
ब्रहृमादेखि लिएर मृत्युबशमा पर्दै नपर्ने छ को ?
मर्नै पर्दछ चार/पाँच दिनको ढिलो र चाँडो न हो ।
आएमा बरु मृत्यु सन्मुख भइ हाँसेर नै स्वागत
गर्नेका इतिहासमा अमरता देखिन्छ है निश्चित ।।
आज मलाई कवि बदरिनाथ भट्टराईको ‘चिठी’ शीर्षक कविताका उक्त पंक्तिबाट सुरु गर्न मन लाग्यो । किनभनेे धर्म भन्ने यस्तो संवेदनशील विषय हो कि जसको न फेंद हुन्छ न त कुनै टुप्पो नै हुन्छ । न समाउने हाँगो हुन्छ न टेक्ने डालो नै । भन्न त मानिसहरु भन्ने गर्छन् समाउन र टेक्नका लागि वेद छ, बाइवल छ, कुरान छ, बुद्धका उपदेशहरु छन्, मन्दिर, गुम्बा, मस्जिद, गिर्जाघरहरु छन् आदि आदि । तर मानिसले यी सबै पौराणिक धर्मशास्त्रका पुस्तकहरु आ-आफ्नो अनुकूल ब्याख्या गर्ने गरेका छन् । आफूलाई धर्मका ठेकेदार भन्नेहरुले तपाई हामीले समाएका डालाहरु र टेकेका हाँगाहरु काटिदिने गर्छन् अनि हामी फेरि टेक्ने डालो र समाउने हाँगो किन तुर्लुङ्ग झुण्डिनु पर्छ ।
त्यसैले होला संसारमा स्वतन्त्रता र प्रजातन्त्रको वकालत गर्दै आइरहेको विश्व प्रसिद्ध समाचार पत्र न्युयोर्क टाइम्सले गत हप्ता अबदेखि आफूले सार्वजनिक आक्रामक नहुने खालका सामाग्री मात्र आफ्नो छापामा छाप्ने वा प्रकाशन गर्ने घोषणा गरेको छ ।
गत दुई हप्ताअघि फ्रान्सबाट प्रकाशित हुने सार्ली अब्दोमाथिको आक्रमणले युरोपमा कति वाक र प्रकाशन स्वतन्त्रता रहेछ भन्ने कुराको धज्जी उडाएको छ । अर्थात् ती कार्टुनहरु जोक मजाक ठट्टा वा सिरियस ब्यंग्य कसैलाई चोट लाग्ने धमाका थिए ? अथवा फ्रान्समा हरेक हप्ता आउने गाइजात्रा मात्र थियो ?
यदि हामीले लगभग ४० वर्ष अघिको मात्र इतिहास हेर्यौं भने वाक तथा प्रकाशन स्वतन्त्रताको स्वरुप अलि अर्कै देख्ने छौं । अमेरिकी सर्वोच्च अदालतले १९७७ मा गरेको फैसला संसारभर चर्चित भएको थियो । त्यतिबेला अमेरिकाको सिकागो शहरको नजिकै पर्ने स्कोकी नामक शहरमा अमेरिकी नाजीहरुले यहुदीहरुका विरुद्ध जुलुस प्रदर्शनी र जुलुसपछि आमसभामा परिणत गर्ने घोषणा गरेका थिए । उनीहरुले त्यही ठाउँमा जुलुस प्रदर्शन गर्न किन चाहेका रहेछन् भने त्यो शहरमा अधिकांश यहुदीहरु (जो जर्मनीबाट धपाइएका थिए) को बसोबास रहेछ । यदि त्यहाँ जुलुस प्रदर्शन गर्न सक्यो भने नाजीहरुको अत्यधिक प्रोपागाण्डा र यहुदीहरुलाई उत्तेजित गराउने अर्थ हुने रहेछ । अमेरिकी सर्वोच्च अदालतले जुलुसकर्ताहरुले दोस्रो विश्वयुद्धमा लागेको घाउ कोट्याउन नपाउने तर जुलुस गर्न, स्वतन्त्र रुपमा आफूलाई लागेको कुरा अभिब्यक्त गर्न पाउने भनी फैसला गरेको रहेछ । यद्यपि त्यहाँ दुईपक्षीय भिडन्त हुने सम्भावना भने उच्च थियो । तथापि अमेरिकी सर्वोच्च अदालतले उक्त जुलुसलाई प्रतिबन्ध लगाउन सकेन । यसको मतलब वाक तथा प्रकाशन स्वतन्त्रताको पल्ला सार्वजनिक दख्खलको पल्ला भन्दा गरुङ्गो हुने रहेछ । यस्तै ‘अरु कसैलाई अपमान गर्ने भिटो अधिकार कुनै पनि ब्यक्ति वा संस्थालाई छैन’ भनी जर्मनीको प्रशासकीय अदालतले पनि केही वर्षअघि फैसला गरेको थियो ।
त्यतिबेला अमेरिकाका यहुदीहरुले अमेरिकी सरकारलाई नाजीहरुले गर्न लागिएको जुलुस प्रदर्शन गर्न प्रतिबन्ध लगाउनु पर्ने दबाब दिइरहँदा अमेरिकाकै मासाचुसेट इन्स्च्युिट अफ टेक्नोलजीका एक प्रोफेसर नोआम चोम्सकी (जो आफैं यहुदी हुन्) ले ‘यदि हामीले सर्वसाधारण जनताको वाक तथा विचार स्वतन्त्रताप्रति विश्वास गर्दैनौं भने हामीहरुले उनीहरुप्रति भरोसा गरेका छैनौं’ भनी प्रतिकृया दिएका थिए ।
