शनिबार, कार्तिक ८ २०७७ | Sat, October 24, 2020
नेपालको समय: १५:१५ | UK Time: 10:30

इरानका सम्बन्धमा अमेरिकी राष्ट्रपति ओबामाले गरेका गल्ती

वीनेपाली
२०७२ साउन १३ गते २३:५६
तस्विरः वासिंगटन पोष्ट

तस्विरः वासिंगटन पोष्ट

इरानसँग भएका सम्झौताका विषयमा अमेरिकी संसद कङ्ग्रेसमा मतदान नभएसम्म आउँदो दुई महिनासम्म यसका फाइदा र बेफाइदाका विषयमा व्यापक वादविवाद हुनेछ । तर, संयुक्त एकीकृत कार्ययोजना (ज्वाइन्ट कप्रिहेन्सिभ प्लान अफ एक्सन) भनिएको यस सम्झौताको कार्यान्वयनबाट मात्र यसका विषयमा अन्तिम निर्णय हुनेछ र यसो हुन वर्षौँ लाग्नेछ ।

यसो भए पनि दुई कुरा स्पष्ट भइसकेका छन् । पहिलो, कार्ययोजनाको सबैभन्दा कमजोर व्यवस्था यसको पालना तथा त्यसको सत्यापनको विषय भएको छ । यो विषय बोझिलो छ र यसमा प्रतिद्वन्द्वी ब्याख्या हुनसक्छ । यसैले यस सम्झौताको कार्यान्वयमा केही आशङ्का देखिन थालेको छ ।

दोस्रो र तत्कालै देखिएको कुरा, इरान तथा संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्का पाँच स्थायी सदस्य तथा जर्मनी (पी फाइब प्लस वन) बीच भएको सम्झौताको उपलब्धिले क्षेत्रीय शक्ति सन्तुलनमा प्रभाव पार्न थालिसकेको छ । वास्तवमै पश्चिमी (विशेष गरी अमेरिकी) वार्ताकारहरू यस सम्झौताको भूराजनीतिक अर्थका विषयमा सचेत थिए कि थिएनन् भनी प्रश्न गर्नु वैधानिक हुनेछ ।

वर्तमान अवस्थामा पनि यस सम्झौताले इरानलाई क्षेत्रीय रूपमा शक्तिशाली बनाएको छ । विस्तृत अन्तर्राष्ट्रिय वैधानिकता तथा वित्तीय स्रोतका कारण सिया बहुसङ्ख्यक मुलुक इरानले बढी सहयोग गर्नसक्ने कुरा सही रूपमा बुझेर सिरियाली राष्ट्रपति बसार अल–असादको अल्पसङ्ख्यक अलावित शासनले उक्त सम्झौताको निकै प्रशंसा गरेको छ ।

राष्ट्रपति असादका अर्का प्रमुख क्षेत्रीय सहयोगी लेबनानको हेजबोल्लाह (जसलाई अमेरिकाले आतङ्कवादी सङ्गठन भनी बर्गीकृत गरेको छ) ले पनि यस सम्झौतालाई समर्थन गरेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनको रसिया पनि अमेरिकी सहयोग पाउँदा खुसी भएको छ र यसले अप्रत्यक्ष रूपमा राष्ट्रपति असादको शासनमा नियन्त्रण बलियो बनाउँछ ।

स्पष्ट रूपमा इरानको सशक्तीकरणले यस क्षेत्रमा अमेरिकाका नजिकका मित्रहरूलाई असजिलो बनाएको छ । इजरायल, साउदी अरेबिया तथा केही साना तथा खाडीका बढी संवेदनशील मुलुकले आफ्नो असजिलोपना भिन्न प्रकारले व्यक्त गरिसकेका छन् ।

हालका दिनमा अमेरिकाका अनिश्चित मित्र र नेटोका सदस्य टर्कीले आफ्नो घरेलु राजनीतिक हलचलका कारण यस विषयमा विस्तृत रूपमा प्रतिक्रिया व्यक्त गरेको छैन । तर राष्ट्रपति ओबामाले मसिहाको तरिकाले ब्याख्या गर्नुभएको सम्झौताका विषयमा राष्ट्रपति रेसेप ताइप एर्दोगान निश्चय पनि आशङ्का राख्नुहुन्छ । इजिप्टको नेतृत्व पनि आन्तरिक चुनौतीसँग सङ्घर्ष गर्दैछ र ऊ पनि यसरी नै यस कार्ययोजनाप्रति खुसी छैन ।

इजरायलले फाइदा वा बेफाइदा जे पाए पनि इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहु अगाडि आउनुहुने निश्चित छ । उहाँ त्रास फैलाउन सीपयुक्त हुनुहुन्छ र इजरायललाई एक्लो र विश्वबाट परित्यक्त बनाउने कुराको एक प्रमाणको रूपमा उहाँले यसलाई प्रस्तुत गर्नसक्नुहुन्छ । यसबाट उहाँ जनतामा चिन्ता बढाउन सक्नुहुन्छ र त्यसले उहाँको सरकारप्रति राजनीतिक समर्थन विस्तार गर्नेछ ।

