लाइसेन्स खोसिएपछि ग्रीनवीच लन्डन कलेजका विद्यार्थी भौंतारिंदै

कलेज सञ्चालकहरु एउटा बैठकमा

कलेज सञ्चालकहरु एउटा बैठकमा

लन्डन । जेनतेन टिकिरहेको नेपाली व्यवसायीद्धारा सञ्चालित लन्डनस्थित ग्रीनवीच लन्डन कलेजको लाइसेन्स् अन्ततः खारेज भएको छ । यूके भिजा एण्ड इमिग्रेसन (यूकेभिआइ) ले टियर फोर अन्तर्गत विद्यार्थी भर्ना गर्न वा भिजा बढाउन बन्देज लगाउंदै लाइसेन्स खारेज गरिदिएपछि त्यहां पढ्ने सयौं नेपाली विद्यार्थी अन्यौलमा छन् ।

बेलायत सरकारले जुलाई दोश्रो साता आफ्नो नियम परिधि नाघ्ने ८७० वटा बोगस् कलेजका लाइसेन्स खारेज गरिसकिएको जनाएको थियो, त्यही लटमा परेको हो ग्रीनवीच लन्डन कलेज ।

कलेजको लाइसेन्स खारेजीसंगै विद्यार्थीको भइरहेको भिजा रद्द हुनेछ । अब विद्यार्थीले ढिलो चांडो होम अफिसबाट ६० दिन म्यादको एउटा पत्र पाउनेछन् । त्यो दुई महिना समयसीमासम्म कि त अर्को कलेज खोजेर नयां कास लेटरसहित भिजा बढाउने प्रक्रिया थाल्नुपर्छ कि त स्वदेश फिर्ती । यतिखेर अर्को कलेज वा विश्वविद्यालय खोज्नु फलामको चिउरा चपाए सरह हुने भुक्तभोगी विद्यार्थीको अनुभव छ । पढ्दापढ्दैको कलेज बन्द हुंदा विद्यार्थीको ‘प्रोग्रेस’ साथमा केही नहुने भएपछि अर्को शैक्षिक संस्थानले भर्ना लिनै नमान्ने अवस्था छ ।

ग्रीनवीच लन्डन कलेज प्रशासनले भने होम अफिसको खारेजी निर्णयविरुद्ध चुनौती दिएको अवगत गराउंदै विद्यार्थीलाई स्पोन्सर गर्न नसक्ने जनाउ दिएको छ । विद्यार्थीको आक्रोश शान्त पार्न उसले चुनौती (केस) दिएको बताएपनि विद्यार्थीले तिरेका शुल्कबारे भने कलेज मौन छ ।

बेलायतमा होम अफिसको तारो बनेका निजी कलेजहरुले सुविधा र अध्ययन विपरित विद्यार्थीसंग भारी रकम असुल्ने गरेपनि पछि बीचैमा कलेज बन्द हुंदा लिएको रकम फिर्ता गर्ने प्रचलन छैन् । ‘होम अफिसको कारवाहीले मर्का त हामी विद्यार्थीलाई 
पर्ने हो’, उक्त कलेजमा एसीसीए अध्ययनरत एक पीडित विद्यार्थीको गुनासो छ, ‘कलेजले त पहिल्यै पैसा उठाइसकेका हुन्छन् । बन्द भएपछि पैसा फिर्ता दिने उनीहरुको नीति नै नहुने रहेछ ।’ उनले ५० प्रतिशत शुल्क वापत २५ सय पाउण्ड कलेजलाई बुझाइसकेको बताउंदै अब त्यो पैसा फिर्ता हुने आशा 
नरहेको गुनासो गरिन् ।

11787394_10207085116836384_1406907761_n

यसअघि पनि एक जना नेपाली विद्यार्थीको एसीसीए कोर्षमा भर्ना वापत लिएको २५ सय पाउण्ड सो कलेजले फिर्ता गरेन । कास लेटर इस्यू नगरी भर्ना गर्दा एक सय पाउण्ड भन्दा कम रकम कलेजको खर्च हुन्छ । तर, नेपाली विद्यार्थी भएकाले कजेल सञ्चालक नेपाली साहुजीहरुले त्यति विघ्न पैसा खाएको दुःखेसो उनले पोखिन् ।

‘कास लेटर नै इस्यू नगरी मेरो २५ सय पाउण्ड लन्डन ग्रीनवीच कलेजले खायो’, ति विद्यार्थीको वीनेपालीसंग गुनासो थियो, ‘मैले कास नै इस्यू नगरेकाले केही रकम कटाएर फिर्ता गर्न इमेल गरें । कस्तुव पौडेल र रामकृष्ण श्रेष्ठलाई पटक पटक फोन गरें । अनि भेटेर कुरा पनि राखें । तर उनीहरुले मेरो रकम फिर्ता दिएनन् । यहांका नेपालीहरुले नेपालीलाई नै ठग्ने रहेछन् ।’ उनका अनुसार, कस्तुव पौडेल र रामकृष्ण श्रेष्ठले नै इमेल गर्नु हामी बोर्डमा कुरा राख्छांै भनेर सल्लाह दिएका थिए । तर, इमेल गरेपछि सल्लाह हुनै बांकी छ भन्दै झुलाएर अन्ततः पैसा दिन नसक्ने जवाफ फोनमा दिए ।

‘जबकी साहुजीहरुको दैनिक भेट कलेजमा हुंदा पनि बोर्ड बैठक भएको छैन् भन्दै मेरो २ हजार ५ सय पाउण्ड पचाए’, ति विद्यार्थीले भनिन् ।

यस बारेमा बुझ्न कलेज सञ्चालकहरु पौडेल र रामबाबु थपलियालाई पटक पटक फोन गर्न खोज्दा सम्पर्कमा आउन चाहेनन् ।

सन् २००३ मा खुलेको उक्त कलेजको वेवसाइट त ज्यादै लोभलाग्दो छ । वेवसाइट भन्छ, कलेजको आफ्नो मुख्य उद्देश्य नै सहुलियत शुल्कमा नामी प्राध्यापकहरुद्धारा गुणस्तरिय शिक्षा प्रदान गर्ने हो । तर, कति वास्तविकता हो त्यो त लाइसेन्स खारेजीले प्रष्ट्याइसकेको छ । ऐतिहासिक ग्रीनवीच क्षेत्रमा अवस्थित भन्दै कलेजले ग्रीनवीच संग्रहालय, थेम्स् नदी, कट्टी सार्क जस्ता आकर्षण कलेज छेऊमा रहेको विवरण वेवसाइटमा राखेपछि धेरैलाई भ्रम पर्नु अस्वभाविक होइन ।

बेलायत सरकारले निजी कलेज र युरोपेली मुलुकबाहेकका विद्यार्थीलाई प्रत्यक्ष असर पर्ने गरि अध्यागमन नियममा थप कडाइ गर्ने घोषणा गरिसकेको छ । अब अगष्टबाट पब्लिक फन्डेड कलेजमा अध्ययनरत विद्यार्थीले यसअघि पाउंदै आएको साताको दशघण्टा काम गर्ने अधिकार खोसिने भएको छ भने आगामी नोभेम्बरबाट निजी कलेजमा अध्ययनरत विद्यार्थीलाई भिजा बढाउन स्वदेशमै फर्कनुपर्ने, डिपेन्डेन्टले काम गर्न नपाउने र बेलायतबाट टियर फोर बाट टु (वर्क परमिट) मा स्वीच गर्न नपाउने जस्ता कडा नियम ल्याउने बताइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री