संविधान जारीपछि शान्ति सुरक्षा दुरुस्त राख्न सकिने सुरक्षा निकायको आँकलन

काठमाडौँ, २७ साउन । चार सुरक्षा निकायका प्रमुखहरुले संविधान जारी भएको अवस्थामा शान्ति सुरक्षा चुस्त दुरुस्त राख्न सकिने अवस्था रहेको जानकारी चार दलका शीर्ष नेताहरुलाई दिएका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज साँझ सुरक्षाको पछिल्लो अवस्थाबारे प्रमुख दल नेपाली काँग्रेस, नेकपा(एमाले), एकीकृत नेकपा(माओवादी) र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का शीर्ष नेतालाई सुरक्षा निकायका प्रमुखहरुले यस्तो जानकारी गराएका हुन् ।

सुरक्षा निकायका प्रमुखले देशभरको सुरक्षा स्थिति दुरुस्त रहेको विवरण प्रस्तुत गर्दै चिन्ता गर्न आवश्यक नरहेको जानकारी दिएको बैठकपछि उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले बताए ।

उनले भने, “संविधान जारी गर्दा केही प्रतिक्रिया आउन सक्छ, त्यसलाई व्यवस्थित र समाधान गर्न सक्छौँ भन्ने सुरक्षा निकायको भनाइ छ ।”

सुरक्षा निकायको छलफलपछि संविधान जारी गर्दा शान्ति सुरक्षालाई व्यवस्थित गर्न सकिने निष्कर्षमा दलहरु पुगेको उनले बताए ।

सङ्घीयताको खाकाबारे सुर्खेतलगायत देशका विभिन्न स्थानमा देखिएको तनावमा संविधान विरोधी तत्वले खेल्न खोजेको ठहर गर्दै त्यसतर्फ सचेत हुनुपर्ने बारेमा बैठकमा छलफल भएको थियो । संविधान जारी गर्दाको अवस्थामा अपनाउने सुरक्षा योजनाबारे पनि सुरक्षा निकायले शीर्ष नेताहरुलाई जानकारी गराएको थियो ।

बैठकमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराई र फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार सहभागी थिए ।

त्यस्तै सुरक्षा निकायका तर्फबाट नेपाली सेनाका कामु प्रधानसेनापति राजेन्द्र क्षेत्री, नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरीका महानिरीक्षक कोषराज वन्त, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मीलगायतको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री