बेलायतमा सेफ संकट चुलियो, नेपाली व्यवसाय पनि प्रभावित

माइग्रेन्ट एड्भाइजरी कमिटीका हेड अफ पोलिसी स्टेफेन अर्लसंग भेटघाट गरेर फर्किएपछि होम अफिसमा प्रतिनिधिमण्डल

माइग्रेन्ट एड्भाइजरी कमिटीका हेड अफ पोलिसी स्टेफेन अर्लसंग भेटघाट गरेर फर्किएपछि होम अफिसमा प्रतिनिधिमण्डल

लन्डन । लन्डनमा होली काऊ नामका सात वटा टेक वे रेष्टुरेन्ट सञ्चालन गरिरहेका व्यवसायी कुल आचार्यलाई एक समय जागिर खोज्न आउनेको सिभी केलाएरै फूर्सद थिएन । सन् २००९ मा नेपाली विद्यार्थी टियर फोरमा अन्धाधुन्ध ओइरिंदा आचार्यले धेरैलाई काम दिलाए, जागिर माग्ने कति फोन कल त उनले वेवास्ता गरिदिए । तर, अहिले परिस्थिति बदलिएको छ । उनको टेक वे बाहिर काम गर्ने वेटर, वेट्रेस र सेफ पर्याप्त नभएर उनी बेला बेला आफैं किचन गएर पकाउन र अरुलाई काम सिकाउनु परेको छ ।

‘आकर्षक तलव अफर गर्दा पनि सेफ पाउन मुश्किल छ’, उनले गुनासो गरे, 
‘कामदार संकट यस्तै रहिरहे अब रेष्टुरेन्टमा ताला लगाउनुको विकल्प छैन् ।’ वर्षको एउटा टेक वे खोल्ने योजना अध्यागमन नियमकै कठिनाइले रोकिएको उनले सुनाए ।

चार दशकदेखि रेष्टुरेन्ट र पर्यटन क्षेत्रमा संलग्न ध्रुव केसीको व्यथा पनि कम उदेक लाग्दो छैन् । उनले १६ वर्ष यता वेम्लीमा चलाइरहेको वेम्ली तन्दुरी रेष्टुरेन्ट अहिले कामदार अभावले ताला लाग्ने अवस्थामा छ । वेम्ली राष्ट्रिय रंगशाला सामुन्ने अवस्थित केसीको रेष्टुरेन्ट विकेन्डमा भीड हुंदा उनी आफैं खाना पकाउन 
वाध्य छन् ।

‘रेष्टुरेन्टको आयु जति मिठो खाना ख्वाउन सक्यो उति लामो रहने हो, पकाउने मान्छे नै नभएपछि कसरी टिक्ने ?’ उनी लामो श्वास फेर्दै थिए । रेष्टुरेन्टमा बाहिर, भित्र काम गर्ने जनशक्ति अभावले केसीले रेष्टुरेन्ट विक्रीमा राखेको धेरै भइसकेको छ ।

३५ वर्षदेखि लन्डन इलिङमा सञ्चालित मन्टिज रेष्टुरेन्टको हालत पनि उस्तै छ अहिले । मन्टिजका म्यानेजर सन्जिव ढकालले १३ वर्षको अवधिमा पहिलोपटक यस्तो संकट झेल्नुपरेको अनुभव सुनाए । ‘कामदार अभावले नेपाली रेष्टुरेन्टमा युरोपेली युवतीहरु राख्नुपरेको छ’, उनले एक सांझ सुनाए, ‘नेपाली खाना जाने बुझेका विद्यार्थी नेपाल फर्किने क्रम बढेपछि झन् अप्ठेरो परेको छ ।’

बेलायतमा ४ वटा एभरेष्ट इन रेष्टुरेन्ट चलाइरहेको एभरेष्ट इन ग्रुपका 
निर्देशक यादव भण्डारीले ‘फेमिली रन’ विजनेशले गर्दा जेनतेन टिकेपनि व्यवसाय विस्तार गर्ने क्रम सरकारकै नीतिले स्थगित भएको जनाए ।

सरकारको अध्यागमन नियममा कडाइले सेफ र अन्य कामदार नपार्इंदा अहिले 
ब्रिटिस करी उद्योग चरम संकटमा छ । अध्यागमन नियन्त्रणका नाममा विद्यार्थीलाई काम गर्ने अधिकारबाट वञ्चित (नो वर्क भिजा) गरिनु, असंख्य विद्यार्थी अन्यत्र वा स्वदेश फर्कनु र बाहिरी मुलुकबाट सेफ झिकाउन टियर टु भिजामा कडाइ गरिंदा रेष्टुरेन्ट उद्योग संकटतिर उन्मुख भएका हुन् ।

