काठमाडौँ । नेपाल र इजरायल सरकारबीच ‘केयरगिभर’का रुपमा नेपाली कामदार छनोट गरी इजरायल पठाउनेसम्बन्धी संयुक्त नमुना कार्यक्रमको सम्झौतामा आज हस्ताक्षर भएको छ ।
श्रम तथा रोजगार मन्त्रालयमा वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदी र नेपालका लागि इजरायलका राजदूत यारोन मेयरले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । सो कार्यक्रमानुसार ३०० नेपाली कामदार इजरायलमा केयरगिभरका रुपमा छनोट हुने अपेक्षा लिइएको छ ।
कम्तीमा मासिक एक लाखको हाराहारीमा कामदारले तलब पाउने भएकाले इजरायल नेपाली कामदारका लागि आकर्षक गन्तव्य मुलुकमा पर्छ । इजरायलमा विशेषतः त्यहाँका बूढाबूढीलाई स्याहारसुसार गर्ने कामका लागि घरेलु कामदारका रुपमा केयरगिभर लिने गरिन्छ । केही दिनमै इजरायल जानका लागि आवेदन दिन वैदेशिक रोजगार विभागले सार्वजनिक सूचना जारी गरिने र त्यसमा आवेदन दिनेमध्येबाट परीक्षाका माध्यमबाट उत्तीर्ण उम्मेदवारलाई कामदारका रुपमा छानिने सम्झौतामा उल्लेख छ ।
महिलालाई प्राथमिकता
इजरायल जान स्वास्थ्य परीक्षण, बिमा र कल्याणकारी कोषको रुकम गरी करिब रु १० हजार तथा हवाइजहाजको भाडाबापतको रकममात्रै तिर्नुपर्ने हुन्छ । कामदारले प्रवेशाज्ञाबापत र सेवा शुल्कबापत भने रकम तिर्नु पर्दैन । कम्तीमा प्रवेशिका परीक्षा उत्तीर्ण र अङ्ग्रेजी राम्रो भएका महिला र पुरुष दुवैले इजरायलमा केयरगिभरका लागि आवेदन दिन पाउने व्यवस्था छ । पुरुष पनि केयरगिभरका रुपमा लैजाने सम्झौतामा उल्लेख भए पनि महिलालाई बढी प्राथमिकता दिइने नीति लिइनेछ । रोजगारीका लागि केयरगिभरको तालिम लिएको वा नर्सिङ विषय पढेकाले बढी प्राथमिकता पाउनेछन् ।
कार्यक्रममा श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले सम्झौताले नेपाल र इजरायल दुवैले फाइदा लिन सक्ने बताउँदै यसले दुई देशबीचको सम्बन्धमा समेत थप मजबुत बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । महानिर्देशक सुवेदीले लामो समयको प्रयासपछि इजरायलमा नेपालीको रोजगारीको बाटो खुलेको बताउँदै कार्यक्रमले निरन्तरता पाए ठूलो सङ्ख्यामा नेपालीले वैदेशिक रोजगारीका लागि सो मुलुकमा अवसर पाउने आशा व्यक्त गर्नुभयो ।
राजदूत मेयरले सम्झौतापछि इजरायलले सक्षम नेपाली केयरगिभर पाउने र सोमार्फत दुवै देशका जनताका बीचमा समेत सुसम्बन्ध कायम गर्न सहयोग पुग्ने बताउनुभयो ।
इजरायलले नेपाली कामदारलाई केयरगिभरका रुपमा लिने सहमति यसअघि भए पनि वैदेशिक रोजगार संस्थाले कामदारलाई ठगी गर्दै बढी रकम उठाएपछि केही वर्षअघिदेखि इजरायलले नेपाली कामदार लिन रोकेको थियो । इजरायलले नेपाली कामदार रोकेपछि संस्थामार्फत नभई दुवै देशका सरकारबीचको सहमतिअनुसार सरकारले नै कामदार पठाउने सम्झौतामा आज हस्ताक्षर भएको हो ।
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग