बुधबार, मंसिर १० २०७७ | Wed, November 25, 2020
नेपालको समय: १९:२५ | UK Time: 13:40

एनआरएनए युकेमा तनावबीच महेन्द्र कँडेल अध्यक्ष, कार्यक्रमस्थलमा छिरे प्रहरी

वीनेपाली
२०७१ फागुन ९ गते २२:४१
महासचिव पन्तलाई सम्बोधन गर्नबाट यसरी रोकिएको थियो

महासचिव पन्तलाई सम्बोधन गर्नबाट यसरी रोकिएको थियो

लण्डन । डेढ वर्षदेखि विवादको भुँवरीमा पर्दै आएको गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेको शनिबार भएको विशेष साधारणसभाले महेन्द्र कँडेललाई अध्यक्ष घोषणा गरेको छ ।
एनआरएनए आइसिसीका महासचिव कुमार पन्तले एनआरएनए आइसिसीको निर्णय र आइसिसीले गठन गरेको छानविन समितिको सुझावअनुसार आजदेखि महेन्द्र कँडेल एनआरएनए युकेको अध्यक्ष कायम रहेको घोषणा गरे ।
आइसिसीले योगेन्द्र क्षेत्रीको कार्यसमितिलाई नेतृत्व हस्तान्तरणका लागि विशेष साधारणसभा डाक्न लगाए पनि सौहार्द्धपूर्ण वातावरणमा नेतृत्व हस्तान्तरण भने हुन सकेन ।
नयाँ नेतृत्वलाई बधाई दिन मञ्चमा बोलाइएका महासचिव पन्तलाई क्षेत्री पक्षधरहरुले घेराबन्दी, होहल्ला र माइक खोसेर सम्बोधन गर्न अवरोध गरेका थिए । कार्यक्रम चल्दाचल्दै यसअघि पनि सोही समूहले पटकपटक माइक खोस्ने, होहल्ला गर्ने गरेको थियो ।
कार्यक्रमस्थल युकेको अल्डरसटस्थित कन्नट स्कुलमा राति करिब १० बजे दुईवटा सवारीसाधनमा आएका प्रहरीहरु प्रवेश गरी होहल्ला गर्ने समूहलाई तितरवितर पारेपछि पन्तले छोटो शुभकामना र बधाई मन्तब्य दिँदै महेन्द्र कँडेल आजबाट अध्यक्ष भएको घोषणा गरे । विशेष साधारणसभाको माहौल जे जस्तो भए पनि आइसिसी आफ्नो निर्णयमा अडिग रहने प्रतिवद्धता पनि उनले व्यक्त गरे ।
सर्वसाधारण र आइसिसीले अपेक्षा गरेअनुसार विशेष साधारणसभामा नयाँ नेतृत्वले प्रतिवद्धता व्यक्त गर्ने र उपस्थित अतिथि तथा संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना र बधाई दिने कार्यक्रम भने सौहार्द्धपूर्ण वातावरणमा हुन सकेन ।
यसअघि विशेष साधारणसभा चल्दाचल्दै बीचैमा मञ्च लिएर एनआरएनए युकेका अध्यक्ष योगेन्द्रबहादुर क्षेत्रीले पदबाट राजिनामा दिएको घोषणा गरेका थिए । आफू दुई वर्षका लागि निर्वाचित भए पनि ‘केही अग्रजहरुको अवैधानिक सोच र आर्थिक अपारदर्शिता’ भोग्नु परेको आरोप उनले लगाएका छन् । आफ्नो सोच अनुसार काम गर्न नपाएकोमा दुःख व्यक्त गर्दै उनले ‘समाजको एकता र एनआरएन आइसिसीको निर्णयलाई मान्नुपर्ने कर्तव्यका कारण’ राजिनामा दिनुपरेको उल्लेख गरेका छन् ।
‘निवर्तमान अध्यक्ष कुल आचार्यको कार्यसमितिबाट अझै पनि आर्थिक हिसाबकिताब स्पष्ट रुपमा नआएको र महेन्द्र कँडेलज्यूले बेलायतबासी हजारौँ नेपाली जनताबाट उठाएको सदस्यता शुल्कबारे पनि जनतामा अस्पष्टता’ रहेकोले छानविन गर्न उनले आइसिसीसित माग गरेका छन् ।
यसअघि कुल आचार्यकै आार्शिवादमा एनआरएन युकेको अध्यक्षमा दुलाबाट फुत्त छाएका क्षेत्री अहिले आचार्यसित खनिएका छन् । संस्था धनमा भए धन, ऋणमा भए ऋण, आसामी र साहुहरुको विवरण हस्तान्तरण गर्नुपर्नेमा उनले विशेष साधारणसभालाई इवी साँध्ने पर्वका रुपमा प्रयोग गरे । कँडेलले यसअघि आइसिसीले गठन गरेको टोलीलाई सदस्यताको विवरण र शुल्क हस्तान्तरण गरिसकेकोमा उनले त्यसमाथि पनि अविश्वास जनाउँदै विषवमन गर्न बाँकी राखेनन् ।
यसैगरी, संस्था विधि विधानअनुसार नचलेको भन्दै क्षेत्री पक्षका महासचिव योगकुमार फगामी र सचिव संगीता मरहट्ठाले पनि एकपछि अर्को गर्दै पदबाट राजिनामा दिएका छन् ।
क्षेत्री, फगामी र मरहट्ठाले राजिनामा दिएपछि अध्यक्ष मण्डलका संयोजक भक्त गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।
11009040_10153114558726197_465917029_n

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक