सोमबार, असोज १२ २०७७ | Mon, September 28, 2020
नेपालको समय: १३:४२ | UK Time: 08:57

बेलायतका नेपाली घरमा झन् बढि घरेलु हिंसा

वीनेपाली
२०७१ पुष ३० गते १७:३६
Domestic violence

तस्विरः इन्टरनेट ।

पहिलो कथा हो– बेलायतस्थित नेपाली समुदायमा राम्रो छवि बनाएकी एक महिलाको । कथा वैवाहिक जीवनको २४ वर्षपछि पतिको यातनाले एक्लिन वाध्य अल्डरसोट निवासी एक महिलाको हो । मागी बिहे गरेर २१ वर्ष एकैसाथ बिताउँदा उनले भोगेको पीडा सिनेमाको एउटा राम्रो स्क्रिप्ट बन्छ । मनभरि असंख्य वेदनाका घाउ भएर पनि उनी समाजमा खुलस्त भन्न सक्ने अवस्थामा छैनन् । सम्झौतै सम्झौतामा अढाइ दशक बितेछ । बिहे गरेलगत्तै श्रीमान्को नियन्त्रणमा राख्न खोज्ने र हेपाह प्रवृत्तिले जिन्दगी चल्छजस्तो उनले सोचेकी थिइनन् तर नेपाली समाज, अर्काको घरभित्र छिरेपछि छोडीहाल्न पनि असम्भव, केही प्रतिवाद गर्न पनि नमिल्ने । दिन बित्दै जांदा लोग्नेको व्यवहार झन् कठोर र निर्दयी हुंदै गयो । शारीरिक, मानसिक यातना खेप्दै गइन् उनले ।
जे गर्दा पनि झनक्क रिसाउने, हिर्काउने, मार्दिन्छु भन्दै घाँटी थिच्ने, कहिले उम्लिरहेको पानी खन्याइदिन खोज्ने, रिस उठे घरभित्र छिर्नै नदिने, नीच चरित्र, परस्त्रीसँग सम्बन्ध बढाउन रुचाउनेजस्ता श्रीमान्को घृणित क्रियाकलाप उनलाई सह्य भइरहेको थिएन ।
ठूलो छोरा ६ वर्ष पुगेपछि उनको निष्कर्ष रह्यो– जिन्दगी यसरी चल्दैन । सम्बन्ध विच्छेद गर्ने मनस्थितिमै पुगिन् उनी तर फेरि सोचिन्– छोराको भविष्य । समाज र परिवार सम्झिइन् उनले । लोग्नेले छुट्टिए छोरा भेट्नसमेत दिन्नँ भनेपछि उनले त्यो आँट्न पनि सकिनन् । बरु लोग्नेसँग आइन्दा यस्ता क्रियाकलाप नगर्ने सम्झौता भयो अनि धेरै वर्षको ग्यापमा उनले कान्छो छोरा जन्माइन् । तर असमझदारी कायमै रह्यो ।
साढे ५ वर्ष अघि नेपालबाट युके आउनुको मुख्य कारण नै दुई छोराहरुको भविष्य बनाउन थियो । तर, युके आएपछि पनि मनमा अशान्ति छाइ नै रह्यो । हरेक सामाजिक क्रियाकलापमा अग्रसर हुन खोज्दा भाँजो हाल्ने, कसैसँग बोल्यो भने उसैसँग पल्किएको आरोप लगाउने, काम गर्ने ठाउँमै गएर भड्काउन खोज्ने, भनेको गर्नै पर्छ भन्ने, कहिले कम्प्युटर नै फुटाइदिने, भाँडाकुडा फालिदिने, कहिले विश्वविद्यालय पढ्ने ठूलो छोराको ऋण रोक्का गरिदिन्छु भन्ने त कहिले सबैजनाको भिसा रद्द गर्न लगाएर नेपाल नै फर्काइदिन्छु भन्ने । सानो छोरालाई पनि देखी नसहने । भनेको मानेन, खाएन भने ट्वाइलेटमा थुनिदिने, पिट्ने आदि गर्ने । यतिसम्म कि स्कुलबाटै निकालिदिन प्रयास 
गर्ने । बाउको यस्ता क्रियाकलापले उनका दुई छोराहरु पनि निराश भए । कुरा कतिसम्म बिग्रन थाल्यो भने, ९ वर्षको छोराले ‘आइ वान्ट टु किल हिम’ भन्न थाल्यो । बाउले पकाएको खानै छाड्यो । युके छिरेको तीन वर्ष पुग्दा छोराहरु ज्यादै विचलित र घरको वातावरण देखेर सधैँ तनावमा देखिए । अब उनले निर्णय गरिन्, यदि मैले छोराहरुको भविष्य बनाउने हो भने उसलाई त्याग्नै पर्छ । अन्ततः छोराहरुको खुसीको लागि उनले श्रीमान् त्याग्ने निर्णय गरेर हाल उनी छोराहरुका साथमा छुट्टै बस्न थालेकी छिन् । सम्बन्ध विच्छेद प्रक्रिया अगाडि बढिरहेको छ । ‘शिक्षित र स्ट्याटस भएर पब्लिक फण्डमा बस्न सक्ने अधिकार हुँदाहुँदै त मलाई छुट्टिन यति सकस र समय लाग्यो भने विचरा अनपढ दिदीबहिनीको अवस्था कति दयनीय होला, म कल्पनामात्र गर्न सक्छु–उनले भनिन्– “बेलायतमा रहेका मजस्ता कयौँ नेपाली दिदीबहिनीहरुलाई घरेलु हिंसाबाट पीडित हुन नपरोस् भनेर यसविरुद्ध लाग्ने मेरो योजना छ ।”

