विश्वभरिका गैरआवासीय नेपालीहरूको एकता नै एनआरएन हक अधिकारको सुनिश्चितता 

Ganesh Rana

गैरआवासीय नेपाली सघ (एनआरएन) बेलायतको अधिवेशन घोषणापश्चात नेपालको संसदीय चुनावको आभास ताजारूपमा बेलायतमा पनि महशुस गर्न थालिएको छ । एनआरएन बेलायतको चुनावी माहोलका क्रममा एनआरएनको शक्त्ति आ–आफ्नो पोल्टामा पार्ने प्रयासले सामाजिक संजालमा प्रमुख स्थान ओगटिरहेको जताततै छ्याप्छ्याप्ती देख्न सकिन्छ ।

के हो त गैरआवासीय नेपाली संघ भनेको ?

गैरआवासीय नेपाली संघ (एनआरएन) को अगाडि कठिन चुनौतीहरू धेरैभन्दा धेरै छन् । यो संस्थालाई सर्वप्रथम सबै गैरआवासीय नेपालीहरूको विशुद्ध साझा संस्थाको रूपमा रूपान्तरण गर्नु पर्ने आवश्यकता देखिन्छ । गैरआवासीय नेपालीहरूको हकहित र अधिकार सुनिश्चितताको निमित्त स्थापना गरिएको संस्था हो भने प्रमुख मुल मुद्दाभित्रको ऐजेण्डालाई ओझेलमा पार्नु भएन । साथसाथै एनआरएन स्थापना गर्नुको प्रमुख उद्देश्यलाई स्पष्ट पार्नु पर्ने वर्तमान अवस्थाले माग गरिरहेको छ । गैरआवासीय नेपालीहरूको साझा मुद्दालाई कसरी उठान गरी सम्पूर्ण गैरआवासीय नेपालीहरूको सहयोग एवम् ऐक्यवद्धता प्राप्त गर्न सकिन्छ भन्ने विषय नै एनआरएनको स्पष्टतामा आधारित रहने छ । एनआरएन के प्रयोजनको लागि स्थापना गरिएको हो यसलाई व्याख्या र विश्लेषण गर्नु पर्ने महसुस हामी सबै गैरआवासीय नेपालीमा हुनुलाई नकारात्मक सोच भन्न मिल्दैन ।
एनआरएनको सदस्य बन्नको निमित्त मापदण्डका प्रकृया र पद्दतिहरू के के हुन् ?
जबजब गैरआवासीय नेपाली संघको अधिवेशनलाई सर्वाेपरी आधार मानी निर्वाचन प्रकृयालाई भर्याङ बनाई शिखरमा उक्लिने प्रयास गरिन्छ तब शुरू हुन्छ, सोझा सीधा र अनभिज्ञ गैरआवासीय नेपालीहरूलाई सदस्य बनाउने होडबाजी । यस्तै हो भने के एनआरएनको निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्नको निमित्त मात्र सदस्य बन्ने कि एनआरएनको दिर्घकालिन सदस्य बनाउने भन्ने बिषयलाई सामान्यरूपमा लिनु भनेको एनआरएनको आर्थिक पारदर्शितामाथि पनि प्रश्न उठ्न सक्छ ।
अर्काे सवालमा सबै एनआरएन सदस्यहरूले उम्मेदवारलाई मात्र आफ्नो मताधिकार प्रयोग गर्न पाउने कि एनआरएनको मापदण्डका आधारमा प्रकृया र पद्दति अनुसारले निर्धारित र उल्लेखित गरिएका विषयहरूलाई सहजरूपमा उपभोग गर्न पाउने भन्ने विषयवस्तु उपर प्रष्ट र निष्पक्षरूपमा सबैको सामु आउनु आवश्यकता मात्र होइन अनिवार्यता छ ।
किन देखिएका छन् त गैरआवासीय नेपालीहरूमा विभाजनका खाडलहरू ?
गैरआवासीय नेपालीहरूको माझ उच्चस्तरीय व्यावसायिक पूंजीपति वर्ग, मध्यम व्यावसायिक वर्ग र श्रमिक वर्ग तीन भागमा विभाजित देखा देखापरेका छन् भने एकातिर प्रवाशको बसाईमा पनि नेपाली श्रमिक माझ रोचक र घोचक रूपमा आफैंमा हाई स्किल, लो स्किल आदि ईत्यादिमा हेरिने र गरिने गलत ब्यबहार र प्रवृत्तिहरूले फष्टाउने र झाँगिने मौका पाइरहेको हाम्रो नेपाली समाजमा स्पष्ट रूपमा देख्न सकिन्छ भन्नलाई कञ्जुस्याइँ नगर्दा हुन्छ ।
यी विकराल समस्यालाई जतिसक्दो चाँडो एनआरएनले तीन भागमा विभाजित वर्गको साथै हाई स्किल, लो स्किल आदि इत्यादिमा हेरिने र गरिने गलत प्रवृत्तिहरूको मतमतान्त्तरको गहिरो खाडलहरूलाई मेटाउनु पर्ने अति जरूरी छ ।

