विशेष साधारणसभा बोलाउन आनाकानी गरेपछि एनआरएनए युकेलाई आइसिसीको चेतावनीयुक्त पत्र

nrnlogo

लण्डन । एनआरएनए युकेको नेतृत्व हस्तान्तरणका लागि विशेष साधारणसभा बोलाउन आनाकानी गरेपछि एनआरएनए आइसिसीले एनआरएनए युकेलाई चेतावनीको भाषामा दोस्रो पत्र पठाएको छ ।
महासचिव कुमार पन्तले एनआरएनए युकेका महासचिव योगकुमार फगामीलाई सम्बोधन गरी पठाएको पत्रमा यो वा त्यो बहानामा नेतृत्व हस्तान्तरण प्रक्रियालाई नटार्न चेतावनी दिइएको छ ।
आइसिसीले यसअघि फगामीलाई पठाएको पत्रमा फेब्रुअरी ८ देखि २२ तारिखसम्मा नबढाइ विशेष साधारणसभा बोलाई नेतृत्व हस्तान्तरण गर्न निर्देशन दिएको थियो । बरु उल्टै आइसिसीको पत्रको जवाफमा फगामीले २८ जनवरीमा आइसिसीलाई एक पत्र लेख्दै योगेन्द्रबहादुर क्षेत्रीको नेतृत्वले पूर्वअध्यक्ष कुल आचार्यको नेतृत्वबाट केही हरहिसाब नपाएको, संरक्षक काउन्सिलका सदस्यहरुले (डमर घलेबाहेक) सदस्यतावापत ५०० पाउण्ड नबुझाएको र महेन्द्र कँडेलले सूर्य गुरुङलाई बुझाएको भनिएको सदस्यता र उम्मेदवारी शुल्क आफूहरुले नपाएको अवस्थामा विशेष साधारणसभा गर्न नसक्ने आशय व्यक्त गरेका थिए ।
फगामीको पत्रको जवाफ दिादै आइसिसीले ती विषयहरु एनआरएनए युकेको राष्ट्रिय समितिभित्रको समस्याहरु भएको र त्यहीाबाट समाधान खोज्न भनेका छन् ।
“मैले यसअघिको पत्रमा नेतृत्व हस्तान्तरणबारे आइसिसीको निर्णयका बारेमा प्रष्टसित भनिसकेको छु कृपया यो गम्भीर विषयलाई अरु कुराहरुसित जोडेर आनाकानी नगर्नुहोला । पूरा आइसिसी यो सवाल चाँडोभन्दा चाँडो समाधान भएको देख्न चाहन्छ र चनाखो भएर हेरिरहेको छ” पत्रमा भनिएको छ ।
आइसिसीको चेतावनीयुक्त पत्रमा विशेष साधारणसभा आहृवान गर्न पूर्व शर्तहरु पूरा भएको वा नभएको बारे बुझ्न आइसिसीले यसअघि नै संयन्त्र बनाइसकेको स्मरण गराइएको छ । महेन्द्र कँडेलले बुझाउने भनिएको सदस्यता र उम्मेदवारी शुल्कका बारेमा पूर्व अध्यक्ष सूर्य गुरुङलाई जिम्मेवारी दिइएको र उनले काडेलले ती शर्त पूरा गरेको आइसिसीलाई जानकारी दिइसकेको पनि पत्रमा उल्लेख छ ।
पत्रमा विशेष साधारण सभामा संरक्षक परिषद्का बारेमा विधानमा व्यवस्था गर्न, सन् २०१३ सेप्टेम्बर २९ को सहमति पालना र अनुमोदन गर्न र ३० नोभेम्बर २०१४को नेतृत्व हस्तान्तरण बारेको सुझाव पालना गर्न पुनः स्मरण गराइएको छ ।
आइसिसी अध्यक्ष शेष घले, उपाध्यक्ष भवन भट्ट, प्रवक्ता मन केसी, युरोप संयोजक अर्जुनकुमार श्रेष्ठ, कोेषाध्यक्ष बद्री केसी, महिला संयोजक रन्जु थापा, युरोप सहसंयोजक सोम सापकोटा, युकेका पूर्व अध्यक्षहरु कुल आचार्य, सूर्य गुरुंग, डमर घले र महन्त श्रेष्ठ, युके संरक्षक प्रा.डा.सूर्य सुवेदी, एनआरएनए युकेका सहअध्यक्ष महेन्द्र कँडेल, आइसिसी सल्लाहकारहरु विश्वआदर्श पण्डित र डा. हेमराज शर्मा तथा एनआरएनए युकेकी उपमहासचिव संगीता मरहठ्ठालाई पठाइएको सो इमेल एनआरएनए युकेका अध्यक्ष योगेन्द्रबहादुर क्षेत्रीलाई भने पठाइएको छैन ।
एनआरएनए युकेमा गत अधिवेसनदेखि विवाद देखिएको थियो । सो विवादलाई समाधान गर्न २९ सेप्टेम्बर २०१३ मा योगेन्द्र क्षेत्रीले पहिलो वर्ष र महेन्द्र कँडेलले दोस्रो वर्ष अध्यक्षता गर्ने सहमति भएको थियो । तर सो सहमति अनुरुप योगन्द्र क्षेत्रीले नेतृत्व हस्तान्तरण नगरेपछि समस्या पुनः चर्किएको थियो । त्यसलाई समाधान गर्न आइसिसीले कुलचन्द्र गौतमको नेतृत्वमा एक छानविन समिति गठन गरेको थियो । सो समितिको सिफारिसको आधारमा आइसिसीले विशेष साधारणसभा आहृवान गरी महेन्द्र कँडेललाई नेतृत्व हस्तान्तरण गर्न निर्देशन दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री