुटुभित्रमात्र नरही समस्त बेलायती जनताको मुटुमा रहेको समेत स्वायरले उल्लेख गरे । उनले ब्रिटिश गोर्खाहरुको योगदानको पनि खुलेर प्रशंसा गरेका थिए ।

उक्त विशेष समारोहका लागि लन्डन आएका उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले बेलायत नेपाल प्रगाढ सम्वन्धको चर्चा गर्दै नेपालमा लामो कसरतपछि 
लोकतान्त्रिक नयां संविधान जारी लगत्तै दुई देशबीचको सम्वन्धले नयां उचाईं लिएको बताए । उनले ६ दशक यता बेलायत नेपालको मुख्य विकास साझेदार रहेको समेत जनाए ।

थापाले ब्रिटेनले भूकम्पपछि गरेको सहयोग समस्त नेपालीको मन मस्तिष्कमा ताजा रहेको उल्लेख गर्दैै नेपाल सामू रहेको पुनर्निर्माण चुनौतीबीच बेलायतले थप सहयोग गर्ने अपेक्षा समेत व्यक्त गरे ।

मन्यव्यका क्रममा अन्तर्राष्ट्रिय विकास मन्त्री डेसमण्ड स्वायनले यही वर्ष नेपालसंग बेलायतको सम्वन्ध कति बलियो र महत्वपूर्ण रहेछ प्रमाणित भएको बताए । ‘जब भूकम्पले तहसनहस पार्यो, हामी पीडित नेपाली जनताको उद्दार र अत्यावश्यक 
राहत सहायतामा जुट्यौं’, स्वायनले थपे, ‘बेलायतले कांधमा कांध जोडेर दुई सय वर्ष लामो साझेदारीलाई निरन्तरता दिनेछ ।’

वर्षेनी ३० हजार भन्दा बढि बेलायती पर्यटक नेपाल भ्रमणमा जानु र बेलायतमा नेपाली डायस्पोराको संख्या ८० हजार बढि हुनुले जनता जनताबीचको अन्तरसम्वन्ध अरु फैलिएको पनि स्वायनले उल्लेख गरे । ब्रिटेन नेपालको सबैभन्दा ठूलो दातृराष्ट्र 
रहेको स्मरण गर्दै उनले नेपालको पुनर्निर्माण र मानवीय सहायतामा आफूहरु पूर्ण प्रतिवद्ध रहने पनि बताए ।

कार्यक्रममा बेलायती साथै नेपाली संघसंस्थाका प्रमुख प्रतिनिधि, प्राज्ञ, बुद्धिजिवी, सञ्चारकर्मी आदि गरि तीनसय बढि सहभागी थिए ।

8W5A9056.MOV.Still001

प्रतिक्रिया

सम्बन्धित सामाग्री