दोश्रो कथा छ, लण्डन निवासी २८ वर्षीया एक महिलाको । श्रीमान् र उनको उमेर १२ वर्ष जति फरक छ । साथमा छन्, एक छोरा र एक छोरी । बिहे भएको केही वर्षसम्म त सम्बन्ध राम्रै चल्यो । श्रीमान् क्याटरिङ व्यवसायमा व्यस्त थिए, उनी छोराछोरीको रेखदेखमा समय खर्च गर्थिन् । बचेको समय रेष्टुरेन्टमा पनि दिन्थिन् उनी । समय बित्दै जांदा उनका श्रीमान् अल्कोहलको नशामा डुब्न थाले । रेष्टुरेन्ट बन्द गरेर राती जहिल्यै ढिलो घर फर्कने, त्यो पनि रक्सीको सुरमा । बिजनेश राम्रो हुंदा त ठिकै हो तर कमाइ नभएका बेला रिसको झोँक उनले श्रीमतीमाथि बारम्बार पोख्न थाले । रिसाउने मात्र होइन, हातै हाल्न थालेपछि सम्बन्ध चिसो हुंदै गयो । कति पटक त नाक मुख बिग्रने गरी पिटेर प्रहरीकहां समेत रिपोर्ट पुग्यो । राति अबेरसम्म जँंड खाने, हल्लिंदै घर आएर हप्काउने, पिट्ने अनि बिहानै व्यवसायमा निक्लने दिनचर्याले अहिले उनीहरुबीचको सम्बन्ध अन्तिमतिर पुगेको छ ।

उल्लेखित कथा लण्डनको सुकिलो सहरमा नेपाली महिलामाथि आफ्नै श्रीमान्ले गरेका घरेलु हिंसाका केही उदाहरण मात्र हुन् । बेलायत बस्ने नेपाली समुदायमा यो समस्या आकासिइरहेको छ । यसै कारण मानिसको जीवन बर्बाद हुने र पारिवारिक सम्बन्ध नै बिग्रिएका उदाहरण प्रशस्त छन् । तर, खुलेर न कसैले भन्छन् न कतै सिकायत हुन्छ । चेतनाको कमी र आफ्नो भविष्य झन् अन्धकारतर्फ धकेलिने चिन्ताले गर्दा यस्ता समस्या घरभित्रै सीमित भइरहेका छन् । माथि उल्लेखित घट्नाले प्रष्ट्याउंछ– ‘बेलायत जस्तो विकसित र मानवअधिकारको रक्षा गर्ने भनिएको देशमा रहेका नेपाली पुरुषहरुमा समेत पुरानो मानसिकता कायमै छ ।’ पुरुषप्रधान नेपाली समाज, संस्कारमा हुर्किएरै यहां आइपुगेकाले नेपाली पुरुष आफ्नी जीवनसंगिनी र सन्तानलाई सधैं नियन्त्रणमै राख्न चाहन्छन् । उनीहरु यहांको नियम–कानुन र प्रणाली, सामाजिक बनावटको हेक्का नै गर्दैनन् ।