प्रधानमन्त्री नेतान्याहु यसका कारण यित्झाक हर्जोगको जियोनिस्ट युनियनलाई आफ्नो सरकारमा सामेल गर्न पनि सफल हुनसक्नुहुनेछ र यसबाट उहाँको कमजोर गठबन्धन अझै बलियो हुनेछ । इरानी चुनौतीलाई उहाँले यहुदीको विनाश (होलोकास्ट) को रूपमा तुलना गर्ने कार्य हास्यास्पद तथा निरर्थक भए पनि राजनीतिक रूपमा प्रभावकारी छ । इजरायलमा मतदाताको मानसिकता उक्साउन आफूलाई चारैतिरबाट घेरिएको छु भन्ने अनुभव गराउने भन्दा अन्य कुनै सहयोगी उपाय हुनसक्दैन ।

अमेरिकी राष्ट्रपति ओबामाले यस कार्ययोजनाको प्रतिरक्षा गर्दा इजरायली प्रधानमन्त्रीलाई सहयोग नै पुगेको हुनसक्छ । इरानको पारमाणविक नीतिका विषयमा उहाँका तर्कभन्दा पनि केही ऐतिहासिक दाबी अझै आशङ्काजनक छन् । आफ्ना केही भनाइ र न्यु योर्क टाइम्समा थोमस फ्राइडम्यानलाई दिनुभएको अन्तर्वार्तामा राष्ट्रपति ओबामाले इरानसँग भएको सम्झौतालाई राष्ट्रपति रिचर्ड निक्सनले सन् १९७२ मा चीनसँग सम्बन्ध सुधार गर्न आरम्भ गर्नुभएको पाइलासँग तुलना गर्नुभएको छ ।

यो बौद्धिक तथा मोहक दाबी हो । तर यो गलतअर्थयुक्त पनि छ । राष्ट्रपति निक्सनका विदेशमन्त्री हेन्री किसिन्जरले चीन तथा साभियत सङ्घको विभाजनलाई उपयोग गरी साम्यबादलाई कमजोर बनाउने प्रभावशाली रणनीति उपयोग गरिरहनुभएको थियो ।

फ्रान्सेल राजनीतिज्ञ कार्डिनल रिचेलुको अनुसरण गरी अमेरिकी विदेशमन्त्री किसिन्जरले बलियो शक्तिको विरोधमा कमजोर शक्तिलाई सहयोग गर्नुभएको थियो । पारमाणविक अप्रसारणका बढी सीमित पृष्ठभूमिमा यो उचित भए पनि अमेरिकी राष्ट्रपति ओबामाको नीतिमा यस प्रकारको अति महत्वपूर्ण रणनीति रहेको छैन ।

फाइडम्यानसँगको अन्तर्वार्तामा राष्ट्रपति ओबामाले इरानको इतिहास तथा संस्कृति बुझ्न पनि प्रयास गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रपति ओबामाले के अर्थ लगाउनुभएको छ भन्ने नबुझेसम्म यो साधारण र सरल कुरा लाग्छ । इरानी प्रधानमन्त्री मोहमद मोसादेगको सरकारलाई सन् १९५३ मा परिवर्तन गर्ने कार्यको सन्दर्भ राख्दै उहाँले भन्नुभयो ‘‘वास्तवमा हामीले इरानमा निर्वाचित सरकार फ्याक्ने कार्यमा केही संलग्नता राखेका थियौँ ।’’ त्यो भन्दा पनि अमेरिकाले ‘‘विगतमा सद्दाम हुसेनले इरान विरुद्ध रासायनिक हतियार प्रयोग गर्दा समर्थन नै गरेको थियो’’ भनी उहाँले भन्नुभएको छ ।

यस कारण राष्ट्रपति ओबामाका अनुसार इरानको ‘‘आफ्नै सुरक्षाका चिन्ता तथा आफ्नै बयान रहेको’’ छ । यो असाधारण अऐतिहासिक दाबी हो । यसै गरी सन् १९३८ को म्युनिख सङ्कटमा जर्मनीको आफ्नै ‘‘सुरक्षा चिन्ता तथा बयान’’ रहेको दाबी गर्नसकिन्छ । राष्ट्रपति ओबामाले अमेरिकाले शीतयुद्धको मध्यतिर मोसादेगको सरकारलाई सहयोग गर्नुपथ्र्यो वा सन् १९८० मा इरान–इराक युद्धमा अमेरिका इरानप्रति ढल्कनुपथ्र्यो भन्ने सल्लाह दिनुभएको हो त ?

यी सबै कुराले इरानसँग पारमाणविक सम्झौताप्रति राष्ट्रपति ओबामाको दृष्टिकोणका विषयमा केही महत्वपूर्ण जानकारी दिनसक्छ । यी सबै कुराका अतिरिक्त उहाँका वार्ताकारहरूले आफ्ना अगाडि भएका विभाजक यन्त्र (सेन्ट्रिफ्युज), शुद्धीकरणको स्तर, उपयोग भएका इन्धनको अवस्था, जस्ता विषयमा आशङ्का नहुने गरी निरन्तर रूपमा ध्यान दिएका थिए र यसले उनीहरूलाई सम्झौता गर्न सघाएको थियो । तर यस दृष्टिकोणको सफलताले यस क्षेत्रको भविष्यलाई पहिलेभन्दा बढी अस्पष्ट बनाएको छ ।

(सोल्मो एभिनेरी जेरुसेलम हेब्रु विश्वविद्यालयमा राजनीतिशास्त्र अध्यापन गर्नुहुन्छ र उहाँले प्रधानमन्त्री यित्झाक रबिनको कार्यकालमा इजरायलको विदेश मन्त्रालयको महानिर्देशकको रूपमा सेवा गर्नुभएको थियो । अनुवाद ः सुरेन्द्रबहादुर नेपाली, रासस)

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक