युकेका बहुसंख्यक नेपाली एनएचएसको सेवासित असन्तुष्ट 

nhs england

लण्डन । युकेका बहुसंख्यक नेपालीहरु बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)बाट असन्तुष्ट रहेको पाइएको छ ।

युके नेपाल मैत्री समाजले बेलायतको बिग लटरी फण्डको आर्थिक तथा बोर्नमाउथ विश्वविद्यालयको नैतिक सहयोगमा गरेको सर्भेक्षणले सो खुलासा गरेको हो ।
अनुसन्धानको विहीबार सार्वजनिक गरिएको नतिजा अनुसार सर्भेक्षणमा सहभागीमध्ये ४९ प्रतिशतले मात्र एनएचएससितको अनुभव सन्तोषप्रद भएको बताए । जसअनुसार ५१ प्रतिशत एनएचएसबाट सन्तुष्ट छैनन् ।
अनुसन्धानका अनुसार स्वास्थ्य सेवाप्रतिको अनुभव तीतो हुनुमा कमजोर सन्देश आदानप्रदान र स्वास्थ्यसेवा प्रदायक र कर्मचारीहरुको असहयोगी प्रवृत्ति मुख्य कारण रहेको छ । अनुसन्धानले एनएचएसको इक्वेल डेलिभरी स्ट्याण्डर्ड सेवा स्थानीय तहमा कार्यान्वयन हुन र नेपाली सेवाग्राहीहरुमा प्रभावकारी रुपले लागू हुन अझै बाँकी रहेको देखाएको छ ।
अनुसन्धानका क्रममा धेरैवटा जिपी (जनरल प्राक्टिसनर्स) हरुलाई सम्पर्क गरिए पनि प्रायले कार्यब्यस्तता देखाउँदै सम्पर्कमा आएनन् ।
अंग्रेजी भाषामा कमजोरी, स्वास्थ्यसेवा र सामाजिक हेरचाहमा सबैभन्दा ठूलो बाधकको रुपमा रहेको अध्ययनले देखाएको छ । अध्ययनमा भाग लिएकामध्ये एक तिहाइमात्र अंग्रेजी भाषामा पोख्त थिए ।
अध्ययनले धेरै नेपालीहरु उच्च शिक्षाको वावजूद पनि थोरै आम्दानीमा बाँचिरहेको र त्यसले कमजोर जीवनशैलीमा बाँच्न बाध्य पार्दा उनीहरुको स्वास्थ्यमा असर परिरहेको निस्कर्ष निकालेको छ ।
धेरैजसो वृद्धावस्थाका नेपालीहरु भाडामा र अरुसित साझेदारीमा बसिरहेको र उनीहरु स्थानीय निकायले उपलब्ध गराएको आवास सुविधाप्रति असन्तुष्ट रहेको अध्ययनले देखाएको छ । सो असन्तुष्टीले वृद्धाहरुको स्वास्थ्यमा जोखिम थपेको र दीघीकालिन असर पारेको पनि अध्ययनले बताएको छ ।
अध्ययनले वृद्धावस्थाका नेपालीहरु उच्चरक्तचाप, मधुमेह, कोलेस्ट्रोल, दम, क्षयरोग लगायतबाट ग्रसित रहेको पत्ता लगाएको छ । उनीहरुलाई एनएचएसको प्रभावकारी सहयोग हुनु जरुरी रहेको अध्ययनले सिफारिस गरेको छ ।
नेपालीहरुमा आयुर्वेदिक उपचार पद्दति प्रचलित रहेको र सोको ब्यबहारिक र सुरक्षित प्रयोग बारे उनीहरुमा बलियो पारम्पारिक विश्वास रहेको अनुसन्धानले देखाएको छ ।
सर्भे ग्रीनवीच र प्लमस्टिड क्षेत्रमा गत मे महिनामा गरिएको थियो । सर्भेमा ३६० नेपालीले भाग लिएका थिए । प्रत्यक्ष अन्तरवार्ता र लक्षीत समूहसित छलफल गरी सर्भे सम्पन्न गरिएको थियो ।
नेपाली समुदायको स्वास्थ्य र जीवनस्तरलाई लक्षीत गरी गरिएको सो अध्ययनले एनएचएसलाई विभिन्न सुझावहरु पनि दिएको छ ।
अध्ययनकाे परिणाम सार्वजनिक गर्न आज एनअारएन युकेको सचिवालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मैत्री समाजका अध्यक्ष अलान स्यांका, अध्ययनका प्रमुख डा. विभा सिम्खडा, एनआरएन युकेका अध्यक्ष महेन्द्र कँडेल, एनएचएस इंग्ल्याण्ड एक्वालिटी एण्ड हेल्थ इनइक्वालिटिजका तर्फबाट डा. हबिब नक्बिभ, बोर्नमाउथ युनिभर्सिटीका प्रोफेसर इड्वीन भान तेजलिंगन लगायतले बोलेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री