लगभग ४० वर्षपछि न्यूयोर्क टाइम्सले अर्कै भिन्न खालको इँजार कसेको छ । न्यूयोर्क टाइम्सका संचालकहरुले सम्पादक मण्डललाई जुन सुरक्षित छ त्यो मात्र छाप्ने What is safe to Print भनेर दवाब दिएको छ । तर यहाँ भने अमेरिकी सर्वोच्च अदालतको त्यतिबेलाको फैसलाका विरुद्ध न्यूयोर्क टाइम्सले आफ्नो भिटो प्रयोग गरेको छ ।
यहाँनिर पहिलो सार्वजनिक प्रश्न उठ्छ, के साँच्चै हत्याराहरुले वाक एवं प्रकाशन स्वतन्त्रता आफ्नो कब्जामा लिन सफल छन् ? यदि होइन र आतंकपूर्ण हमला जतिखेर र जहाँ पनि हुनसक्छ भन्ने र अर्को प्रसिद्ध जनबोली ‘डरपोकलाई लुते कुकुरले पनि भुक्छ’ भन्ने तर्क गर्ने हो भने न्यूयोर्क टाइम्सको उक्त निर्णय संसारभरका स्वतन्त्र पत्रकारिताका लागि एउटा कालो धब्बा हुने छ । दोस्रो र महत्वपूर्ण प्रश्न हरेक ब्यक्तिलाई वाक स्वतन्त्रता छ, स्वतन्त्रता हुनु पनि पर्छ, तर त्यो अधिकारभन्दा पनि कर्तब्यको पंक्तिमा रहनु पर्छ र आफ्नो स्वतन्त्रता प्रयोग गर्दा अरुलाई हानी नोक्सानी पुर्याउनु वा अरुको चित्त दुखाउनु हुँदैन, आखिर किन ? किनभने प्रथमः युरोपको क्रिश्चियन धार्मिक इतिहास हेर्ने हो भने १६औं र १७ औं सताब्दीमा धर्मका नाममा दशौं लाख मानिसका टाउको काटिए जसको तथ्यांक आजसम्म कसैले प्रस्तुत गरेको छैन । यसबाट युरोपियन र अमेरिकीहरुले के सिक्नु पर्ने हो भने ‘काटमारको खेलबाट भगवानलाई अलग्गै राख ।’ दोस्रोः धर्माबलम्बीहरुका लागि धर्मप्रति विश्वास गर्नु भनेको कुनै सम्झौताको होइन । धर्म भनेको स्वचाहना र स्वाधिकारको घेराभित्र पर्दछ । त्यसैले हामीले अरुको धर्मप्रति सम्मान गर्न सक्नु पर्दछ र अरुका भगवानप्रति उत्ताउला हँसीमजाक पनि गर्नु हुँदैन ।
तर दुर्भाग्य उक्त सत्यता वर्तमान अवस्थामा आफूलाई सभ्यता र विकासको कसीमा दाँजेर हेर्नेहरुले गाइजात्रा बनाएका छन् । आफूलाई सभ्यता पाएका भनेर दाबी गर्ने युरोपियनहरु धर्मबाट टाढा हुँदै गइरहेका छन् । युरोपियनहरुले अन्य सबै प्रकारका आइडेन्टीटी बचाउ गर्न कानुन बनाउँछन् तर आफ्नो मुलुकमा धर्मको बचाउ गर्न भने असफल छन् । उनीहरुको यही असफलताको कारण आफ्नो सभ्यता छिन्नभिन्न हुने डरले तर्सिएका छन् । यही डरमाथि विजयी हासिल गर्न उनीहरुले विपन्नतालाई हतियार बनाएका छन् ।
सत्य के हो भने संस्कृति परिवर्तनको हावा संसारभर बहेको छ । तर संस्कृति परिवर्तनका नाममा पश्चिमेलीहरुले पूर्वी (बिहानी) मुलुकहरुमा लोभ र लालचा देखाएर आफ्नो मुलुकमा अस्ताउँदो धर्मलाई गरीब र उनीहरुकै शब्दमा असभ्य समाजमा लादेर शान्त वातावरणमा बसेको समाजमा अशान्ति पैदा गराउँदै आइरहेका छन् । एकआपसमा लडाउँदै आइरहेका छन् । यही उनीहरुले रोपेको बिषको बिउ उम्रेर उनीहरुकै घरदैलोमा वमन भैरहेको छ । यसैको एउटा प्रतिकृयास्वरुप थियो फ्रान्सको राजधानी पेरिसमा सार्ली एब्दोमाथिको आक्रमण । हामी सबै निरपेक्ष छौं । यसको अर्थ यो होइन कि हामी सबैले एउटै धर्म मान्नु वा एउटै धर्मप्रति विश्वास गर्छौं वा गर्नुपर्छ भन्ने । त्यसैले यहाँ अर्को प्रश्न उठ्छ । हाम्रो अभिव्यक्तिको हद कहाँसम्म छ ? वा हामी कहाँनेर पुग्दा पूर्णविराम लगाउनु पर्छ ? अथवा हाम्रो परिधी कति छ ? वाक स्वतन्त्रताको परिधी खुसी लाग्ने र चोट दिने बीच अलग्गिएको हुनुपर्छ । त्यसैले एउटा भनाइ छ ‘मलाई तैले त्यति दुःख नदे ताकि मैले पनि तँलाई त्यत्ति दुख दिन परोस् ।’ त्यसैले हामीले आ-आफ्ना भगवानलाई सम्मान गर्न सिकौं । यदि हामीले यो कमनसेन्सको परिधी नाध्यौं भने धर्मको खेलमा जीत कसैको पनि हुने छैन । सबैपक्षलाई चोटमात्र लाग्ने छ ।
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी