तातोपानी भन्सार नाका ठप्प हुंदा झन् संकट

tatopani_naka-dhruba_pic2

तातोपानी (सिन्धुपाल्चोक), २६ मङ्सिर । तराई–मधेसमा जारी अन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण आक्रान्त भएको मुलुकको अर्थतन्त्र छिमेकी मित्रराष्ट्र चीनसँग जोडिएको महत्वपूर्ण ‘तातोपानी नाका’ ठप्प हुँदा थप मारमा परेको छ ।

गत वर्ष साउनमा गएको जुरे पहिरो र वैशाख १२ को भूकम्पले क्षतविक्षत बनाएको अरनिको राजमार्ग सञ्चालनमा दुई देशका सरकारको बेवास्ताका कारण नेपाललाई चीनसँग जोड्ने पहिलो ऐतीहासिक नाका सञ्चालन हुन नसकेको हो ।

सामान्य अवस्थामा रु एक खर्ब ५० अर्बको कारोबार र रु छ अर्बको राजस्व असुली हुने यस नाका सञ्चालनमा नआउँदा हजारौँको रोजगारी गुम्नुको साथै देशकै अर्थतन्त्रमा मार परेको स्थानीय एवम् सरकारी अधिकारीले बताएका छन् ।

व्यवस्थापिका–संसद्अन्तर्गतको विकास समितिको अगुवाइमा अरनिको राजमार्गको निरीक्षणका लागि त्यसतर्फ गएको टोलीसँग स्थानीयबासिन्दा एवम् अधिकारीले चीनसँग जोड्ने पहिलो र ऐतिहासिक नाका सञ्चालनमा ल्याउन माग गरेका हुन् ।

सिन्धुपाल्चोकका स्थानीय बाबु तामाङले भने, “यस नाकासँग आस्रित हजाराँैको रोजीरोटी जुटाउने यस नाका सञ्चालनमा विशेष पहल आवश्यक छ, अन्यथा दैनिक जीवन झनै कष्कटर हुन्छ ।”

भन्सार नाका बन्द हुँदा वैशाख १२ को भूकम्पले क्षतविक्षत बनाएका घरमा त्रासले बाँचिरहेका स्थानीय जनतामा काम गरेर दैनिकी चलाउन अर्को सङ्कट आइपरेको छ । यहाँका ५७ हजार घरपरिवारले चीनबाट आयात हुने सामग्रीको व्यापार गरेर जीवन गुजरा गर्दै आएका थिए ।

स्थानीयबासी कामी शेर्पाले भने, “वर्षौदेखि गरिआएको काम पाइएन, नाका सञ्चालनका लागि उच्चस्तरीय पहल आवश्यक छ ।” वर्षौदेखि स्थानीयस्तरमा चिनियाँसँग घुलमिल भएका शेर्पाले प्रविधिकभन्दा पनि राजनीतिक तवरमै पहल आवश्यक भएको उल्लेख गरे ।

स्थानीय कन्टेनर व्यवसायी निमा फुञ्जु शेर्पाले नेपालतर्फको सडक सामान्य मर्मत गर्दा सञ्चालनमा ल्याउन सकिने भए पनि सरकारी अधिकारीले चासो नदिएकाले ढिला भएको र चीन सरकारले पनि चासो नदिएको बताए ।

उद्योग वाणिज्य सङ्घ सिन्धुपाल्चोकका अध्यक्ष कमल श्रेष्ठले भने, “सहजरुपमा सवारी साधन आवतजावत गर्न सक्ने सडक छ, तर दुवै देशका उच्च अधिकारीले चासो नदिँदा ऐतिहासिक नाका सञ्चालनमा आएन ।” उनले तत्काल सञ्चालनका उच्चस्तरीय पहल गरिदिन विकास समितिसँग अनुरोध गरे ।

तातोपानी भन्सार प्रमुख दिव्यराज पोखरेलले नेपालतर्फको भन्सार कार्यालय सञ्चालन गर्न सकिने अवस्थामा रहेको जानकारी दिँदै चिनियाँ पक्षले भन्सार सञ्चालन गरेको अवस्थामा सजिलै कारोबार हुन सक्ने जानकारी दिए ।

