आइतबार, मंसिर १२ २०७८ | Sun, November 28, 2021
नेपालको समय: ११:३४ | UK Time: 05:49

समय अभावले सांसदहरुको सम्बोधन अधुरै

वीनेपाली
२०७२ भदौ ३ गते ०:५७
1439273283596_Pro_Ktm_ CA meeting  (1)

फाइल तस्विर

 

काठमाडौँ, २ भदौ । अधिकांश सांसदलाई सभामुखको आग्रह हुन्थ्यो “सकाँै माननीय सदस्य” । सांसद्को जवाफ हुन्थ्यो “सकियो हजुर ।” यद्यपि उनीहरुले थप एकाध मिनेट बोल्न छाडेनन् ।

व्यवस्थापिका–संसद्को बुधबारको बैठकमा विनियोजन विधेयक, २०७२ को विभिन्न शीर्षकमाथि १० वटा मन्त्रालय र चारवटा अन्य निकाय गरी १४ संस्थाका नीति तथा कार्यक्रम र बजेटमाथि छलफल हुँदै गर्दा सभामुख र सांसद्बीच पटक पटक यस्तो सम्वाद दोहोरियो ।

सदनमा महत्वपूर्ण विषयमा छलफल जारी रहेपनि सांसद्ले सीमित समयमा धेरै मन्त्रालयबारे धारणा राख्न गाह्रो भएको गुनासो गरे ।

विनियोजन विधेयकमाथि सत्तापक्षका सांसदलाई सात मिनेट, प्रतिपक्षका सांसद्लाई सामान्यतः पाँच र चार मिनेट समय प्रदान गरिएको थियो भने साना दलका सांसद्लाई तीन मिनेटको समय दिइएको थियो । तीन मिनेटको समयभित्र सम्बोधन र मन्त्रालयको नाम लिँदैमा निर्धारित समय पूरा भइसक्थ्यो ।

चौधवटा निकायबारे धारणा राख्न सत्तापक्षका सांसदले एउटा निकायलाई आधा मिनेट छुट्ट्याउनुपर्छ भने प्रतिपक्षका लागि त्यसभन्दा पनि न्यून समय मात्र प्राप्त हुन्छ । लिखित मन्तव्य राख्नेलाई समेत तोकिएको समयमा वाक्य पूरा गर्न हम्मेहम्मे परेको थियो ।

सदनमा उपस्थित सांसद्ले बोल्ने समय नपुगेको भन्दै गुनासो गरिरहँदा सांसद्को उपस्थिति भने न्यून थियो । प्रतिपक्षका सांसद्ले बजेटका सम्बन्धमा असन्तुष्टि व्यक्त गर्नु सामान्य भएपनि सत्ता साझेदार दलकै सांसद्ले समेत अर्थ मन्त्रालय र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको बजेट सन्तुलित नभएको भन्दै आलोचना गरे ।

कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला, शान्ति तथा पुनःनिर्माण, भौतिक पूर्वाधार तथा यातायात, सङ्घीय मामिला तथा स्थानीय विकास, कृषि विकास, गृह, सहरी तथा गरिबी निवारण, विज्ञान, प्रविधि तथा वातावरण र रक्षा मन्त्रालयका निम्ति विनियोजित रकम र निर्धारित योजना तथा कार्यक्रमबारे छलफल हुँदा सम्बन्धित मन्त्रीको उपस्थिति अनिवार्य हुन्छ, तर सभामुखको लिखित आग्रहपछि पनि आज सदनमा मन्त्रीको उपस्थिति कम थियो ।

सांसद रविन्द्रप्रताप शाहले आफ्नै विज्ञताका आधारमा सुरक्षा निकायले पाएको दुःख र पीडाबारे चर्चा गर्न खोजेका थिए । उनले बोल्नका लागि चार मिनेट समय पाएका थिए । लिखित मन्तव्य दिएका शाहले आफ्नो मन्तव्य नसकेपछि सभामुखको आशनमा रहेका मानबहादुर विकले छ पटकसम्म माननीय सदस्य तपाईको समय सकियो भन्नुपरेको थियो । सांसद् शाहको पटक–पटक जवाफ थियो “सकें हजुर ।”

निर्धारित समयभन्दा आधा घन्टा ढिलो सुरु भएको बैठकको आरम्भ सभामुख सुवास नेम्वाङबाट भयो भने कार्यव्यस्तताका कारण उनी बैठकबाट बाहिरिएपछि उनको स्थानमा आएका सांसद मानबहादुर विकले पनि समयमै आफ्ना कुरा सक्न सांसदलाई बारम्बार सचेत गराउनुप¥यो । तर “सक्नोस्, सक्नोस्” भन्ने बैठक सञ्चालक र “ल ल, सकें सभामुख ज्यू” भन्ने क्रम रोकिएन ।

