मंगलबार, असोज ६ २०७७ | Tue, September 22, 2020
नेपालको समय: २०:१४ | UK Time: 15:29

धादिङमा सुत्केरी र बिरामीको बिजोग

वीनेपाली
२०७२ साउन २ गते १९:५२

धादिङ । काखमा दुई महिनाको नानी, घर छाडेर हिँड्नु पर्दाको पीडा तर आफू बाँच्ने मात्र होइन काखको बच्चा बचाउनुपर्ने बाध्यताले गर्दा सदरमुकाम आइपुगेकी उत्तरी झर्लाङ गाविस वडा नं ८ की २७ वर्षीया कान्छी तामाङको जीवन कठिन बन्दै गएको छ ।

सदरमुकामबाट दुई दिन टाढा रहेको झर्लाङको घर भूकम्पले भत्काएपछि उनी समस्यामा परेकी हुन् । गाउँले सबैले घर छाडेर सदरमुकाम आसपासमा शिविर बनाएर बस्न आए । गाउँमाथि र तलबाट पहिरो जाने डरले गाउँले सबैले घर छाडेका हुन् । आफ्नो घरमा भएको भए घरमा केही अन्नपात थियो । लगाउने लुगा र ओड्ने ओछ्याउने सामान थियो तर जब गाउँलेले घर छाडेर सदरमुकाम आए, उनी पनि सदरमुकाम छेउका शिविरमा बस्नका लागि आइन् ।

गाउँलेले छाडेर आएपछि उनी चार दिन लगाएर शिविरमा आइपुग्दा उनका लागि खानेकुरा थिएन । आफूले लगाएको भन्दा बढी केही थिएन । एउटा त्रिपालमुनि बस्न नपाएपछि उनी एक जना आफन्तको बास माग्न पुगिन् । एक दुई दिन बसेपछि आफन्तले सँधै बस्न नदिएपछि उनले बस्ने ठाउँ पाइनन् तर शिविरमा बस्न पाउने आशाले उनी फेरि क्याम्पमा फर्किन् । खाने समस्याले गर्दा ज्याला गरेर खानका लागि सदरमुकाममा बालुवा बोक्न पुगेकी सुत्केरी तामाङ बालुवाको भारी बोक्दा धेरै रगत बगेर काम गर्न नसक्ने भइन्, काम लगाउने साहुले कामबाट निकालिदियो ।

उनलाई खानका लागि समस्या पर्यो । शिविरमा आउने सहयोगसमेत उनले उपयोग गर्न नसक्ने अवस्था भयो । “बिरामी भएर बसेको मानिसलाई कसले सहयोग गर्छ र ?” सहयात्री समाजले सञ्चालन गरेको स्नेह केन्द्रमा आई पुगेर उनले रुँदै आफ्नो कुरा सुनाइन् । तामाङमात्र होइन सदरमुकामको वरिपरि रहेका आठ शिविरमा ५० को हाराहारीमा यस्ता सुत्केरी कष्टपूर्ण तरिकाले बसिरहेका छन् । रेडक्रस, शान्ति नेपाललगायत केही संस्थाले खानेपानी तथा सरसफाइ कार्यक्रम सञ्चालन गरेपछि जोखिममा परेका यस्ता महिलाका लागि सरकारले ध्यान पुर्याउन नसकेको महिला अधिकारकर्मी गायत्री खतिवडाको भनाइ छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक