शनिबार, कार्तिक ८ २०७७ | Sat, October 24, 2020
नेपालको समय: ११:२० | UK Time: 06:35

यी हुन् भूकम्पले ध्वस्त पुरातात्विक संरचना

वीनेपाली
२०७२ असार ४ गते ९:४९

Bhaktapur-Heritage-Place-3

काठमाडौँ, ४ असार । साधन र स्रोतको पर्याप्त उपलब्धता भए आगामी सात वर्षभित्र भूकम्पले ध्वस्त पारेका पुरातात्विक संरचनाको पुनःनिर्माण गर्न सकिने देखिएको छ ।

सरकारले बहुवर्षीय योजनाअनुसार रकम उपलब्ध गराए सात वर्षभित्र भूकम्पले ध्वस्त पारेको संरचनाको पुनःनिर्माण हुनसक्ने पुरातत्व विभागले जनाएको छ ।

लिच्छविकालीन, मल्लकालीन समयका पुरातात्विक महत्वका भौतिक संरचना ध्वस्त भएकोमा रु ११ अर्बबराबरको भौतिक संरचना क्षति भएको व्यवस्थापिका–संसद्को विकास समितिमा पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए ।

उहाँका अनुसार चालु आर्थिक वर्षमा खर्च हुन बाँकी रहेको रु १७ करोड ५० लाख रकम पुनःनिर्माणमा खर्च गरिनेछ । “विभागले पहिलो चरणमा भूकम्पले ध्वस्त पारेका संरचना निर्माणका लागि डिजाइन, लागत अनुमान गर्नेतर्फ ध्यान दिएको छ । पुरातात्विक महत्वका संरचना निर्माणका लागि सरकार, निजी क्षेत्र तथा अन्य सरोकार भएका निकाय सबैको साथ र सहयोग अत्यावश्यक छ”, दाहालले भने ।

व्यावसायिक घरानाले सहयोग गर्ने

विभागको आग्रहमा निजी क्षेत्रका बैंक तथा अन्य व्यावसायिक घरानाले पनि वर्षाकालभरिका लागि सुरक्षा दिनका लागि पाल तथा जस्तापाता उपलब्ध गराउन थालेको छ । व्यावसायिक संस्थाको प्रचारप्रसार पनि हुने भएकाले उनीहरुले भक्तपुर र ललितपुरका पुरातात्विक महत्वका क्षेत्रमा पाल तथा जस्तापाता उपलब्ध गराएको तथा सुरक्षात्मक उपाय अवलम्बन गरेका छन् ।

चिल्लो इँटाको जोहो हुँदै

पुरातात्विक महत्वका संरचना निर्माण गर्दा चिल्लो खालको इँटा आवश्यक पर्ने भएकाले सोको जोहो गर्न आवश्यक पहल गरिएको छ । चिल्लो इँटा बनाउने भक्तपुर र ललितपुरका इँटाभट्टामा हाल दुई लाख ५० हजार इँटा मौज्दात रहेको छ । कारखानाले थप इँटा बनाउने वचनसमेत विभागलाई दिएको छ । हेर्दा चिनियाँ इँटा जस्तो देखिने इँटा ऐतिहासिक तथा सांस्कृतिक सम्पदा पुनःनिर्माणका लागि प्रयोग गरिन्छ ।

विभागले वन तथा भूसंरक्षण मन्त्रालयलाई चारकोसे झाडीमा ढलेका सखुवाको काठ उपलब्ध गराउन आग्रह गरेको छ । वन मन्त्रालयले तत्कालै दुई लाख ५० हजार क्युबिक फिट काठ उपलब्ध गराउने वचन दिएको महानिर्देशक दाहालको भनाइ छ । क्षतिग्रस्त संरचना निर्माणका लागि करिब रु एक अर्ब ८२ करोडबराबरको काठ आवश्यक पर्ने विभागको अनुमान छ ।

जनशक्तिको समस्या छैन

पुरातात्विक तथा ऐतिहासिक महत्वका संरचना तयार पार्नका लागि जनशक्तिको अभाव नहुने विभागको भनाइ छ । ललितपुरको बुङमति, पाटन, भँैसेपाटीलगायतका क्षेत्रमा काष्ठकलामा पोख्त जनशक्ति विभागको सम्पर्कमा आएको महानिर्देशक दाहालले जानकारी दिए । “परम्परागत रुपमा काम गरिरहेका कालीगढले काम गर्न इच्छा देखाएका छन् । पूर्वसचिव किशोर थापाको नेतृत्वको टोलीले पनि विभागसँग मिलेर काम गर्न चाहेका छन्”, महानिर्देशक दाहाल बताउंछन् ।

वास्तुअनुसार मिलाउनुपर्ने र भावी सन्ततिलाई जस्ताकोतस्तै प्रदान गर्नका लागि नेपाली कालीगढ नै सक्षम रहेको र काम गरिरहेका कालीगढले अरुलाई तालिम दिएर पनि काम गराउन सकिने विभागको भनाइ छ ।