सिटिजन्स् एड्भाइस ब्युरोले घरेलु हिंसाको शिकार भए प्रहरीकहां रिपोर्ट गर्न, स्थायी वा अस्थायी रुपमा घर छाड्न अथवा आफू त्यही घर बसेर पीडकलाई छाड्न बाध्य बनाउन र कानुनी कारवाही गर्न सल्लाह सुझाव दिन्छ । विडम्बना, यस्ता समस्या नेपालीको समेत अधिकांश घरपरिवारमा भए पनि खुलेर बाहिर आउन नसकेको व्युरोमा लामो समय काम गरेर पांच महिना यता गोर्खा वेलफेयर ट्रष्टमा सल्लाहकार भएर काम गरिरहेकी एक नेपाली महिलाले सुनाइन् । अनौपचारिक कार्यक्रम वा जमघटमा आफ्नो पीडा अरु सहकर्मी वा साथीसंग खुलस्त व्यक्त गरे पनि आफ्नो बेइज्जती र श्रीमान् छाडेपछि जिन्दगी झन् विचल्ली होला कि भन्ने डरले औपचारिक सिकायत भने नआउने उनको अनुभव छ ।
अज्ञानताका कारण धेरै महिला आफू घरेलु हिंसाको शिकार भएको महसुस नै नगर्ने ती महिलाले बताइन् । “शारीरिक यातना र तल्लो स्तरको गाली मात्र घरेलु हिंसा हो भन्ने धेरैको बुझाइ पाएं”, उनले भनिन्, “अधिकांश महिला छोराछोरीको भविष्य सोचेरै आफ्ना पीडा मनमा गुम्स्याएर राख्न बाध्य छन् ।” ३० देखि ४० वर्ष उमेरका महिलाहरु अङ्ग्रेजीमा केही दख्खल भएर पनि सिटिजन एड्भाइस ब्युरो वा अन्य सम्बन्धित निकायमा जान हिच्किचाउने गरेको उनले सुनाइन् । “लिगल एड पाइने भए पनि रोइकराई घरैमा यातना सहेर बस्ने गरेको यथार्थता छ । यो समस्या श्रीमान् श्रीमतीबीच मात्र होइन, संयुक्त परिवारमा पनि देखिन्छ”, ती महिला भन्छिन् । नेपाली महिलाले भोगेका यी समस्या समाधान गर्न विशेष कक्षा नै सञ्चालन गर्नुपर्ने सुझाव छ उनको ।

ह्याम्पसायर प्रहरीसँग मिलेर घरेलु हिंसाविरुद्ध कार्यरत नर्थ इष्ट ह्याम्पसायर डोमेस्टिक एब्यूज फोरमकी अध्यक्ष क्यारेन एभान्स्को अनुभवमा ४ मा एक महिला र ६ मा एक पुरुष आफ्नो जीवनमा यसको शिकार हुन्छन् । क्यारेनले यस्ता घट्ना सिकायत गरिएका फोन कल प्रहरीसमक्ष प्रत्येक मिनेटमा आउने र प्रत्येक साता करिब दुई महिला आफ्नो पार्टनर वा पूर्व पार्टनरबाट मारिने गरेको जनाइन् ।

नेपाली समुदाय धेरै रहेको क्षेत्रमा कार्यरत क्यारेनले नेपाली मात्र होइन, अन्य सबै समुदायमा आफू पीडित भएको छु भन्नेसम्म थाहा नपाउनु समाधानमा मुख्य चुनौती रहेको समेत बताइन् । उनले नेपालबाट आएका अधिकांशमा अंग्रेजी भाषाको ज्ञान कम भएको र उनीहरुलाई बेलायतमा आफू पीडित भए त्यसविरुद्ध जान सकिने धेरै निकाय र कानुन छन् भन्ने समेत ख्याल नभएको अनुभव सुनाइन् । क्यारेनले त्यस्ता नेपालीलाई यसबारे ज्ञान दिलाउन पहल गरिरहेको पनि बताइन् ।

