इजरायलमा ‘केयरगिभर’का रुपमा नेपाली कामदार पठाइने

काठमाडौँ । नेपाल र इजरायल सरकारबीच ‘केयरगिभर’का रुपमा नेपाली कामदार छनोट गरी इजरायल पठाउनेसम्बन्धी संयुक्त नमुना कार्यक्रमको सम्झौतामा आज हस्ताक्षर भएको छ ।

श्रम तथा रोजगार मन्त्रालयमा वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदी र नेपालका लागि इजरायलका राजदूत यारोन मेयरले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । सो कार्यक्रमानुसार ३०० नेपाली कामदार इजरायलमा केयरगिभरका रुपमा छनोट हुने अपेक्षा लिइएको छ ।

कम्तीमा मासिक एक लाखको हाराहारीमा कामदारले तलब पाउने भएकाले इजरायल नेपाली कामदारका लागि आकर्षक गन्तव्य मुलुकमा पर्छ । इजरायलमा विशेषतः त्यहाँका बूढाबूढीलाई स्याहारसुसार गर्ने कामका लागि घरेलु कामदारका रुपमा केयरगिभर लिने गरिन्छ । केही दिनमै इजरायल जानका लागि आवेदन दिन वैदेशिक रोजगार विभागले सार्वजनिक सूचना जारी गरिने र त्यसमा आवेदन दिनेमध्येबाट परीक्षाका माध्यमबाट उत्तीर्ण उम्मेदवारलाई कामदारका रुपमा छानिने सम्झौतामा उल्लेख छ ।

महिलालाई प्राथमिकता
इजरायल जान स्वास्थ्य परीक्षण, बिमा र कल्याणकारी कोषको रुकम गरी करिब रु १० हजार तथा हवाइजहाजको भाडाबापतको रकममात्रै तिर्नुपर्ने हुन्छ । कामदारले प्रवेशाज्ञाबापत र सेवा शुल्कबापत भने रकम तिर्नु पर्दैन । कम्तीमा प्रवेशिका परीक्षा उत्तीर्ण र अङ्ग्रेजी राम्रो भएका महिला र पुरुष दुवैले इजरायलमा केयरगिभरका लागि आवेदन दिन पाउने व्यवस्था छ । पुरुष पनि केयरगिभरका रुपमा लैजाने सम्झौतामा उल्लेख भए पनि महिलालाई बढी प्राथमिकता दिइने नीति लिइनेछ । रोजगारीका लागि केयरगिभरको तालिम लिएको वा नर्सिङ विषय पढेकाले बढी प्राथमिकता पाउनेछन् ।

कार्यक्रममा श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले सम्झौताले नेपाल र इजरायल दुवैले फाइदा लिन सक्ने बताउँदै यसले दुई देशबीचको सम्बन्धमा समेत थप मजबुत बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । महानिर्देशक सुवेदीले लामो समयको प्रयासपछि इजरायलमा नेपालीको रोजगारीको बाटो खुलेको बताउँदै कार्यक्रमले निरन्तरता पाए ठूलो सङ्ख्यामा नेपालीले वैदेशिक रोजगारीका लागि सो मुलुकमा अवसर पाउने आशा व्यक्त गर्नुभयो ।

राजदूत मेयरले सम्झौतापछि इजरायलले सक्षम नेपाली केयरगिभर पाउने र सोमार्फत दुवै देशका जनताका बीचमा समेत सुसम्बन्ध कायम गर्न सहयोग पुग्ने बताउनुभयो ।

इजरायलले नेपाली कामदारलाई केयरगिभरका रुपमा लिने सहमति यसअघि भए पनि वैदेशिक रोजगार संस्थाले कामदारलाई ठगी गर्दै बढी रकम उठाएपछि केही वर्षअघिदेखि इजरायलले नेपाली कामदार लिन रोकेको थियो । इजरायलले नेपाली कामदार रोकेपछि संस्थामार्फत नभई दुवै देशका सरकारबीचको सहमतिअनुसार सरकारले नै कामदार पठाउने सम्झौतामा आज हस्ताक्षर भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री