
लण्डनको पशुपति मन्दिरमा मनाइयो शिवरात्री
लण्डन । बेलायतमा नेपालीहरुद्वारा स्थापित पहिलो नेपाली मन्दिर पशुपतिनाथ मन्दिर प्लम्स्टिडमा हिन्दुहरुको महान पर्व शिवरात्री विशेष पूजाआजासहित भब्य रुपमा मनाइएको छ ।
साउथ लण्डनस्थित मन्दिर परिसरमा बिहान ७ बजेदेखि नै स्थानिय नेपाली समुदायका भक्तालुहरुको घुईचो लागेको थियो ।
पण्डितद्वय निलहरी घिमिरे तथा विनोद पन्थीद्वारा रुद्राभिषेक सहितको पूजा प्रारम्भपछि दिनभरि नै पूजाआजा निरन्तर संचालन गरिएको थियो । प्रात, मध्यान्ह र सन्ध्यामा गरी तीन पटक पूजा सहितको विशेष आरती सम्पन्न भएको थियो । बीचबिचमा शिव महिमाको सत्संग र भजन किर्तन पनि गरिएको थियो भने साँझको आरति पछिको भजन किर्तनमा भक्तालुहरु नाचगानमा झुमेका देखिन्थे ।
मन्दिर संचालन समितिका अध्यक्ष होम शर्माले बिहान ७ बजेदेखि राति अबेरसम्म सयकडौ दर्शनार्थीहरु सहभागी भएको जानकारी दिए । “अहिलेको भवनको सुरक्षा प्रवन्ध सहितको केही मर्मतसम्भारसंगै पूजा हलको बिस्तार गर्नाले ठूलो संख्यामा भक्तजनहरुलाई एकै समयमा पनि स्वागत गर्न सकियो”, उनले भने ।
यस अवसरमा मन्दिर समितिका पदाधिकारीका साथै स्थानीय समाजसेवी, ब्यवसायी लगायतका सर्वसाधारणहरु स्वयम् व्यवस्थापनमा खटेका थिए ।
विश्वभरका हिन्दुहरुले विशेष रुपमा भगवान शिवको पूजा आराधना एवम् उपवास गरेर मनाउने गरेको महाशिवरात्री पर्व बेलायतका नेपाली बस्ती भएका अन्य क्षेत्र अल्डरसट, बर्मिङ्घम , वेम्ली लगायतका स्थानका स्थानीय मन्दिरहरुमा पनि भब्य रुपमा सम्पन्न भएको बताइएको छ ।
बेलायतका नेपालीहरूले शिवरात्रिको शुभकामना तथा आफ्ना धार्मिक गतिविधिहरु फेशबुक लगायतका सामाजिक संजालमा पनि उल्लेख्य रुपमा छरपस्ट पारेका थिए ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
- बेलायत र युरोपियन युनियनबीच सहमति