ताप्लेजुङ समाज युकेले ताप्लेजुङ अस्पताललाई ल्याव संचालनका लागि भवन र सोलार दिने

ताप्लेजुङ समाजले निर्माण गर्न लागेको भवनको डिजाइन

ताप्लेजुङ समाजले निर्माण गर्न लागेको भवनको डिजाइन

लण्डन । ताप्लेजुङ समाज युकेले ताप्लेजुङ जिल्ला अस्पताललाई ल्याब सञ्चालनका लागि भवन निर्माण गरिदिने भएको छ ।
यस्तै, समाजले ल्यावमा अत्यावश्यक उपकरणहरु संचालनका लागि सोलार पनि जडान गरिदिने भएको छ ।
समाजले अस्पताललाई सहयोग गर्न गठन गरेको परियोजनाका टोली नेता रिटायर्ड मेजर भवानी पन्धाक र परियोजनाका परिकल्पनाकार तथा समाजका पूर्व अध्यक्ष डा. चन्द्र लक्सम्बा हालै ताप्लेजुङ पुगी सो भवनको शिलान्यास गराएका हुन् ।
ताप्लेजुङ सदरमुकाम फुङलिङमा अवस्थित जिल्ला अस्पताल हातामा निर्माण हुने दुईकोठे सो भवनमा ल्याब र फार्मेसी रहने डा. लक्सम्बाले जानकारी दिए । भवनको लागत करिब १५ लाख रुपियाँ रहने बताइएको छ ।
यस्तै, हाल नियमित विद्युत आपूर्ति नहुँदा रक्त परीक्षण, एक्स रे जस्ता आधारभूत सेवा पनि नियमित हुन नसकेको स्थानियबासीको गुनासो सुनेपछि समाजले करिब साढे छ लाख रुपियाँको लागतमा सोलार जडान गरिदिने भएको छ ।
समाजले भवन शिलान्यास गर्नअघि काठमाडौँमा रहेको ताप्लेजुङ सरोकार समाज र ताप्लेजुङ सदरमुकाममा रहेका सर्वदलिय प्रतिनिधिहरु, नागरिक समाज, प्रमुख जिल्ला अधिकारी, अस्पताल विकास समिति र सरकारी कार्यालयका प्रमुखहरुसित अन्तर्क्रिया गरेको थियो ।

ताप्लेजुङ सदरमुकाममा आयोजित अन्तर्क्रियामा बोल्दै प्रोजेक्ट लिडर भुवानी पन्धाक

ताप्लेजुङ सदरमुकाममा आयोजित अन्तर्क्रियामा बोल्दै प्रोजेक्ट लिडर भुवानी पन्धाक

प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौलाको अध्यक्षतामा भएको सो अन्तर्क्रियामा समाजका तर्फबाट डा. लक्सम्बाले सो भवन बेलायतमा रहेका ताप्लेजुङबासी र ताप्लेजुङबीचको सम्बन्धको विन्दू भएको र सोको दिगो ब्यवस्थापन र सदुपयोग स्थानियबासीले गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा उपस्थित सबैले समाजलाई धन्यवाद दिँदै समाजले दिएको उपहारको संरक्षण र सदुपयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
सो भवनको उद्घाटन अागामी डिसेम्बरमा हुने योजना छ ।
समाजले स्थानियस्तरमा संयोजनका लागि जिल्ला रेडक्रसका अध्यक्ष गणेश अधिकारलाई फिल्ड डाइरेक्टर र जिल्ला वेलफेयर अफिसका वेलफेयर अफिसर जीवन मादेनलाई आर्थिक डाइरेक्टर नियुक्त गरेको छ ।
समाजले हरेक वर्ष १० हजार पाउण्ड संकलन हुने गरी युकेमा च्यारिटी कार्यक्रम गरी ताप्लेजुङको शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने लक्ष्य राखेको छ ।
भविष्यमा अन्य स्वास्थ्य सम्बन्धी परियोजनाहरु पनि लैजाने डा. लक्सम्बाले जानकारी दिए ।

अन्तर्क्रियामा बोल्दै डा चन्द्र लक्सम्बा

अन्तर्क्रियामा बोल्दै डा चन्द्र लक्सम्बा

अग्निपीडितलाई सहयोग
ताप्लेजुङ सदरमुकाम फुङलिङको तोक्मे डाँडामा केही साताअघि भएको आगलागीमा पीडितहरुलाई सहयोग गर्न समाजले राहत संकलन कार्यक्रम अगाडि बढाएको छ ।
समाजका सचिव खेमराज मादेनको संयोजकत्वमा समाजले एक समिति गठन गरी राहत संकलन कार्यक्रमलाई तीव्र बनाएको छ ।
यसैबीच, आगलागीको स्थलगत निरीक्षण गरेर फर्केका डा. लक्सम्बाको टोलीले समाजलाई प्रतिवेदन बुझाउँदै छ । आगलागी पीडितलाई राहत सँगसैगै पटकपटक हुने आगलागीको समस्या निराकरण र नियन्त्रण गर्न जनचेतना फैलाउन आवश्यक रहेको डा. लक्सम्बाले बताए ।
यसका लागि सुनसरीमा रहेको ताप्लेजुङबासीहरु, काठमाडौँमा रहेका ताप्लेजुङबासीहरु र युकेमा रहेका ताप्लेजुङबासीहरु मिलेर अध्ययन गर्ने निस्कर्ष निकालिएको पनि उनले बताए ।

‘सामान्य फायर ब्लाङकेट दिने र त्यसको प्रयोगको तरिका सिकाइदिने हो भने भविष्यमा अागलागीका घटना कम गर्न सकिने रहेछ’ – उनले भने ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री