बेलायतका नेपाली सोलिसिटर राजु थापाको भनाइमा उनको एभरेष्ट ल फर्ममा नेपाली समुदायका घरेलु हिंसा मुद्दा बढिरहेका छन् । ‘डेटा प्रोटेक्शन एक्ट’ का कारण मुद्दा के कस्ता र कति भन्न नमिल्ने उल्लेख गर्दै उनले संक्षिप्तमा ‘केस’ हरु धेरै आएको जनाए । थापाले पीडा सहनुको साटो समयमै आफ्नो कानुनी उपचार खोज्न सुझाएका छन् ।
उनले प्रहरीलाई इमर्जेन्सी कल गरेर, नेशनल डोमेस्टिक भायलेन्स् हेल्पलाइनमा सम्पर्क गरेर अर्थात् जिपीमा सम्पर्क गरी चिकित्सकमार्फत् सम्बन्धित निकायमा सिकायत गरेर महिलालाई आफू सुरक्षित रहन सल्लाह दिए । थापाका भनाइमा पारिवारिक कानुन ऐन १९९६ ले महिलाको संरक्षणमा दुई किसिमको व्यवस्था गरेको छ । घरेलु हिंसाको शिकार भएको महसुस भए अदालतमा गएर आफ्नो व्यहोरा जानकारी गराए अदालतले महिलाको सुरक्षाका लागि ‘नन् मोलेस्टेसन अर्डर’ दिने थापाले उल्लेख गरे । अर्को अवस्थामा अदालतले महिला र बच्चाको सुरक्षाका लागि आफ्नै घरमा सुरक्षित तवरले बस्न सक्ने वातावरणका लागि ‘अकुपेशन अर्डर’ समेत दिन सक्छ । यस्तो अवस्थामा पीडकले घर नै छाड्नु पर्ने कानुन छ ।

बेलायतमा पनि घरेलु हिंसा कहालीलाग्दो रहेको अध्ययनहरुले देखाएका छन् । २००९, २०१० को ब्रिटिश क्राइम सर्भेले भनेको छ– बेलायतमा झण्डै दश लाख महिला प्रत्येक वर्ष घरेलु हिंसाको कुनै न कुनै एक घटनाबाट पीडित हुन्छन् । सन् २०१० मा गरिएको एउटा अध्ययनले ५४ प्रतिशत महिला आफ्ना पार्टनर वा एक्स् पार्टनरबाट गम्भीर यौन दुव्र्यवहारको शिकार भएका जनाएको छ । होम अफिसले सन् २००९, ०१० मा प्रकाशित गरेको ‘क्राइम इन इंग्ल्याण्ड एण्ड वेल्स्’ प्रतिवेदन अनुसार ७६ प्रतिशत घरेलु हिंसा दोहोरिन्छन् भने प्रहरीसमक्ष नपुग्दै पैंतिस घटना भइसकेका हुन्छन् । यसले महिलाहरु अन्यत्रभन्दा घरैमा बढी हिंसाको शिकार भइरहेको बुझाउँछ ।
अध्ययनले भने बमोजिम, घरेलु हिंसाबाट १६ देखि १९ वर्षका महिला सबैभन्दा बढी जोखिममा छन् । अध्ययन अनुसार, यौन दुव्र्यवहार ७.९ प्रतिशत, अज्ञात हिसाबले जवरजस्ती पछ्याउने (स्टकिङ) ८.५ प्रतिशत र डोमेस्टिक एब्युज १२.७ प्रतिशत पाइएको छ । २० देखि २४ वर्षका महिला भने केही कम पीडित भएका पाइएको छ । यो उमेरमा स्टकिङ ७.५ प्रतिशत र डोमेस्टिक एब्युज ११.१ प्रतिशत छ । ‘नेशनल सोसाइटी फर द प्रिभेन्सन अफ क्रुएल्टी टु चिल्ड्रेन’ को ००९ को अध्ययनमा शोषण र अत्याचार ‘टिनएज रिलेसनसीप’ मा बढी छ । सन् २००९ मा गरिएको एउटा सर्भेक्षणमा ५ मा एक जना महिलाले सार्वजनिक स्थानमा ‘सेक्सी’ कपडा लगाएको बहानामा कुटाई खानुपरेको जनाएका थिए । यस्तो सर्भेक्षण देखेर सरोकारवालाहरु मानिसको हेर्ने दृष्टिकोण नै बदल्न जरुरी ठान्छन् ।
घरेलु हिंसाका कारण वर्षेनी २३ बिलियन पाउण्ड खर्च हुने अनुमान छ । सन् २००९ नोभेम्बरमा युनिभर्सिटी अफ लिड्स आबद्ध सिल्भिया वाल्वीले गरेको अध्ययनले भने घरेलु हिंसाका कारण वर्षेनी १५ दशमलव ७ बिलियन पाउण्ड खर्च हुने देखाएको छ । सेवाहरु (फौजदारी न्याय व्यवस्था, स्वास्थ्य, सामाजिक सेवा, हाउजिङ, सिभिल लिगल) मा मात्र वर्षेनी तीन दशमलव ८ बिलियन पाउण्ड खर्च हुने देखाएको थियो । महिलाहरु घाइते भएर काममा बिदा लिंदा वर्षेनी १.९ बिलियन पाउण्ड अर्थतन्त्रमा नोक्सान हुने अध्ययन निष्कर्ष छ ।