सोलिसिटर राजु थापाको बुझाइमा सरकारले टेकवे रेष्टुरेन्टलाई वर्क परमिटमा 
राख्न सर्टिफिकेट अफ स्पोन्सरसीप (सिओएस्) लाइसेन्स एवं फाइन डाइन रेष्टुरेन्टलाई बाहिरबाट सेफ झिकाउन रेस्ट्रिक्टेड सर्टिफिकेट अफ स्पोन्सरसीप (आरसिओएस्) नदिइनु संकटको प्रमुख कारण हुन् । यसबाहेक युरोपेली मुलुकबाहेक अन्यत्रबाट उच्च दक्ष सेफ झिकाउन कम्तीमा वार्षिक २९ हजार ५ सय ७० पाउण्ड तलव दिनुपर्ने नियम छ । ‘हाम्रो एउटा शाखामा कम्तिमा ५ जना मुख्य सेफ चाहिने भएकाले सबैलाई त्यत्रो तलव दिनै सकिन्न’, एभरेष्ट इन ग्रुपका निर्देशक 
भण्डारी समस्या सुनाउंछन् ।

नेपाली कामदारकै हकमा आवासीय अधिकार (पिआर) नपाइन्जेल रेष्टुरेन्टमा काम गर्ने तर पिआर पाइसकेपछि अरु राम्रो कामको खोजीमा रेष्टुरेन्ट छाड्ने क्रमले पनि संकट निम्तिएको नेपाली व्यवसायको बुझाइ छ । नेपलिज सेफ एसोसिएसन यूकेका अध्यक्ष कृष्ण तिमिल्सेनाले इन्डियन, नेपाली कुजिनको वास्तविक स्वाद युरोपेली सेफले दिन नसक्ने र बाहिर काम गर्ने पनि मेन्यू अनि खानाबारे त्यति परिचित नहुंदा एजियन रेष्टुरेन्टहरुमा तिनै मुलुकका जनशक्ति खांचो रहेको औंल्याए ।

एक तथ्यांक अनुसार, सेफ अभावकै कारण ब्रिटेनमा चालु १२ हजार रेष्टुरेन्ट तथा टेकवे मध्ये एक तिहाइ बन्द हुने तरखरमा छन् । ति रेष्टुरेन्टले करिब एक लाख मानिसलाई रोजगारी दिइरहेकामा संकटकै कारण ३३ हजारले जागिर गुमाउनु 
पर्ने अवस्था आइपरेको व्यवसायीको चिन्ता छ । दशकयता वहुसंख्यक बेलायतीले करीलाई राष्ट्रिय खानाका रुपमा ग्रहण गरिरहेका छन् । इन्डियन, पाकिस्तानी र बेंगाली करिब ९ हजार रेष्टुरेन्टले २३ मिलियनलाई खाना ख्वाइरहेको अनुमान छ ।

ब्रिटिश करी अवार्डस्का संस्थापक इमान अलीले सरकारको अव्यवहारिक नीतिले आफ्नो उद्योग तहसनहस पारिरहेको आरोप लगाएका छन् । पछिल्ला वर्ष यस उद्योगले पोलिस, चेक रिपब्लिक र रोमानियाली नागरिकलाई काम सिकाइरहे पनि एसियाली कामदारमाथि कडाइ गरिंदा उद्योग चरम संकटमा पुगेको बंगाली 
क्याटरर्स एसोसिएसनका अध्यक्ष पासा खान्दाकेरले बताए ।

गत सातामात्र भारतीय, बंगाली, नेपाली व्यवसायी आदि सम्मिलित एक प्रतिनिधिमण्डलले होम अफिसलाई सल्लाह दिने माइग्रेन्ट एड्भाइजरी कमिटीका हेड अफ पोलिसी स्टेफेन अर्लसंग भेटघाट गरेर आफ्ना समस्या राखेको छ । प्रतिनिधिमण्डलले अर्लसंग टियर टु नियममा पुनर्विचारका लागि पहल गरिदिन आग्रह गर्दै कम्तीमा अस्थायी टियर टु स्पोन्सरसीपको व्यवस्था भए तत्काल समस्या समाधान हुने बताएको थियो । प्रतिउत्तरमा अर्लले सम्वन्धित निकायसम्म कुरा राखिदिने आश्वासन दिएपनि उनले होम अफिस आफ्नो नियममा अडिग रहेको संकेत गरेका थिए ।
उक्त भेटमा नेपाली व्यवसायी कुल आचार्यले अध्यागमन कडाइले आफूलाई जति नोक्सान भएको छ, त्यो भन्दा बढि नोक्सान बेलायतको अर्थतन्त्रलाई हुने चेतावनी दिएका थिए ।

गोल्डस्टार सेफ्सका सिइओ हन्सराज रामको नेतृत्वमा गएको उक्त प्रतिनिधिमण्डलमा ब्रिटिश बेंगाली क्याटरर्स एसोसिएसनका निर्देशक अतावर रहमान, अध्यक्ष इसोफ अली, अध्यागमन सल्लाहकार एवं बे लिफ रेष्टुरेन्टका प्रँेपाइटर विष्णु खरेल, होली काऊका निर्देशक सडानन्द घिमिरे, सन् १९४६ देखि सञ्चालित पञ्जाव रेष्टुरेन्ट ग्रुपका संस्थापक सितलसिंह मान, प्रवन्ध निर्देशक अमृत मान लगायत व्यवसायी सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री