वार्षिक रुपमा अर्बौको कारोबार तथा सरदर एक लाख पर्यटक ओहोरदोहोर हुने सो नाका सञ्चालनमा चिनियाँ पक्षले ध्यान दिएको छैन ।

निरीक्षणमा सहभागी भन्सार विभागका उपमहानिर्देशक दामोदर रेग्मीले चीनले नेपाल सामान पठाएको अवस्थामा नेपालतर्फ २४ घण्टा सेवा दिन सकिने बताए ।

त्यसैगरी सडक विभागका उपमहानिर्देशक केशवकुमार शर्माले सामान्य रुपमा असोजदेखि नै सवारी सञ्चालन रहेको जानकारी दिँदै सामान्य मर्मत बाटै अरनिको राजमार्गलाई सञ्चालनमा ल्याउन सकिने बताए । उनले मर्मतका लागि आवश्यक रकम उपलब्ध गराउन आग्रहसमेत गरे ।

नेपालतर्फका सडक विभाग, भन्सार विभाग एवम् अन्य सरकारी कार्यालयले राजमार्ग सञ्चालनमा ठूलो समस्या नभएको बताउँदाबताउँदै पनि किन नाका सञ्चालनमा नआएको हो भन्ने प्रश्नमा उनीहरू सबैको एउटै जवाफ छ, “राजनीतिक तवरबाटै समस्याको समाधान खोजिनुपर्छ ।”

चिनियाँ पक्षले सुरक्षाको कारण देखाउँदै आफ्नातर्फका सबै कारोबार रोकेकाले पनि समस्या भएको स्थानीयको निष्कर्ष छ । नाका सञ्चालनका लागि नीतिगतरुपमा नै पहल नगर्ने हो भने ऐतिहासिक एवम् आर्थिक रुपमा महत्वपूर्ण मानिएको यस नाका सञ्चालन हुने अवस्था देखिदैन ।

यस अवस्थालाई चाँडो सुल्झाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै विकास समितिका सभापति रवीन्द्र अधिकारीले भने, “नेपाल–चीन जोड्ने ऐतिहासिक नाका बन्द हुन दिदँैनौँ, काठमाडौँ पुगेपछि तुरुन्त सरकारलाई यस विषयमा ध्यानाकर्षण गराउने छौँ ।”

मर्मतको पर्खाइमा अरनिको राजमार्ग
गत वर्ष साउनमा गएको जुरे पहिरो र वैशाख १२ को भूकम्पले क्षतविक्षत भएको अरनिको राजमार्गको तत्काल मर्मत एवम् सम्भार आवश्यक भएको शुक्रबार अनुगमनमा गएको संसदीय टोलीले ठहर गरेको छ ।

पहिरो र भूकम्प गएको लामो समय बितिसक्दा पनि सरकारी संयन्त्रले काम नगर्दा मर्मतका काम हुन नसकेको भन्दै त्यसतर्फ तत्काल ध्यान दिन समितिले सडक विभागलाई ध्यानाकर्षण गराएको हो ।

छ अर्बको राजस्वमा धक्का
सरकारले चीनसँग नेपाललाई जोड्ने पहिलो नाका तातोपानीबाट चालु आव २०७२, ७३ मा रु पाँच अर्ब ९० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ ।

गत वर्ष साउनमा गएको जुरे पहिरो र वैशाख १२ को भूकम्पले अरनिको राजमार्ग क्षतविक्षत बनाएपछि सरकारको लक्ष्यमा धक्का लागेको छ । भन्सार विभागका प्रवक्ता सूर्य सेँढाइकाअनुसार भन्सारबाट चालु आवमा कुल रु दुई खर्ब पाँच अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको छ ।

डेढ वर्षदेखि नै तातोपानी नाका प्रभावित भएको छ । जुरेको पहिरो र त्यसपछि भूकम्पका कारण पूर्णरुपमा सञ्चालन हुन नसकेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री