पुनःनिर्माणका लागि देशी तथा विदेशी संस्कृतिविदलेसमेत मिलेर काम गर्न इच्छा व्यक्त गरेका छन् । काठमाडौँ महानगरपालिका, जापानी सहयोगी संस्था तथा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले समेत पुनःनिर्माणमा चासो देखाएका छन् । विश्वसम्पदा सूचीमा परेका ती क्षेत्रको आफ्नोपनलाई कायम नै राखी पुनःनिर्माण गरिनेछ ।

व्यवस्थापिका–संसद् मातहतको विकास समितिका सभापति रवीन्द्र अधिकारी ऐतिहासिक तथा पुरातात्विक क्षेत्र निर्माण गर्न कुनै पनि हालतमा रकमको अभाव हुन नदिने बताउंछन् । सो समितिमा यो विषयमा पटक–पटक छलफल भएको उल्लेख गर्दै उनले भने, “सरकार र निजी क्षेत्रको सहयोगमा पूर्ववत् अवस्थामा सम्पदा फर्काउन आवश्यक पहल तथा सहयोग गरिनेछ ।”

कुन–कुन संरचनामा क्षति पुग्यो ?

भूकम्पले मध्यकालीन वास्तुकलामा प्रसिद्ध हनुमानढोका दरबारभित्र लगभग ९० प्रतिशत सम्पदा ध्वस्त भएको र १६औँ र १७औँ शताब्दीका माजुदेग, त्रैलोक्यमोहन, काष्ठमण्डप, विष्णु मन्दिर र कृष्ण मन्दिर ध्वस्त बनेका छन् ।

हनुमानढोका दरबार सङ्ग्रहालय, दरबारहेरचाह अड्डाका कार्यालय प्रमुख सरस्वती सिंहका अनुसार दरबार क्षेत्रभित्रका मोहनकाली चोक र सुन्दरी चोकतर्फका सम्पूर्ण भाग भत्केका छन् ।

नासल चोकको पश्चिम दक्षिण लोंह चोकको केही भाग भत्केको छ । यसभित्रका भक्तपुर र काठमाडौँ टावर पूर्णरुपमा भत्केका छन् । ललितपुर र कीर्तिपुर टावर आंशिक भत्केका छन् । पाटन दरबार क्षेत्रका सत्रौँ शताब्दीदेखिका कला र सांस्कृतिक सम्पदाले भरिएका चारनारायण, शङ्करनारायण मन्दिर र मणिमण्डप ध्वस्त भए ।

स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय, पाटनका प्रमुख निरन राजवंशीले पाटनमा प्रस्तरकलाका अनुपमस्थल कृष्ण मन्दिर र राधाकृष्ण मन्दिर नाजुक अवस्थामा पुगेको जानकारी गराए । हरिशङ्कर मन्दिर, चारनारायण मन्दिर, मच्छिन्द्रनाथको जात्राका लागि साइत निकाल्ने पाटी (सोह्रखुट्टे पाटी) ध्वस्त भए ।

ऐतिहासिक दृष्टिकोणबाट मात्र नभई सांस्कृतिक, प्राचीन शिल्पकला एवम् हस्तकलाको विशिष्ट स्थानका रुपमा ख्यातिप्राप्त भक्तपुर दरबार क्षेत्रलाई पनि भूकम्पले बाँकी राखेन ।

भक्तपुर दरबार क्षेत्रका वत्सला, केदारनाथ मन्दिर, तवसत्तल, पूर्वेश्वर महादेव, शिव मन्दिर, शिलु महादेव, भैरवनाथको पाटी र लालबैठक नष्ट भएका छन् । अन्य संरचना आंशिकरुपमा क्षतिग्रस्त छन् । दरबार क्षेत्रका अतिरिक्त काठमाडौँको स्वयम्भूस्थित अनन्तपुर, कर्मराज महाविहार, देवधर्म महाविहार र तिब्बती छोर्तेन क्षतिग्रस्त छन् । पुरातात्विक महत्वका हयगृब भैरवमन्दिर, बुङमतिको रातो मच्छिन्द्रनाथको मन्दिर र बनेपाको चण्डेश्वरी मन्दिरमा पनि क्षति पुगेको छ ।

भूकम्पबाट हालसम्म क्षतिग्रस्त ५८१ सम्पदामध्ये पूर्ण क्षतिग्रस्त सम्पदा १३७, आंशिक र सामान्य क्षति भएका सम्पदाको सङ्ख्या ४४४ रहेका छन् । प्रारम्भिक विवरणअनुसार क्षतिग्रस्त सम्पदामा काठमाडौँमा १९७ (पूर्णक्षति ३५), ललितपुर ७० (पूर्ण १५), भक्तपुर ४२ (पूर्ण १५), दोलखा ३४ (पूर्ण १०), गोरखा ३५ (पूर्ण १५), धादिङ १८ (पूर्ण तीन), काभ्रेपलाञ्चोक ३७ (पूर्ण १०) लम्जुङ ३० (पूर्ण पाँच), मुस्ताङ २३ (पूर्ण पाँच) नुवाकोट २२ (पूर्ण आठ), तनहुँ २८ (पूर्ण आठ), सिन्धुपाल्चोक १८(पूर्णक्षति आठ) रहेका छन् । त्यस्तै, रामेछाप १०, रसुवा सात, सिन्धुली एक, मकवानपुर दुई र धनुषामा एक सम्पदा क्षतिग्रस्त छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक