काठमाडौँ, २७ साउन । चार सुरक्षा निकायका प्रमुखहरुले संविधान जारी भएको अवस्थामा शान्ति सुरक्षा चुस्त दुरुस्त राख्न सकिने अवस्था रहेको जानकारी चार दलका शीर्ष नेताहरुलाई दिएका छन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज साँझ सुरक्षाको पछिल्लो अवस्थाबारे प्रमुख दल नेपाली काँग्रेस, नेकपा(एमाले), एकीकृत नेकपा(माओवादी) र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का शीर्ष नेतालाई सुरक्षा निकायका प्रमुखहरुले यस्तो जानकारी गराएका हुन् ।
सुरक्षा निकायका प्रमुखले देशभरको सुरक्षा स्थिति दुरुस्त रहेको विवरण प्रस्तुत गर्दै चिन्ता गर्न आवश्यक नरहेको जानकारी दिएको बैठकपछि उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले बताए ।
उनले भने, “संविधान जारी गर्दा केही प्रतिक्रिया आउन सक्छ, त्यसलाई व्यवस्थित र समाधान गर्न सक्छौँ भन्ने सुरक्षा निकायको भनाइ छ ।”
सुरक्षा निकायको छलफलपछि संविधान जारी गर्दा शान्ति सुरक्षालाई व्यवस्थित गर्न सकिने निष्कर्षमा दलहरु पुगेको उनले बताए ।
सङ्घीयताको खाकाबारे सुर्खेतलगायत देशका विभिन्न स्थानमा देखिएको तनावमा संविधान विरोधी तत्वले खेल्न खोजेको ठहर गर्दै त्यसतर्फ सचेत हुनुपर्ने बारेमा बैठकमा छलफल भएको थियो । संविधान जारी गर्दाको अवस्थामा अपनाउने सुरक्षा योजनाबारे पनि सुरक्षा निकायले शीर्ष नेताहरुलाई जानकारी गराएको थियो ।
बैठकमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराई र फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार सहभागी थिए ।
त्यस्तै सुरक्षा निकायका तर्फबाट नेपाली सेनाका कामु प्रधानसेनापति राजेन्द्र क्षेत्री, नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरीका महानिरीक्षक कोषराज वन्त, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मीलगायतको सहभागिता थियो ।
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित