रंग भित्रको बेरंगी तीज

12020060_10153371117968145_58009355474170201_nमनको भाव समयसंग जोडिएको हुन्छ । मौसमसंगै मनको गति र संवेगहरु बगेका हुन्छन्, त्यस्तै यो मौसमी पर्व हरितालिका तीज बेमौसमी बनेर हामी माझ यो वर्ष देखा पर्दैछ । लामो जनयुद्ध थिलो थिलो परेको थकित मन । 
संविधान आउने आशाको किरणले केहि राहत दिएको महसुस हुंदै थियो । फेरी अर्को जातीय राज्यको महामारी राष्ट्र भित्र छिर्यो । अब यसको उपचार के हो सबै डाक्टर, बैद्य अनभिज्ञ छन् । यसको साथसाथै भूकम्पको दर्दनाक समयको सामना गरिरहेको मेरा माइतीमा आज जातीय र क्षेत्रीय विभाजन छ, आगो सल्काउंदै सल्किंदै छन् ।

मेरो बाबाको धौले घर आज खण्डहर भएपछि बाख्राको कटेरो जीवन चलाइरहेका छन् । शिर ढलेका मेरा बाबा, चेलीको पर्खाइमा होइन घर कसले बनाई देला भन्ने पर्खाइमा हुनुहुन्छ । तीजमा चेली नाच्ने आंगनमा ढुंगा र माटोको थुप्रो छ अनि म कसरी रंगीन सारी रंगीन मन लिएर तीज हेर्न सक्छु ।

पुनर्निर्माण गर्ने हातहरु अरब र मलेसियाका गल्लीहरुमा काटिएका छन् । अभाव, गरिवी, अवसरबिहीन मेरा माइती, दिदीबहिनीहरु आफ्नो स्वाभिमान, अस्मिता, श्रम लिलामी गर्दै छन् अनि हाम्रा महामहिम श्री ३ लालबाबु लास गाड्न नआओस् भन्दै मानवीय संवेदनाको खिल्ली उडाउंछन् । धिक्कार छ तिम्रो संकुचित मानसिकतालाई । नेपाल तिम्रो बाउको बिर्ता होइन । बोल्दा विचार गर । नेपाल च्यान्घारी होइन तर घृणित राजनीतिज्ञहरुले बनाउने कोसिस भने अवश्य गर्दै छन् । सिंगो नेपालमा तिम्रो लास गाड, एकल काटे ढेडु बन ।

सायद तिमी सामन्तीको कनिष्ठ पुत्र होलाऊ र तिमी नेपालीको दुःख मर्म प्रति अनभिज्ञ छौ । हप्ताको सातै दिन काम गरेर पनि बचेको समय देश भन्दा अरु ह्दयमा हुन्न । आज वर्षौंपछि पनि लन्डन ब्रीज र लन्डन आई सपना देखेको छैन् । मेरा सपनाका दृष्य मेरै डांडापाखा हुन् । मेरो यो अनन्य सम्बन्धलाई तिम्रा त्यस्तो निन्दनीय बोलीले तिम्रै हैसियतको पर्दाफास हुन्छ । मुख र शक्ति तिम्रो हातमा छ भन्दैमा जे पनि नबोल । रेमिट्यान्सले तिम्रो जीवन चलेको छ, त्यो नबिर्स । म तीजको मौसमले रमाउन नसकेको मन तिम्रो त्यो दुवर्चन झन् मन दुखेर आएको छ ।

हे नेपाल राष्ट्रका ठेकेदार हो, तिम्रा अभागी सन्तानहरु अर्काको आंगनमा भतुवा बनेर आधुनिक दासहरु हामी कचौरा थापेर अर्कालाई चाकरी गरेको मूल्यबाट आफ्ना सन्तान जीवित राख्दैछौं । तिमीहरु जस्ता राष्ट्र घाती, भाई मारा, भ्रष्टाचारी होइनौं हामी । श्रम र पसिनाको कर्जाबाट बांच्ने र बचाउने प्रयास गर्दैछौं । आमाको काखमा शिर बिसाउने मन कसलाई हुन्न । प्रियसीको प्रेममा रम्ने मन कसलाई हुन्न । भुन्टेसंग खेल्ने मन कसलाई हुन्न र ? तैपनि भोको पेट अनि च्यातिएको भोटोको खातिर आफ्नो खुशीहरु आहुती दिंदै अर्काको खटनमा बन्धकी जीवन जिउन वाध्य हामी बिछोडिएका मनहरु हौं र त्यसको भागीदार तिमीहरु हौ । त्यसैले कृपया दुःखीको संवेगसंग खेलवाड नगर ।

आज आंगनमा झुल्किनु पर्ने रंगीन चाड उजाड बनेको छ । मेरो माइती मकै बारीमा जिउंदै जलेका छन् । उपचार आशामा थालेको यात्रा बिथोलिदै बाटोमै मारिएका छन् । खै कस्तो खण्डीय राज्यको सपना बांडेको कुन्नी आज 
खरबारी आगो जसरी देश जलेको छ । त्यो संगसंगै हाम्रा मन जलेका छन् । दिदीबहिनीको सिउंदो पुछिएका छन्, बेरंगी भएका छन् । अनि म कहां सक्छु यो रंगीन पर्वमा रंग भर्न । मेरी आमा टुक्रिएकी छिन्, कुन अंग कसले लुछ्ने हो थाहा छैन । यो भागबन्डाको मौसममा म के रम्न सक्छु र ? म संवेग 
रहित बेरंगी भएकी छु केवल रंगहरु भित्रकी बेरंगी चेली ।