परिभाषा घरेलु हिंसाको
राष्ट्रिय घरेलु हिंसाविरुद्ध कार्यरत एउटा च्यारिटी संस्था वुमन्स् एड (जसले वर्षेनी अढाई लाख महिला र बालबालिकालाई सहयोग गर्छ) को परिभाषामा परिवारभित्र शारीरिक, यौनिक, मनोवैज्ञानिक त्रास र आर्थिक प्रताडना घरेलु हिंसामा पर्छन् । गाली गलौज जबर्जस्ती विवाहलाई पनि घरेलु हिंसा नै मानिएको छ । जातजाति, धार्मिक आस्था, वर्ग, अपाङ्गता र जीवनशैलीका कारण यो हिंसा सृजना हुने विभिन्न अध्ययनहरुको निष्कर्ष छ ।
अपरिचित व्यक्तिभन्दा पनि निकट जोडी वा पारिवारिक सदस्यबीच धम्क्याउने, गालीगलौज गर्ने, मनोवैज्ञानिक, शारीरिक, यौनिक, आर्थिक प्रताडना र भावनात्मक त्रास घरेलु हिंसाभित्र पर्छ । उमन्स् एडले घरेलु हिंसाका सङ्केतहरुबारे विभिन्न वर्गीकरण गरेको छ । संस्थाको भनाइमा पूर्वाग्रही आलोचना र गालीगलौज पनि घरेलु हिंसामै पर्छ ।
अन्य वर्गीकरणहरुमा चाहिँ ठूलो स्वरले हप्काउने, जिस्क्याउने, वाहियात दोष लगाउने, खर्च रोकिदिने, परिवार र साथीभाइलाई झूटो कुरा लगाइदिने, टेलिफोन लाइन काटिदिने, केटाकेटी लगेर अन्यत्र हिँडिदिने, निर्णय गर्नबाट वञ्चित गरिदिने आदि पनि पर्छन् ।
अनादर पनि अर्को संकेत हो यसको । अर्काको सामुन्ने अपमान गर्ने, कुरा नसुन्ने अथवा जवाफ नदिने, फोन कल अवरोध गरिदिने, नसोधी पर्सबाट पैसा लगिदिने, केटाकेटीको रेखदेख र घरको काममा सघाउन इन्कार गर्ने आदि इत्यादि । विश्वास तोड्ने अर्थात् अरुसँग सम्बन्ध बढाउने, ईष्र्या, कसम तोड्ने र गोप्य समझदारी अरुमाझ भङ्ग गरिदिने, विवाह गर्ने तर मन नपराउने पनि यसमा पर्छ । इमेल खोलिदिने, सार्वजनिक स्थानमा हतोत्साही तुल्याउने, कसैले फोन गरे त्यसको निगरानी गर्ने, फोन सेट हेर्ने, धम्क्याउने, मार्ने चेतावनी दिने, यौन दुव्र्यवहार, इच्छा बेगर सेक्स सम्बन्ध, कपाल तान्ने, पोलिदिने, पिट्ने, टोकिदिने आदिलाई पनि घरेलु हिंसा मानिएको छ ।
घरेलु हिंसाका धेरै रुप छन्, जसमध्ये केहीलाई गम्भीर अपराध नै मानिएको छ । ह्यारेस्मेन्ट, शारीरिक यातना, हत्या प्रयास, बलात्कार, नजरबन्द आदिलाई अपराध मानिन्छ ।

