बेलायतमा मगर दिवस, हजारौं मगरहरु एकै ठाउँमा भेला हुने 

photo_0150480022isugyb
लण्डन । बेलायतभरि छरिएर रहेका मगरहरुलाई एकीकृत तथा संगठित गर्दै अघि बढी रहेको संस्था मगर संघ युकेले ऐतिहासिक फागुन १५ गते मगर एकता तथा स्थापना दिवस (३३औ मगर दिवस) यही  २८ फेब्रुअरीको दिनमा रेडिंग रिभरमेड लेजर कमप्लेक्समा एक समारोहका बिच आयोजना गर्ने भएको छ ।
नेपालका आदिवासी जनजातिहरुमध्ये सबैभन्दा धेरै संख्यामा रहेका मगर जाति आफ्नै मौलिक संस्कार, धर्म, बहुसंस्कृति, बहुकला र बहुभाषा बोकेको जाति हो । ऐतिहासिक फागुन १५ गते मगर एकता दिवसको अवसरमा नेपालबाट बेलायतमा आएका मगरहरुको बहुसाँस्कृतिक र बहुकलाको प्रदर्शन हेर्नुको लागि बेलायतभरि छरिएर रहेका हजारभन्दा बढी मगरहरु भेला हुने विश्वार मगर संघले युकेले लिएको छ ।
समारोहमा भाग लिनेहरुको यातायातको सुबिधाको लागि  बेलायतका विभिन्न शहरबाट कार्यक्रमस्थलसम्म आउनको लागि बसको ब्यबस्था गरिएको मगर दिवसका संयोजक एवं संघका उपाध्यक्ष नेम थापा मगरले जानकारी दिए ।
कार्यक्रममा पूर्वी नेपालका मगरहरुको हुर्रा नाच, पाल्पा जिल्लामा नाचिने झ्याउरे नाच, तनहूँ जिल्लामा नाचिने कौडा नाच, लुम्बिनी र गण्डकी क्षेत्रमा नाचिने घाँटु, सालैजो,  सोरठी र ठाडो भाका, बाग्लुङ्ग क्षेत्र मा नाचिने नचरी, म्याग्दीमा नाचिने पुर्खेउली र नेपालको पश्चिम राप्ती अंचलतिर नाचिने भूमे नांचको तयारी विभिन्न शाखाहरुले गरिरहेको संघका साँस्कृतिक सचिव अनिता राना मगरले बताइन् ।
नेपालको भौगोलिक बनावटको कारणले मगरहरुको बहुभेषभूषा र बहुभाषा रहेको छ ।  मगर संघको मूल उद्देस्य मगरको पहिचान भाषा, धर्म, लिपि, भेषभूषा, चाडपर्व , संस्कार संस्कृतिको संरक्षण गर्नु भएकोले  मगर दिवसको अवसरमा मगरको भेषभूषा र मगर भाषाको जगेर्नाको लागि मगर भाषामा परिचय दिने कार्यक्रम र भेषभूषाको प्रदर्शन राखी यसको जगेर्ना गर्नको लागि सानो प्रस्तुतीकरण राखिएको संघकी उपाध्यक्ष हिमाली राना मगरले बताइन् ।
निरकुश राणा शासनका संस्थापक जंगबहादुर राणाकाे निरंकुशताका विरुद्ध पहिलो चोटी आवाज उठाउने  नेपालका प्रथम सहिद लखन थापामगरको बिषयमा मगर युवाहरुले सो दिनमा नाटक मन्चन गर्दैछन् ।
मगरहरुले बेलायतमा पनि करिब ४० हजार आफ्नो जनसंख्या रहेको दाबी गर्ने गरेका छन् ।
सो समारोहमा भाग लिन संघले बेलायतमा क्रियाशील सबै संघ संस्थाहरुलाई आमन्त्रण गरिसकेको अध्यक्ष दुत पुन मगरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री