के एनआरएनले समाबेशी आधारमा चुस्त कमिटी गर्न सक्दैन ?
सम्पूर्ण गैरआवासीय नेपालीहरूको साझा संस्थामा रूपान्तरण गरी अगाडि बढ्ने हो भने संस्थाको गरिमा र संस्थागत विकासको निम्ति संस्थाको चुस्त कमिटी गठन प्रकृया हतारमा नगरी माथिका तीन वर्गको समाबेशिताका आधारमा गर्दा सर्वश्रेष्ठ हुनेछ । साथै विभाजित वर्गको मतमतान्तरको गहिरो खाडलहरूलाई समाधान गर्नलाई पनि मुख्य भूमिका खेल्नेछ ।
विश्वको विभिन्न मुलुकमा स्थापना भएको एनआरएनले प्रायजसो विवादित र मतमतान्तरमा धेरै समय खर्चिएको देखिन्छ भने यसमा एनआरएन बेलायत पनि अछुतो छैन ।

के एनआरएनलाई सम्पूर्ण नेपालीहरूको साझा संस्थामा रूपान्तरण गर्नु सकिदैन् ?
एनआरएनलाई स्थापनाकालदेखि नै नजिकबाट नियाल्ने मौकाको शुभसाईत जुरेको भए पनि संस्थाले छलाङ मार्ने रफ्तारको क्रममा पछि छुट्नु परेको तीतो तीतो यथार्थ वर्तमानमा छ । प्रायः गरेर एनआरएनको नेतृत्व तहमा रहनु भएका महानुभावहरूलाई नियाल्दा कतै उच्चस्तरीय ब्याबसायी, पूंजीपति वर्ग र आफैँमा हाई स्किलहरू मात्रको संस्था हो कि भन्ने कुराले नेपाली समाजमा प्रमुख स्थान ओगटेको थियो भनी नकार्न मिल्दैन ।
सबैमा यस्तै नकारात्मक प्रभावको छाप रहन गएको बेला संस्थाको वास्तविकतालाई त्यस समयमा सत्य तथ्यरूपमा प्रष्टयाउनु पर्ने आवश्यकता पनि ठानिएन । कतिपय गैरआवासीय नेपालीहरूले वैकल्पिक एनआरएनको खोजी गरिरहेका छन् भन्ने चर्चा परिचर्चा नेपाली बजारमा आएको विषयलाई पनि भुल्नु चाहिँ कदापि हुँदैन ।
यी विषयलाइ सानातिना, झिनामसिना कुरा मात्र हुन् भनी थाँती राखी अगाडि मात्र बढ्न खाेज्ने हो भने एनआरएनलाई सबैको साझा संस्था बनाउनको निम्ति संस्थाको संस्थागत विकास गर्ने समयमा बाधा अड्चनले केही समस्या उत्पन्न गराउँदैन होला भन्नेमा सचेत रहन जरूरी छ ।

के एनआरएनले सिंगो नेपाली महासंघको भूमिका निभाउन सक्दैन ?
विश्वको हरेक मुलुकमा बसोबास गरिरहेका गैरआवासीय नेपालीहरूले विभिन्न प्रयोजनका आधारमा स्थापना गरिएको संघ संस्थाहरूको छाता संस्थाको रूपमा एनआरएनले भूमिका खेलेमा सहजैसँगले गैरआवासीय नेपालीहरूको मुलभूत आवश्यकताको मुद्दालाई सम्बोधन गर्न सकिन्थ्यो भन्ने सुझाव संघ संस्थाका नेतृत्वकर्ताहरूको पाइन्छ । ब्यक्त्ति विशेषहरूको क्षणिक सोचको आधारमा उद्देश्य र लक्ष्य विहिनरूपमा धेरै संघसंस्था खोलिनुमा उपलब्धिभन्दा पनि फेशनको रूपमा हेरिएको पाइन्छ ।
सम्पूर्ण गैरआवासीय नेपालीहरूको जल्दोबल्दो साझा समस्यामा आधारित मुख्य मुद्दालाई पहिचान गर्नुपर्ने अवस्थामा धेरैभन्दा धेरै संघसंस्था खोली खानपान र मनोरञ्जनमा मात्र सीमित रहने हो भने भविष्यमा हाम्रो भावी सन्तानले कसरी हामी सबै नेपालीको राष्ट्रिय पहिचानलाई सजिलैसँगले निरन्तता दिन सक्छन होला र ?
हाम्रोसामु गम्भिररूपमा प्रश्नै प्रश्नहरू, गहन र सम्वेदनशील विषयलाई कडा भन्दा कडा चट्टान झैं बज्रिनलाई मात्र तयार भएर रहेको छ भने हामी सबै यस महत्वपूर्ण विषयमा कहिले देखि सचेत रहने होला ?

