पत्रकार रविन्द्र मिश्रको कविता पढेपछि

Rabindra Mishra book cover

तस्वीर : एजेन्सीबाट

 

आज बिहानै उठेर रविन्द्र मिश्रका कविता पढ्ने जाँगर लाग्यो । नेपालबाट फर्केको तीन हप्तासम्म कुनै पुस्तक वा पत्र पत्रिका पढ्ने जाँगर लागेको थिएन । तर आज बिहान चारबजे निद खुलेपछि भने छ्यांग भयो मनस्थिति र शरीर दुवैले अनौठो बहार आएको महसुस गरेपछि पुस्तक लिएर बसिहालें ।
उनका कविताहरुको समीक्षा वा कविताका प्रसंगमा मैले यहाँ धेरै लेख्नु आवश्यक ठान्दिनँ किनभने कवि तथा निबन्धकार मन्जुल, कवि सनतकुमार वस्ती, उपन्यासकार बुद्धिसागर र कवि नवराज लम्सालले यसबारे टिप्पणी लेखिसकेका छन् । जुन पुस्तकको गाताको पछिल्लो भागमा पढ्न सकिन्छ । तर पनि एउटा कुरा चाहिँ लेख्नैपर्ने के छ भने जम्माजम्मी ५४ वटा कविताहरु खाँदिएको उक्त पुस्तकलाई तीन भागमा विभाजन गरिएको छ । जसमा आठवटा कविताहरु पाकिस्तानको लाहोरमा लेखिएका छन् भने २३ वटा कविता लण्डन  र २३ वटै काठमाडौँमा ।

शशी पौडेल

शशी पौडेल

समग्र कविताहरु पढ्दा मानवता, राष्ट्रियता, सहयोगी भावना र उपकार गर्नु नै जीवनको सार्थकता हो भन्ने कुरामा बल दिएको पाइन्छ । कविताको प्रसंगमा कुरा गर्दा थुप्रै मानिसहरुले कविता लेख्न के हो र ? साहित्यका सबै विधामध्ये कविता विधा सबभन्दा सजिलो विधा हो भन्ने धारणा राखेको पाइन्छ । तर मेरो विचारमा एउटा कविता बुन्न सामान्य अन्य गन्थन लेख्न भन्दा निकै गाह्रो हुन्छ । सतहमा बसेर मेरा बाबा यस्तो, मेरा दाजु उस्तो, फलानाले फलानीलाई यसरी मायाँजालमा फँसाएर, भागेर, आमा बाबुलाई रुवाबासी गराए भनेर फलाक्नु भन्दा कल्पनाको सागरमा डुबेर यथार्थ कुरा ओकल्नु नितान्त कठिन कुरा हो । अझ त्यसमा पनि हरेक वाक्य  वाक्यमा एउटा न एउटा सन्देश दिने क्षमता राख्नु कम कठिन कुरा होइन । त्यो कठिन काम रविन्द्र मिश्रले गरेका छन् । यो कविता संग्रहलाई कभर पृष्ठमा बालिएको दियो जस्तै नेपाली समाजको चेतनाको दियो बाल्ने प्रयत्नका रुपमा लिँदा अन्यथा हुने छैन ।
अब प्रश्न रह्यो हामी नेपालीहरुमा पुस्तक पढ्ने संस्कार । त्यसमा पनि हामी विदेशमा रहेका नेपालीहरुमा । मैले बेलायतमा भोगेको एउटा अनुभव यहाँ पाठकहरु सामु पस्कन मनलाग्यो । अनुभव यसप्रकार छ ः घटना २००४ साल जुलाइ महिनाको हो । मलाई कताकता लण्डन बसाइ सर्न मन लाग्यो र त्यहाँ कसरी बस्न सकिन्छ ? कामधन्दा पाइन्छ कि पाइँदैन ? भनेर बुझ्ने बिचारले घुम्न गएंँ । लण्डनको दक्षिणतिर पर्ने अल्डरसट भन्ने ठाँउमा बस्ने एकजना मेरा परिचित मित्रले त्यही अल्डरसटमै एउटा नेपाली मित्रले राखेको पसलमा पुर्याए । त्यतिबेलै त्यहाँ मित्र हरिहर पोखरेल र दीपक न्यौपानेको सक्रियतामा एउटा ‘गोर्खा मिरर’ नामक साप्ताहिक पत्रिकाको प्रकाशन सुरु भएको रहेछ । उक्त खुद्रा पसल पनि दीपक न्यौपानेकै रहेछ । त्यहाँ गोर्खा मिरर पनि झुण्ड्याइएको थियो । मैले एउटा हातमा लिंएँ र त्यसको मूल्य पचास पेन्स तिरेर पढ्न सुरु गरें । यसैबीच एकजना प्रबुद्ध जस्तो देखिने सुट र टाइमा सजिएका ब्यक्ति पसल भित्र छिरे र पत्रिका हातमा लिएर पढ्न सुरु गरे । लगभग आधाघण्टा पत्रिका पढेपछि उनले एउटा जोनिवाकर रेड लेवल ह्विस्की किने । सो हुस्कीको मूल्य साढे उन्नाइस पौण्ड रहेछ । उनले बीस पौण्डको नोट दिए । दीपकजीले पचास पेन्स फिर्ता गर्नलाग्दा मैले भने ‘दिपकजी हिसाब किताब त मिलिहाल्यो नि उहाँले एउटा पत्रिका लिएर जानु भए भैगोनी जसले नेपालीको मेहनतको कदर हुने र बेलायतमा बस्ने नेपालीहरुलाई नेपाल र बेलायतका समाचारहरु नेपाली भाषामा सहज उपलब्ध गराउन सघाउ पनि पुग्ने छ  नत्र पत्र पत्रिकाहरुलाई बाँच्न गाहारो पर्छ ।’ त्यतिखेर ती ह्विस्की किन्ने ग्राहकले भने “होइन, होइन त्यो पचास पेन्समा अरु उन्नाइस पौण्ड थपेपछि अर्को पटक ह्विस्की किन्न पुग्छ” भन्दै आफूले समग्र पढेको पत्रिका त्यहीँ नपट्याइकन फालेर हिँडे ।

लेखकका नियमित विचारहरु www.theglobal.co.uk  मा पढ्न सक्नुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री