युकेको ननिटनमा आठ फिट अग्लो गोरखा स्मारक बन्ने, निर्माणमा सहयोग गर्न अपील

यस्तो बन्नेछ स्मारक । तस्वीर ननिटन न्युज

यस्तो बन्नेछ स्मारक । तस्वीर ननिटन न्युज

लण्डन । गोरखा भर्ती शुरु भएको दुई शताब्दी पुगेको अवसरमा युकेको उत्तरी भागमा गोरखा स्मारक निर्माण गरिने भएको छ ।
सरकारी तवरबाट नभई स्थानिय गोरखाहरुको पहलबाट निर्माण गर्न लागिएको सो स्मारक निर्माणमा सहयोग गर्न पहलकर्ताहरुले अनुरोध गरेका छन् ।
स्थानीय पत्रिका ननिटन न्युजका अनुसार ननिटनस्थित रिभर्सली पार्कमा बनाइने सो स्मारक करिब आठ फिट अग्लो हुने बताइएको छ ।
नेपाली नागरिकहरु बेलायती महारानीको राजमुकुट र बेलायती सार्वभौमिकताको रक्षाका लागि बेलायती सेनामा भर्ती हुन शुरु गरेको २०० वर्ष पुगेको अवसरमा सो स्मारक निर्माण गर्न लागिएको हो ।
सो स्मारक निर्माणमा करिब ४० हजार पाउण्ड लाग्ने बताइएको छ ।
स्मारक निर्माणको जिम्मा बि्रटिश गोरखा भेटेरान एसोसिएनको स्थानीय शाखाले लिएको छ ।
स्मारक निर्माणका लागि स्थानीय ननिटन र बेडवर्थ बोरो काउन्सिलले अनुमति प्रदान गरिसकेको छ ।
एसोसिएसनले हालसम्म सो कार्यका लागि करिब १३ हजार पाउण्ड जम्मा गरिसकेको छ । र अरु पाँचहजार पाउण्ड उठाउन सकिने एसोसिएसनको आँकलन छ ।
सो स्मारक निर्माणले गोरखाहरुलाई मात्र फाइदा नभई समग्र ननिटन, बेडवर्थ, वारिकसायर र मिडल्याण्डकै आकर्षण हुने विश्वास एसोसिएनका प्रवक्ता ओम गुरुङ एमबीईले लिएका छन् ।
आगामी अप्रिल २६ तारिखमा स्मारक अनावरण कार्यक्रम राखिएको छ ।
काउन्सिलले अनुमति दिएपछि धेरैले चासो देखाएको उल्लेख गर्दै गुरुङले सो स्मारकले धेरै पर्यटकहरु निम्त्याउने सम्भावना रहेको बताए । आरम्भमा सोचिएको भन्दा पनि अहिले ठूलो योजना बनेको उनको भनाइ छ ।
‘हामीलाई ४० हजार पाउण्ड आवश्यक छ । म यसका लागि सहयोग गर्न समुदायलाई अनुरोध गर्दछु । सानो, ठूलो जस्तोसुकै सहयोग यहााहरुले गर्न सक्नुहुन्छ’- उनले भने ।
स्मारकको अनावरणमा धेरै उच्चउदस्थहरुको उपस्थिति रहने बताइएको छ ।
सो स्मारकले पर्यटकहरुलाई तान्ने र यसका अलावा वेष्ट मिडल्याण्ड क्षेत्रका नयाँ पुस्तालाई गोरखाहरुको इतिहासका बारेमा जानकारी दिने उनले बताए ।
सहयोग संकलन गर्नका लागि एक समिति बनाइएको छ । समितिले गरेको अपीलमा भाग लिँदै स्थानीय रोटरी क्लव अफ बेडवर्थले १०० पाउण्ड सहयोग गरेको छ भने स्टेजकोच कम्पनीले ५०० पाउण्ड ।
स्मारक निर्माणका लागि गोरखा मेमोरियल सेभिङ फण्डको नाममा कोभेन्ट्री बिल्डिङ सोसाइटीमा बैँक खाता खोलिएको छ । खाता नम्बर ९५३१८४५४७ र सोर्ट कोड ४०- ६३- ०१ रहेको छ । यस्तैगरी सहयोग गर्न चाहनेहरुले ब्रिटिश गोरखा भेटेरान एसोसिएसनका नाममा चेक जारी गरी एसोसिएसनको ठेगाना Newtown Centre, Newtown Road, Nuneaton, CV11 4HG पोष्ट पनि गर्न सक्नेछन् ।
सन् १९९२ मा क्वीन्स गोरखा सिग्नल ननिटन नजिकैको ब्रामकोट ब्यारेकमा सरेपछि ननिटन क्षेत्र गोरखाहरुको नयाँ घर बनेको छ ।

स्मारक निर्माण हुने स्थानमा स्थानिय गोरखाहरु । तस्वीर ननिटन न्युज

स्मारक निर्माण हुने स्थानमा स्थानिय गोरखाहरु । तस्वीर ननिटन न्युज

प्रतिक्रिया

सम्बन्धित सामाग्री