एनआरएनको संशोधित विधानमा उल्लेखित धारा उपधाराका बुँदाहरूलाई स्पष्टरूपमा प्रष्टयाउनु विवादित विषयलाई समाधान गर्नु हो । विवादित धारा उपधाराका बुँदाहरूका सन्दर्भमा समयअवधि भित्र नै परिमार्जन गर्न सके अन्योल र गुमराहमा परेका सम्पूर्ण एनआरएनहरुमा प्रष्ट त हुने थियो नै गुटबन्दी गर्ने परम्परा सँधैको लागि निस्तेज भै योग्य, सक्षम, अनुभवी, काम गर्न सक्ने, ब्यक्त्तिहरूको निम्ति आलाेपालो पद्दत्तिको पनि शुरूआत हुने थियो ।
सामाजिक मुल्य र मान्यतालाई अवलम्बन गर्दै सबैमा समन्वय कायम गरी धनिष्ठता स्थापित गर्नु अहिलेको आवश्कयता हो । यसले समानन्तर कमिटी बनाउनु पर्ने स्थितिलाई दुरुत्साहन गर्ने छ । अरूले तपाईभन्दा पनि आफैंलाई मपाई भन्ने सोच र चिन्तनका एकल परम्परावादी ब्यक्त्ति विशेष सँधैभरि संस्थामा रहिरहने मनोवृत्तिको बढुवालाई परिवर्तन गर्दै अगाडि बढ्नु अहिलेको आवश्यकता हो ।

के एनआरएनलाई सबै नेपालीहरूले साझा संस्थाको रूपमा ग्रहण गर्न सक्छन् त ?
नजिकबाट गैरआवासीय नेपाली संघको विधानभित्र भएका दस्तावेजमा उल्लेखित बुँदाका हरफहरू ब्यापकरूपमा चर्चा परिचर्चासहित बहसको विषय बनिरहेको छ । के साँच्चै नै दक्षिण एसियाली सार्कराष्ट्र बाहेक अन्य मुलुकमा १८७ दिनभन्दा माथि बसोबास गर्ने नेपाली जति सबै एनआरएन हुन्छन् भने वैदेशिक रोजगारीको निम्ति खाडी मुलुकसहित अन्य मुलुकमा वर्षाैदेखि काम गर्ने लाखौं नेपाली दाजुभाइ, दिदीबहिनीहरू बैधानिक, आधिकारिक भिसा लिएर काम गरिबसेका छन् भने कतिपय भिसा सकिएर बसेका पनि छन् । के ती सबै नेपाली दाजुभाइ, दिदीबहिनीहरूलाई एनआरएन भन्ने कि नभन्ने अथवा एनआरएन हुन् कि होइनन् ?

यीभन्दा धेरै प्रश्न विश्वको हरेक मुलुकमा बसोबास गरिरहेका सबै नेपालीहरूको मनमष्तिस्कमा उब्जिरहने प्रश्न बनेको छ । सबै एनआरएनहरूलाई एक ढिक्का बनाई अगाडि बढ्नलाई यी बिषयमा सबैको ध्यानाकर्षण हुनु पर्ने देखिन्छ । जब अधिवेशनको तिथि मिति तोकिन्छ अनि शुरू हुन्छ एक आपसमा प्रतिष्पर्धा, प्रचारबाजी, जमघट, भेटघाट आदि इत्यादि । वास्तवमा यी कुरा गौण होइनन् भने कतिपय ठाँउमा प्रश्न पनि उठाउनु पर्ने जरूरी देखिन्छ कि कतै सेलिब्रेटी बन्नलाई मात्र त होइन एनअारएन ? कतै एनआरएनमा बसेर काम गर्नलाई भन्दा पनि नेपाली समाजमा आफ्नो नाम स्थापित गर्नलाई पो प्रत्साहित भएका छन् कि ?

र, अन्त्यमा निर्वाचनमा सहभागी सबै उम्मेदवारहरुले ध्यान दिन जरूरी छ लोकतान्त्रिक प्रणालीबाट निर्वाचनमा समाहित भैसकेपछि विजयीहरूले ज्यादाभन्दा ज्यादा हर्षोल्लाहित हुनु भएन भने अर्काेतिर प्रत्यासीहरु पराजयको पिडाबाट विचलित कदापि पनि हुनु भएन । प्रत्यासीहरूलाई अपमान र उपेक्षा नगरी अनुकुल वातावरणमा विषयवस्तुसम्बन्धी आवश्यक परामर्श र सल्लाह सुझावको वातावरण निम्त्याउन विजयी कार्यकारिणी समिति निर्भर रहनेछ ।
(लेखक नेपाल लोकतान्त्रिक गणतन्त्र मोर्चा हङकङको पूर्व अध्यक्ष तथा संखुवासभा समाज बेलायतको वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । )

प्रतिक्रिया

सम्बन्धित सामाग्री