बैठक सञ्चालनको जिम्मा सांसद प्रतीक्षा तिवारी मुखियालाई लगाएर सांसद विक बाहिरिएपछि मन्द र मसिनो स्वरमा बैठक सञ्चालन गरेकी उनलाई पनि समय व्यवस्थापन गर्न हम्मेहम्मे परेको थियो ।

सांसद लालबाबु यादवले सरकारमा पनि बस्ने सरकारको पनि विरोध गर्ने, संविधानसभामा एउटा कुरा गर्ने सडकमा गएर अर्को पनि कुरा गर्ने भन्दै राजनीतिक दलको दोहोरो चरित्र रहेको औँल्याए । चार मिनेट समय पाएका यादवलाई समय सकियो भन्दै सभामुखको आशनमा रहेका मानबहादुर विकले सूचित गरेपछि “मेरो सकिएको हो ?” भन्दै बोल्न रोकेका थिए ।

सांसद नारायणबहादुर कार्की सत्तापक्ष र प्रतिपक्ष को हो भन्ने आपूmले छुट्ट्याउन नसकेको भन्दै सरकार सत्तापक्ष र सांसद् प्रतिपक्षजस्तो देखिएको गुनासो गरे । कुन आधारमा कसरी बजेट विनियोजन गरियो भनेर जनताले प्रश्न गरे सांसद्हरुसँग उत्तर नभएको उनको भनाइ थियो ।

सरकारमा रहेका प्रभावशाली मन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै बढ्ता बजेट विनियोजन गरेको र अन्य क्षेत्रमा ध्यान नदिएकाले आपूm सत्तापक्षको सांसद् हो कि होइन भन्ने समेत थाहा पाउन नसकेको भन्दै व्यङ्ग्य गरे ।

सांसद कर्णबहादुर विकले सदनमा महत्वपूर्ण विषयमा मन्त्रीहरुको न्यून उपस्थिति रहनुले सदनको अपमान भएको भन्दै बजेट विनियोजनको सिद्धान्त र आधार के हो ? कुन आधारमा भयो ? भन्ने प्रश्न गरेका थिए ।

सांसद ओमदेवी मल्लले अर्थतन्त्रको एउटा आधारको रुपमा सहकारी क्षेत्रलाई लिइएपनि बजेट विनियोजनमा ०.३३ प्रतिशत मात्रै छुट्ट्याइएको गुनासो गरे । उनले पनि आफ्नो समयसीमा भन्दाबढी समय बोल्न लागेपछि सभामुखले तीन पटक भन्दा बढी ‘माननीय, सदस्य समय सकियो’ भन्नु परेको थियो ।

सांसद डा वंशीधर मिश्रले सुरुमा नै आपूmले तीन मिनेट समय मात्रै पाएकाले के बोल्ने भनेर अन्योल परेको बताए । सांसद् तेजकुमारी पौडेलले बजेट परम्परावादी भएको आरोप लगाउँदै शान्ति तथा पुनःनिर्माण मन्त्रालयले शान्ति तथा पुनःनिर्माण र द्वन्द्व पीडितलाई कुनै राहत दिन नसकेको गुनासो गरिन् ।

सांसद योगेन्द्र तामाङ घिसिङले सत्तापक्षका सांसद्को समेत कुरा नसुन्ने सरकारले प्रतिपक्षका सांसद्को त कुरा झनै नसुनेको गुनासो गर्दै भने “शान्ति प्रक्रियालाई पूरा गर्नेतर्फ बजेट किन नछुट्ट्याइएको हो, थाहा पाउन पाए राम्रो हुन्थ्यो ।”

सांसद् हरिराज ज्ञवालीले सांसद्ले उठाएका योजना र कार्यक्रमलाई समावेश नगर्ने हो भने विनियोजन विधेयकमा छलफल गर्नु र नगर्नुको अर्थ नहुने धारणा राखे । आफ्नो शैलीमा धारणा राख्ने सांसद्को भीडमा सांसद् जुठबहादुर टुहरेले सभामुखलाई सम्बोधन नै नगरी गीत गुनगुनाउँदै यसरी मनोरञ्जन गराए “अर्थको दुनियाँ रहेछ कहिले होला यो निर्मल” । त्यत्तिमा मात्रै उनी रोकिएनन् । अर्थ मन्त्रालयलाई जिम्मेवार बन्न आग्रह गर्दै उनले अन्त्यमा फेरि कवि दुर्गालाल श्रेष्ठको गीत सुनाए “फूलको आँखामा पूmलै संसार, काँडाको आँखामा काँडै संसार ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक