गीति संग्रह ‘रंग जिन्दगीको’मा समानताका अावाज

IMG_5846

जीवनको रंग कस्तो हुन्छ ? यथास्थितिमा सुख्खा हुन्छ होला । परिवर्तनमा हरियो हुन्छ होला सायद । रंगभित्र खेल्दा कस्तो हुन्छ होला चेतनशील जीवन ? हाम्रा आँखाहरुबाट हजारौ रंगहरु निस्केर जान्छ, तर फर्केर प्रष्ट सात रंग आउँछ भन्छन विद्धानहरु । यी रंगहरुको व्याख्या जीवनमा गरिनु र अक्षरहरुमा अवरतण गराउनु चुनौती पनि हो । गराई र भोगाई नै जीवनको रंग होला । रंगहरुको परिचय र परिभाषा व्यक्तिको व्यक्तिगत जीवनसंग पक्कै लतपतिएको हुनु पर्ने हो । जीवन र समाजभित्र माया, प्रेम, डाहा, तिरस्कार, आदि रंगहरु प्रष्ट आवरण बनेर आइरहन्छ मान्छेको अगाडि ।

रंगले जातिय विभेदको खोल ओडेको छ संसारमा । रंगले मान्छेहरुलाई थिचेका छन् । रंगहरुको असमानताबाट उन्मुक्त भइ समानता चाहन्छ आजको मान्छेहरु । साहित्य, संगीत, कलामा रंगहरुको अभिनय प्रकार प्रकारका हुन्छन् । यी तमाम रंगहरुलाई राजनीतिले हत्कडी लगाइदिंदो रैछ । यसैलाई सत्य मान्याैँ भने, सबैभन्दा जीवनमा राजनैतिकको रंग बलियो र कहिलेकाहीं फराकिलो कहिलेकाहीं साँघुरो भएर आउने रैछ ।

आदिम साम्यवाद, दास युग, समान्ती युग, पुँजीवाद, समाजवाद पछि आउने अन्य मानव सभ्यताको विकासलाई खेस्राखेस्रा केलाउँदा सायद जीवनको रंग पक्कै थाहा हुन्छ कि । नेपाली समाजले पार गरिसकेका आदिम साम्यवाद, दास युग, समान्ती युगको उत्तराद्र्ध र पँुजीवादको शुरुवातलाई केलाएर साहित्यमा हेर्दा जीवनको रंग आउन सक्छ । र, गीत संगीतमा पनि प्रष्ट देख्न सकिएला ।

गीतकार मुकेश राईको नविनतम गीतिसंग्रह रंग जीन्दगीको बजारमा आएको छ । उनका गीतहरु धरैजसो माया र पिरतीका रंगहरुले सिंगारिएका छन । नोस्टाल्जिया, अतित मोहका गीतहरु पनि छन् । आफ्नो थातथलो संम्झिएका गीतहरुले ईलाम, माई नदी, सल्लेरी, कन्याम आदि ठाउँहरुमा पुर्याउँछ । विदेशिनुको पीडा छ । तर भौतिक सुविधाले पनि मान्छेलाई असन्तुष्ट बनाउँदो रहेछ, उनका अतित मोहका गीतहरुले यही भनिरहेका छन् । कोमल मनको, निरीह भई दुख्छ छाती, विवशतामा बग्दै आँशु, काँडा बनी दुःख बिझ्यो जस्ता उनका गीतहरु जीवनको रंगबाट थाकेर दुःखीत भएका पनि छन् । नारी आन्दोलन र समानताको लागि लागि लेखिएका गीत पनि एक/दुईवटा रहेको छ ।

यलम्बरको वंश हामी, भूमि पुत्र राई हामी जस्ता गीतहरुले आफ्नो पहिचानको आवाज उठाउन चाहेको छ । हिमाल, पहाड र तराई जस्ता माधवप्रसाद घिमिरे र सिद्धिचरण श्रेष्ठको पथमा दौडिएका गीतहरु पनि छन् । धार्मिक तीर्थस्थल जान खोजेका तर परिवर्तनका आवाज बोलेका गीत यस रंग जीन्दगीको संग्रहमा परेका छन् । यसले विचारलाई अन्यौल बनाउँन सक्छ तर गीतका हरफहरुमा विचारहरु गौण रुपमा आउने भएता पनि यस्ता चिजहरुलाई ख्याल गर्न सके गीतकारका बेजोड गीतका हरफहरु वैचारिक खुट्किलोमा उक्लिरहने छन् ।

गीति एल्वम मनोकांछामा समेटिएका गीतहरु पनि यस कृतिमा समावेस गरेका छन् । उनका गीतहरुलाई पढिरहँदा, प्राकृतिक शक्ति हो जस्तो लाग्छ । त्यही शक्तिले नै उनलाई वेलायतमा स्थापित गीतकारको रुपमा उभाउन सफल भएको पनि हो ।

कोमल मनको खुशी मेरो, आज कता हरायो
वेदनाको दुख्ने मुटु, अनायासै रसायो ।

झर्न दिन्न आँसु तिम्रो, तिमी दिलकी रानी भन्थे ।
पाथिभरा साक्षी राखी, तिम्रो सिउँदो भर्छु भन्थे ।
घात गरी निष्ठुरीले, कोमल मनको बाँध फुट्यो
अर्कै संसार रोज्यौ तिमीले, पिरतीको नाता टुट्यो ।
कोमल मनको खुशी मेरो, आज कता हरायो
वेदनाको दुख्ने मुटु, अनायासै रसायो ।
मनको खाली तलाउमा, तिम्रै माया भरेको थिएँ
दिलको चोखो मन्दिरमा, तिमीलाई राखी पूजेको थिएँ ।
मन मन्दिर नै शुन्य भयो, आज तिम्रो साथविना
संगै जिउने बाचा बाँधी, हात मेरो छोड्यौ किन ?
कोमल मनको खुशी मेरो, आज कता हरायो
वेदनाको दुख्ने मुटु, अनायासै रसायो ।

अन्तमा,

कृतिको नाममा धेरै अल्झिएँ । विचारले सबै सृजनाहरुलाई डोर्याइरहेको नाता पनि छ । रंग जीन्दगी एउटा समानताको मुद्दा हो । मैले बुझेको रंग जीन्दगीको सायद यति हुन सक्छ । धेरैलाई लाग्न सक्छ किन काङमाङले कृतिको नाममाथि धेरै ब्याख्या गर्न चाह्यो भनेर । तर गाँठी चिज कृतिको नाममा नै रहेको मेरो बुझाई पनि हो । लेखक गीतकार कवि मुकेश राई ज्यूलाई नयाँ कृति सार्वजानिक गर्नु भएकोमा हार्दिक बधाई तथा शुभकामना ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री