बेलायतबासी गीतकारको गीति एल्बम ‘परदेशीको दिन’ विमोचित

11169529_832497533483714_1098248777641209128_o

काठमाडौँ । बेलायतमा बस्दै आएका गीतकार इखमान पुनमगरको गीतिएल्बम ‘परदेशीको दिन’ हालै विमोचन भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा लोकप्रिय कवि एवं गीतका श्रवण मुकारुङले सो एल्बमको विमोचन गरेका थिए ।

विमोचित कृतिका बारेमा समीक्षा गर्दै सङ्गीतकार तथा संस्कृतिविद् बुलु मुकारुङले विदेशमा कर्म गरिरहेकाहरुमा  नेपालका विभिन्न क्षेत्रमा सेवा गर्ने व्यक्तिहरूको सेवा भाव विकास हुँदै आएकोमा खुसी लागेको बताए ।  रुकुमको श्री प्राथमिक विद्यालयको भौतिक पूर्वाधार र सोही ठाउँको बुद्ध मूर्ति निर्माणमा खर्च जुटाउनका लागि एल्बम निकालेकोमा गीतकार इखमान पुनमगरको कार्य सफलताको कामना गर्दै मुकारुङले सोही काममा थोरै भए पनि सहयोग पुगोस् भनेर कार्यक्रमदेखि नै यो कार्यको सुरुवात गरी रु. १० हजार आर्थिक सहयोग हस्तान्तरण गरे ।

कार्यक्रमका प्रमुख अतिथि श्रवण मुकारुङले आफूले ३२ वर्षको गीति लेखनयात्रामा धेरै आरोहअवरोह पार गरेको र यसै क्रममा गीतकार इखमान पुनमगरको गीति एल्बमका गीतहरूका बारेमा बोल्ने अवसर जुटेकोमा खुसी व्यक्त गरे ।  विदेशमा बस्ने नेपाली श्रष्टाले सधैँ देश र समाजको प्रतिविम्ब उतारेको भन्दै मुकारुङले गीतकार इखमानले पनि यही कार्यमा सफलता प्राप्त गरेको कुरा उल्लेख गरे ।

सङ्गीतकार सन्तोष श्रेष्ठले एल्बमको समीक्षा गर्दै रुकुम जन्मथलो भएका गीतकारहरूबाट आधुनिक गीति एल्बम नआएको र यो एल्बम नै पहिलो र ऐतिहासिक एल्बम भएको बताए ।

कला अनुरागीको सहजीकरण रहेको सो कार्यक्रममा सङ्गीतकार अविदको शुभकामना मन्तव्य रहेको थियो । सुरप्रभा गीतसङ्गीत प्रा.लि.का अध्यक्ष गीतकार भावेश भुमरी सभापति रहेको कार्यक्रममा भुमरीले नै एल्बम निर्माणको संयोजन गरेका थिए ।

कार्यक्रममा गीतकार इखमान पुनमगरले भने, “म अहिले मेरो जन्मभूमि नेपालमा यहाँहरूको साथमा छु र लगभग २२ वर्षको विदेशको सेवामा मैले व्यक्तिगत रूपले जे गरेँ ती सबै आज मेरा लागि गौण बनिदिएका छन् । यिनै कारण आज म हर्षले गदगद छु । मैले विदेशको कामका क्रममा अनुभूत भएका कुराहरूलाई कहीँ गीत त कहीँ कविताका रूपमा लिपिबद्ध गर्दै रहेँ । यसरी लिपिबद्ध गरेका गीतहरूलाई बजारमा ल्याउन मन लाग्यो र यसैबाट मेरो जन्मथलो रुकुमको गुनामस्थित श्री प्राथमिक विद्यालयको भौतिक सुधारमा थोरै सामाजिक काम गर्ने सपनालाई साकार बनाउने बाटोतिर लाग्न पनि मन लाग्यो ।”

कार्यक्रमा एल्बममा कार्य गरेका सबै सदस्यहरूलाई मायाको चिनो वितरण गरिएको थियो भने सबै गीतको स्थायी श्रवणसहित एल्बमको एक गीतको भिडियो पनि देखाइएको थियो । आफ्नै गाउँ रुकुमको गुनामलाई समेटेको ‘रुकुम सिस्ने काखैमा भेरी सलल’ गीतको भिडियो सुरेश थापाले निर्देशन गरेका हुन् भने सुशीला थापा र देव आलेले नायिका र नायकको भूमिका निर्वाह गरेका छन् । गीतमा सन्तोष श्रेष्ठको सङ्गीत तथा कृष्णभक्त राई र बानिका प्रधानको स्वर रहेको छ ।

दिनेश सुब्बा, बुलु मुकारुङ, सन्तोष श्रेष्ठ अविद र रोशनराज गुरुङको सङ्गीत रहेको यस एल्बममा रिमा गुरुङ होडा, मनोजराज, स्वरुपराज आचार्य, अन्जु पन्त, कृष्णभक्त राई, कर्मग्याल्छेन बमजन, मिलन अमात्य र बानिका प्रधानको स्वर रहेको छ भने नोर्बु शेर्पा, विष्णु अधिकारी, बबीराज घतानी, कुमार थापा, सञ्जिव बराली र झलक सङ्गीतमको सङ्गीत संयोजन रहेको छ ।

11134168_832498543483613_6352305569228087947_o

प्रतिक्रिया

सम्बन्धित सामाग्री