म्याड्रिड, १३ मङ्सिर । सिरियामा जारी रहेको युद्धका विरुद्धमा स्पेनमा प्रदर्शन भएको खबर छ । सो प्रदर्शनमा हजारौँको सहभागिता रहेको थियो । सिरियामा जारी रहेको सो युद्धको विरुद्धमा उक्त प्रदर्शनमा समाजका विभिन्न क्षेत्रका बुद्धिजीवी, अनुसन्धानकर्ता तथा विविध व्यक्तिको सहभागिता रहेको बताइएको छ ।
आइतबार भएको सो प्रदर्शनमा उक्त युद्धको विरोधमा नागरिकहरू सडकमा जम्मा भएका र सो युद्धका विरुद्धमा हस्ताक्षर अभियान पनि चलाएका थिए । स्पेनबाट प्राप्त समाचारमा जनाइएअनुसार स्पेनका विभिन्न सहरहरू जस्तै बार्सिलोना, भ्यालेन्सिया, बिलबाओ, सान सेबिस्टिन, जारागोजु, मुरिका लगायतमा यस्तो हस्ताक्षरहरू जम्मा पारिएको थियो । युद्ध अन्त्यको माग गर्दै लाखौँ नागरिकले सो हस्ताक्षर गरेका बताइएको छ । आइतबार स्पेनको रेइना सोफिया सङ््ग्रहालयको नजिक जम्मा भएका व्यक्तिहरू सो प्रदर्शन गरेका थिए ।
सो प्रदर्शनमा उनीहरूले सिरियामा प्रत्येक दिन मानिस मारिरहेकाले उक्त युद्धको तत्काल अन्त्य हुनुपर्ने माग गरेका थिए ।
प्रदर्शनकारी प्राय स्पेनकै नागरिक रहेका थिए । उनीहरूले सिरियामा आतङ्ककारी खोज्ने निहुँमा होस् वा अरु कुनै हिसाबले होस् कुनै पनि हिसाबले युद्ध गरिनु हुँदैन भन्दै युद्ध अन्त्यको माग गरेका थिए । सिरियामा गएको साढे चार वर्षसम्म जारी हिंसामा परी कम्तीमा पनि साढे दुईलाख नागरिक मारिएका छन् ।
यता, पछिल्लो समयमा आईएस खोज्ने निहूँमा पनि फ्रान्स, रसिया र अमेरिकाले नै सिरियामा हवाई कारबाही जारी रहेका छन् ।
ती आक्रमणहरूमा पनि नागरिक मारिने क्रम जारी नै छ । यसरी सिरिया युद्धभूमि बनिरहेकोले त्यसको अन्त्यका लागि भन्दै यो प्रदर्शन गरिएको हो ।