बसु धैव कुटुम्बकम भनेर जानेको धेरै भयो । एक घर एक परिवारको कल्पना गर्ने हामी आज एउटा डिलको लागि, एउटा कुलेसाका लागि एक हुल माइतीहरुको ज्यान गए । अझै चटकेको महाजाल परेका माइती, महामहिमहरुका स्वार्थको चपेटाको चाल र जल बुझेका छैनन् । अनि हामी चेली माइतीको शान्ति र मंगलको कामना गर्दै दुर वस्तीबाट रुनु सिवाय अरु के गर्न सक्छौं । रंगहीन अशान्त मन लिएर तीज कुर्दैछौं ।

आमाको काखको रित्तो पन, सौभाग्य लुटिएको तन, प्रेमविहीन मन, बाबा बिनाको जीवन र संगै उदाएका पर्वले कुन रौनक भर्न सक्ला र हामी यी पर्व संगै रम्न सकिएला । भूकम्पले दिएको पीडा, राजनीतिक महाभूकम्पको शिकार, लालबाबु बाजेको असह्य बाणी । घैंटे अनि चरी बेसम्मानका पद्वी संगै चलेका गोली, अरबका गल्लीहरुमा लुछिएका चोली । यसले दिएको चोटले पिल्सिदैं बांचेका हामी । मेरा दिदीबहिनी, दाजुभाई रुंदा म कहां हांस्न सक्छु अनि यो पर्वमा कहां रौनक भर्न सक्छु ।

कुन खुशीको कुरा गरुं म मेरो देश रोएको छ । विहानीको किरणसंग 
रम्न सक्दिन म । वर्षे भेलले रोक्न नसक्ने मेरा पदचापहरु आज पोलियो ग्रसित जस्ती भएकी छु । मेरो पहिचान, मेरो संस्कृति, मेरो नेपालीपन नै हो हजुर । जुन देशको पानी पिउंm, जुन देशको नुन खाऊं र घाम तापुं । मेरो मन नेपाली हो, म नेपाली चेली हुं । मिस्टर लालबाबु म र मेरो जन्मिएको हुर्किएको माटो मेरो भूमी एक अर्कामा परिपुरक छ । मन दुखाउने काम नगर । भूकम्पले हिर्काउदा तिमी भन्दा हामी रोयौं । लालाबाला छाडेर भत्किएको घर र भत्किएको मन सम्हाल्न गाउंको कुना कुना पुग्यौं । न पहिरोले रोक्यो हामीलाई, न रातले छेक्यो हामीलाई । हातमा हात, साथ साथ गर्दै तिम्रो सरकार भन्दा अगाडि हामी भयौं । बोल्नु माया होइन, काम गर्नु माया हो । भत्किएको घर अझै उस्तै छ । सांघुरो कटेरोमा जीवन चलाई रहेका छन् मेरा बाबा आमा अनि महामहिम हजुर हामी जस्ता दुःखी विदेशिएका सन्तानलाई सराप्दै छौ दरिद्र दिमाग लिएर ।

सुशासन, सुशान्ति स्थापना गर । हरेक नेपालीलाई बांच्न पाउने अधिकार प्रदान गरेर हेर कोही नेपालीको रहर छैन बन्धकी जीवन बांच्ने । तिमीले गरेको पाप हामीले भोग्दै छौं । तिम्रो किल्लाको स्वार्थमा ब्रम्हलुट गर्यौ । लुट्नु लुट्यौ । सुन लुट्यौ, नुन लुट्यौ, गुण लुट्यौ । भदौरे नदी रगत लिएर बगिन् । तीजकै दिन कयौं दिदीबहिनीले जनयुद्धको नाममा सौभाग्य लुटाए । लुट्नेहरु गोरुमा लागेका किर्ना झैं टन्न मोटाए । शहीद पत्नी अनि सन्तानहरु पीडा अनि अभावको जरजर्तामा जीवन गुजार्दै छन् । संसारको कुनै कुनाबाट तिम्रो रमिता हेर्दै भन्न मन लाग्छ जय होस् तिम्रो अनि तिम्रो संवेदनविहीन पनको ।

अन्त्य मा हेर हामी तिमीहरु जस्तो ठगको लाममा छैनौं । एक दिन काम नगरे अर्को दिन खान पाउंदैनौ । असुरक्षित र अनिश्चित भविष्व लिएर बांचिरहेका छौं । अग्लो भवन अगाडि खिचेको तस्विर यथार्थ होइन, रात दिन गधा झैं घोटिएको यथार्थ हो । अर्काको डरमा, उनकै आर्शीर्वादमा जीवन चलाएका छौं । हजारौं भिडमा एक्लो छौं हामी । तन वारी छ मन चाहिं पारी छ । मन र तनलाई एकत्रित गरेर बांच्न सकेका छैनौं । विचरा हामी आधुनिक बन्धकेहरु । आफ्नै माइतीको पिरलोले दुखाइरहन्छ । त्यसैले यो रंगीन पर्व तीज बेरंगी भएको छ हामी चेलीलाई ।
यही गुनासो र दुःख पीडाभित्र भित्रिंदै गरेको पर्व हरितालिका तीजको पावन अवसरमा देशभित्र र देश बाहिर रहनु भएका सम्पूर्ण महिला दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री