काठमाडौँ, ७ मङ्सिर । चीनबाट व्यावसायिक रूपमा इन्धन आयात गर्ने विषयमा छलफल गर्न नेपाल आयल निगमको एक प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्थान गरेको छ ।
प्रतिनिधिमण्डलले चिनियाँ पक्षसँग इन्धन आयातको प्राविधिक पक्षमा छलफल गरेपछि व्यापारिक सम्झौता गर्न वाणिज्य तथा आपूर्ति मन्त्रालयका उच्च अधिकारीको नेतृत्वमा अर्को टोली त्यसतर्फ पठाउने तयारी गरिएको छ ।
आज त्यसतर्फ गएको प्रतिनिधिमण्डलमा निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराई र निर्देशक दीपक बराल हुनुहुन्छ । नेपालले चीनको सरकारी कम्पनी पेट्रोचाइनाबाट इन्धन आयात गर्ने विषयमा प्रारम्भिक सम्झौता गरेको छ ।
सोही सम्झौताका आधारमा इन्धन आयातको प्रक्रिया अगाडि बढे पनि स्थानीय कर र आयातमा देखापर्ने विभिन्न जटिलताका विषयमा अन्तिम निष्कर्ष निस्कन नसकेपछि सरकारले पहिलो चरणमा निगमका अधिकारीलाई चीन पठाएको हो ।
सो टोलीले चिनियाँ अधिकारीसँग पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने ग्यास आयातको विषयमा महत्वपूर्ण छलफल गर्ने निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिनुभयो । केही दिनपहिले चीन जानुभएका वाणिज्य तथा आपाूर्तिमन्त्री गणेशमान पुनले चिनियाँ अधिकारीसँग इन्धन खरिद गर्ने विषयमा अनौपचारिक छलफल गर्नुभएको थियो । सोही छलफलका आधारमा चीन नेपाललाई व्यावसायिक रूपमा इन्धन दिन तयार भएको हो ।
निगमको टोलीको नेतृत्व चीनमा रहनुभएका नेपालका राजदूत महेशमान मास्केले गर्नुहुने बताइएको छ । निगमको प्राविधिक टोलीले प्राविधिक तथा अन्य आयातका विषयमा छलफल गरेपछि सरकारको उच्चस्तरीय टोली चीन जाने र व्यापारिक सम्झौता गर्ने सरकारको तयारी रहेको छ ।
सरकारले वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको नेतृत्वमा कानुन, परराष्ट्र, अर्थ मन्त्रालयका उच्च अधिकारी चीन पठाउने तयारी गरेको थियो । केही विषयमा कुरा मिल्न बाँकी रहेकाले पहिलो चरणमा निगमका दुई अधिकारीलाई मात्रै चीन पठाइएको हो ।
भारतले अघोषित रूपमा नाकाबन्दी गरेपछि विभिन्न स्रोतबाट इन्धनको आपूर्ति गर्ने विषयमा छलफल गरेको सरकारले बङ्गलादेशबाट खाना पकाउने ग्यासबाहेक अन्य इन्धन आयात गर्न सकिने बताउँदै आएको छ ।
यस्तै मङ्गलबारदेखि पेट्रो म्याक्सले भारतको लखनऊबाट हवाई इन्धन आयात गर्ने जनाएको छ । निगमले हवाई इन्धन आयातका लागि सो कम्पनीलाई अनुमति दिएको छ । नेपाल वायु सेवा निगमले भारतको कोलकाताबाट दैनिक दुई उडान गरेर हवाई इन्धन आयात गरिरहेको छ ।
पेट्रोलियम पदार्थको आयातको विषयमा विभिन्न विकल्प अपनाउने प्रयास गरिए पनि खाना पकाउने ग्यासको विषयमा भने हालसम्म कुनै पनि उपाय सुल्झन सकेको छैन । सीमित मात्रामा आयात भएको इन्धनको समानुपातिक वितरण नभएको कालोबजारी र अनियमितता मौलाएको भन्दै विभिन्न सरोकार राख्ने निकायले सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।
सोही ध्यानाकर्षणको आधारमा सरकारले वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जीवराज कोइरालाको संयोजकत्वमा केन्द्रीय अनुगमन समितिसमेत गठन गरेको छ । सोही समितिले इन्धन आयात तथा वितरणको सम्पूर्ण विषयमा अनुगमन गरिरहेको मन्त्रालयले जनाएको छ ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?