एनआरएन युके उम्मेदवार बहसमा पत्रकार आचारसंहिता विपरीत वक्तासित रकम माग

gurkha-channel-logo

तस्वीर ; गुगलबाट

 

लण्डन । बेलायतबाट सञ्चालित गोरखा च्यानल (टिभी) ले यही आइतबार आयोजना गर्न लागेको गैरआवासीय नेपाली संघ (युके) को आसन्न निर्वाचनका आकांक्षीहरुबीचको बहसमा पत्रकार आचारसंहिताको गम्भीर उल्लंघन भएको पाइएको छ ।

च्यानलले फार्नब्रोको सामुयल कोडी स्पोर्टस हलमा आयोजना गरेको बहसमा सहभागी हुने एनआरएन युकेको आगामी निर्वाचनमा अध्यक्षसहितका पदाधिकारीमा इच्छुक व्यक्तिहरुसित रकम माग गर्दा पत्रकार आचारसंहिताको उल्लंघन हुन पुगेको हो ।
च्यानलले अध्यक्ष र अन्य पदाधिकारीमा उम्मेदवार हुन चासो देखाएका र मिडियामा चर्चामा आएका व्यक्तिहरुलाई कार्यक्रममा सहभागी हुन बोलाएको छ । साथै उनीहरुबाट कार्यक्रम स्पोन्सर गरिदिन आर्थिक सहयोग पनि माग गरेको छ ।
वीनेपालीलाई प्राप्त जानकारी अनुसार अध्यक्षका आकांक्षीसित जनही २०० पाउण्ड र अन्य पदका आकांक्षीहरुसित जनही १०० पाउण्ड च्यानलले माग गरेको छ ।
अध्यक्ष पदमा उम्मेदवारी दिन लागेका बुद्धिराम थापाले कार्यक्रममा सहभागी हुन र कार्यक्रममा लाग्ने खर्च सहयोग गर्न च्यानलबाट अनुरोध आएको बताए । ‘शुरुमा ३०० पाउण्डको कुरा भएको थियो पछि २०० गर्ने कुरा भयो’ उनले भने ।
अध्यक्ष पदमै दाबी गरिरहेकी कल्पना आङबुहाङले पनि च्यानलबाट बहसमा सहभागी हुन र २०० पाउण्ड सहयोग गर्न कुरा आएको बताइन् । ‘बहसको सन्दर्भ त्यति नमिलेकाले सहभागी हुन सकिने अवस्था छैन’ उनले भनिन् ।
महासचिव पदका लागि चर्चामा आएका विजयविक्रम लिङदेनले आफूलाई पनि बहसमा बोलाइएको र १०० पाउण्ड सहयोग गर्न अनुरोध आएको पुष्टि गरे ।
अध्यक्ष पदका अर्का आकांक्षीले पनि आफूसित २०० पाउण्ड सहयोग गर्न भनिएको बताए । तर उनले नाम सार्वजनिक गर्न भने चुनावमा असर पर्नसक्ने सम्भावना देखाउँदै मानेनन् ।
च्यानलका निर्देशक राजेन्द्र भट्टले वक्ताहरुसित पैसा मागिएको स्वीकार गरे । उनले भने, ‘हामी कुनै पब्लिक फण्डबाट चलेको मिडिया होइनौँ निजी लगानीमा सञ्चालित मिडिया हौँ । उम्मेदवारी दिने व्यक्तिहरुले नै कार्यक्रमका लागि खुशीसाथ सहयोग दिने भएका हुन् ।’
नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलले जारी गरेको र नेपाल पत्रकार महासंघ युके शाखाले समेत अनुमोदन गरेको ‘पत्रकार आचारसंहिता २०६०’ मा ‘पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने कार्य’को १४ नम्बर बुँदामा लेखिएको छ, ‘पत्रकार वा सञ्चारमाध्यमले समाचार स्रोतसित व्यावसायिक मर्यादा र सीमा बाहिर हुनेगरी अनुचित सम्बन्ध राख्न एवं व्यक्ति वा संस्थाको निहीत स्वार्थको निम्ति सञ्चारमाध्यमको दुरुपयोग गर्न हुँदैन ।’
अन्तर्राष्ट्रिय प्रेस काउन्सिलका उपाध्यक्ष तथा नेपाल प्रेस काउन्सिलका सदस्य किशोर श्रेष्ठले टेलिभिजन कार्यक्रममा बोलाइएका वक्ताहरुसित पैसा माग्दा पत्रकार आचारसंहिता उल्लंघन हुने बताए । ‘पत्रकार वा सञ्चारमाध्यमले त्यसो गर्न मिल्दैन’ उनले भने ।
पत्रकारिता सम्बन्धी पाँचवटा पुस्तक लेखिसकेका, हाल क्यानाडाको ओटावा विश्वविद्यालयका अनुसन्धाता भानुभक्त आचार्य टेलिभिजन च्यानलबाट कार्यक्रमका वक्तासित पैसा मागिनु पत्रकारिताको मूल्य मान्यता र अभ्यास विपरीत भएको बताउँछन् । उनले भने, ‘मिडिया संचालनका लागि आर्थिक स्रोत जरुरी हुन्छ तर त्यसको मतलब स्रोत (वक्ता) सितै पैसा माग्नुपर्छ भन्ने होइन ।’
‘पत्रकारिताको आममान्यताअनुसार स्रोतसित सूचना लिएर प्रसारण वा प्रकाशन गरेवापत पैसा लिनु बिल्कुल गलत कार्य हो’ आचार्यले भने । ‘त्यस्ता टिभी कार्यक्रमहरुको बीचमा तेस्रो पक्ष वा अन्य व्यावसायिक प्रतिष्ठानको उत्पादनका बारेमा जानकारी दिन सकिन्छ तर वक्ताहरुबाट पैसा उठाइनु हुँदैन’ आचार्यले थपे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री