रेष्टुरेन्ट सञ्चालकले बेहुलीलाई लेडिज ट्वाइलेटमा थुनेपछि…

sexual
लन्डन । हिजो मंगलबार बिहान लन्डन हिंउले ढाकिएर सेताम्मे थियो । लन्डनमा यसवर्ष पहिलोपटक हिउं परेकाले लन्डनवासी बिहानभर हिउंमा रमाइरहे, केही तस्विरहरु फेसबुकमा छरिन समय लागेन । एक नेपाली जोडीलाई यो मौसमको भन्दा बढ्ता खुशी अर्कै थियो । वैवाहिक सम्वन्ध गांस्ने जीवनकै ठूलो खुशी ।
ह्यारो सिभिक सेन्टरमा ३.३० को बिहे दर्तापछि नवविवाहित त्यो जोडीले  आफ्नो वैवाहिक सम्वन्ध गांसिएको खुशी साट्न निकट केही साथीहरुलाई रात्रीभोज ख्वाउने निधो गर्यो, स्थान तय भयो साउथ ह्यारोस्थित गोल्डेनसिप रेष्टुरेन्ट । नेपालीमाझ परिचित उक्त रेष्टुरेन्टको खाना स्वादिष्ट मात्र होइन, कर्मचारीको आतिथ्य समेत राम्रो हुने सुनेर त्यहां पुगे बेहुला बेहुलीसहितका अतिथीहरु । शुभकामना आदानप्रदान, खाने पिउने क्रम चलिरहंदा हल्का हिंउले चिसिएको मौसम पनि एकाएक तात्यो । खाने पिउने काम सकिएपछि बेहुला बेहुलीसहित ६ जनाको समूह घर फर्कन ‘क्याब’ समेत बोलाइसकेको थियो । यत्तिकैमा रेष्टुरेन्ट सञ्चालक सनत गुरुङले लाष्ट ड्रिङक्स् अफर गरे । कसैले सम्मानले खान अफर गर्छ भने नलिने कुरै भएन ।
पीडितले दिएको बयानका अनुसार, आगो बल्ने एउटा ‘सट’ लिने क्रममा बेहुलीको गाला पोल्न पुग्यो । साथीहरुले आइस लगाइदिए । क्याब आइसकेकाले घर जानुअघि बेहुली ट्वाइलेट जांदै थिइन् । यत्तिकैमा सञ्चालक गुरुङले छोरी म आइस लगाइदिन्छु भनेर लेडिज ट्वाइलेट छिरे र ढोका बन्द गरिदिए । आइस त के ‘किस’ पो मागेछन् उनले । एकछिन अघिसम्म छोरी छोरी भनेका उनले एक्कासी त्यस्तो ‘सेक्युअल एब्युज’ गर्न खोजेपछि ति चेली रुंदै बाहिर आइन् । बेहुलासहित अरु साथी क्याब कुरेर बाहिर बसिरहेका थिए । पछि बेहुलीले आफ्नो कुरा भनेपछि गुरुङलाई सम्झाउंदा भनाभन भयो, हातपात पनि । गुरुङले भान्सामा गएर चक्कु ल्याउंदै ति नवदम्पत्तिको समूहमाथि आक्रमण गरेको र  भान्सामा रहेका अरु कर्मचारी समेत ग्राहकमाथि जाइलागेको पीडितको दावी छ । वैवाहिक जीवनको शुरुकै दिन भएको खुशीको त्यो माहोल धेरै टिकेन ।
रेष्टुरेन्ट अब युद्ध मैदानमा परिणत भएपछि प्रहरी आइपुग्यो । प्रहरीले गुरुङलाई समातेर साउथ ह्यारो पुलिस स्टेशनमा राखेको नवदम्पत्तिका एक प्रत्यक्षदर्शी साथीले जनाएकी छिन् ।
‘म आइस लगाइदिन्छु छोरी भनेर मेरो अस्मिता लुट्न खोजियो’, ति बेहुलीको भनाइ उधृत गर्दै साथीले भनिन्, ‘रेष्टुरेन्ट सञ्चालकले नै यस्तो व्यवहार गरेपछि हामीलाई असह्य भएको छ । अब नेपाली संघसंस्थामार्फत हामी सशक्त कदम चाल्नेछौं ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री