कारवाही पनि बढ्दै
घरेलु हिंसा वृद्धिसँगै यस विरुद्धको अभियान पनि आकासिंदो छ । यसलाई फौजदारी न्याय (क्रिमिनल जस्टिस्) मुद्दाका रुपमा लिन थालिएको त एक दशक मात्र बितेको छ । क्राइम प्रोसिक्युसन् सर्भिस्ले सन् २००१ सम्म पनि यो मुद्दा निगरानी गरेको थिएन । उसले सन् २००४ मा मात्र यसमा काम गर्न थाल्यो । २००४, ००५ मा घरेलु हिंसामा पैंतिस हजार जनालाई कारवाही भएको उसको भनाइ छ ।
अहिले यो तथ्याङ्कमा क्रमशः वृद्धि भइरहेको छ । २००८, ००९ मा यो झण्डै दोब्बर भयो भने ००९, ०१० मा ७४ हजारले न्याय पाए । ब्रिटिश क्राइम सर्भेभन्दा त यो अझै कम प्रतिशत हो । फौजदारी अभियोगमा सजाय पाउने कन्भिक्सन् रेट (सजाय कसुरदोष निरुपण दर) पनि नाटकीय रुपमा बढिरहेको छ । सन् २००२ मा जम्मा ४९ प्रतिशत घरेलु हिंसाका मुद्दामा सफलता हासिल गरेको क्राइम प्रोसिक्युसन सर्भिस्ले ००६, ००७ सम्म आउँदा यो ६५ प्रतिशत वृद्धि भयो भने २००९, २०१० मा ७२ प्रतिशत मुद्दा सफल भए । पीडितमध्ये ३० प्रतिशतले प्रहरीलाई खबर गर्ने गरेको, घटनाका ३८ प्रतिशत आरोपीलाई चेतावनी मात्र दिइएको, २६ प्रतिशतलाई पक्राउ गरिएको र ४ प्रतिशतलाई जघन्य अपराधका रुपमा सजाय दिइएको तथ्याङ्क छ ।

पुरुष पनि पीडित
प्रतिवेदन तथा मिडियाले घरेलु हिंसाको शिकार प्रायः महिला मात्र हुने गरेको देखाए पनि वास्तविकतामा भने पुरुष झन् यसको शिकार भएको केही अध्ययनको दाबी छ । पुरुष अधिकारका लागि कार्यरत एउटा संस्था ‘पेरिटी’ ले ४० प्रतिशतभन्दा बढी पुरुष आफ्नी श्रीमती वा केटी साथीबाट पीडित भएको जनाएको छ । उसले आफ्नो अध्ययनमा सोचेभन्दा बढी पुरुष घरेलु हिंसाको शिकार भएका जनाउँदै अध्ययन निष्कर्ष नहेरी पुरुषलाई मात्र दोषी भनिनु ज्यादै गलत भ्रम भएको समेत दाबी गरेको छ ।
अभियानकर्ताहरु जहिले पनि पुरुषलाई दोश्रो दर्जाको पीडितका रुपमा लिइएको र प्रहरी र काउन्सिलले समेत यसप्रति गम्भीरता नदेखाएको गुनासो गर्छन् । पेरिटीका जोन मेज्ले होम अफिसको तथ्याङ्कसमेत सही नभएको र पुरुषका यस्ता घटना बाहिर ल्याउन कठिनाइ भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक