टीकापुर घटनामा मारिएका प्रहरीका परिवारलाई जनही रु १० लाख

 

काठमाडौँ, १७ भदौ । गत भदौ ७ गते टीकापुर घटनामा निधन भएका प्रहरी अधिकारी तथा जवानका परिवारलाई नेपाल प्रहरीले जनही रु १० लाख दिने निर्णय भएको छ ।

उक्त घटनामा ज्यान गुमाएका प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहोरा, प्रहरी हबल्दारद्वय श्यामबहादुर खड्का र जनकबहादुर नेगी तथा प्रहरी जवान लोकेन्द्रबहादुर चन्दका परिवारलाई ‘नेपाल प्रहरी राहत कोष’बाट राहत प्रदान गर्न लागिएको प्रहरी प्रधान कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

“राष्ट्र र नागरिक सुरक्षालाई उच्च प्राथमिकता दिई कर्तव्यपालनको सिलसिलामा वीर गति प्राप्त गरेका अमर प्रहरीहरुको सम्मान गर्दै राहत प्रदान गर्न लागिएको हो”, बिज्ञप्तिमा उल्लेख छ ।

साथै, निधन भएका प्रहरीका सन्ततिलाई उच्च शिक्षा अध्ययनमा छात्रवृत्ति प्रदान गर्ने, घाइते प्रहरीको निःशुल्क उपचार गरिने तथा आयआर्जनका लागि सहयोगी कार्यक्रम सञ्चालन गरिने विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री