बेलायतका नेपाली सुन्दरी ः प्रेममा खुल्ला, यौनमा संकुचित

 

बेलायती समाज जति वहुसंस्कृतिले भरिभराउ छ, त्यत्ति नै खुल्ला पनि छ । यहां हरेक नागरिकलाई कानुन र नीति नियमले बांधेको छ तर नागरिकको मानवअधिकार अनि व्यक्तिगत स्वतन्त्रता पनि उत्तिकै छ । यस्तो समाजमा बसिरहेका नेपाली सुन्दरीहरु यौन र प्रेमलाई कसरी बुझिरहेका छन् ? उनीहरु भविष्यमा कस्तो जीवनसाथी चाहन्छन् ? बिहे अघि सेक्स सम्वन्ध जायज छ कि छैन् ? पढौं उनीहरुको विचारः

 

निया देवान, मिस यूके नेपाल २०१४

1397064_10201835776248732_1297134772_o

निया

क्यान्टवरी क्राइष्ट चर्च युनिभर्सिटीमा चाइल्ड नर्सिङ पढिरहेकी मिस यूके नेपाल २०१४ निया देवान अचेल च्यारिटीमा व्यस्त छिन् । देवानको संयोजकत्वमा इभेन्ट एण्ड आइडियाज्ले हालै ब्युटी वीथ अ पर्पोज् च्यारिटी कार्यक्रम समेत गरेको थियो । भविष्यमा उनले आफैं यस्ता कल्याणकारी कार्यक्रम गर्ने सोच समेत बनाएकी छिन् ।
निया अझै एक्ली रहिछन् । उनको साथमा अहिले कोही केटासाथी छैन् र यो सबै अप्रत्यासित हुने उनको धारणा छ । ‘कोही भेटिएको दिन प्रतिक्षा गरिरहेकी छु’, नियाले भनिन्, ‘चार्मिङ, इमान्दार, पर्सनालिटी र सेन्स अफ ह्युमर भएको केटा जसले मलाई खुशी राख्न सकोस्, त्यस्तो जीवनसाथी चाहन्छु म ।’

बिहे भन्ने कुरा जीवनको महत्वपूर्ण निर्णय भएकाले त्यसका लागि अझै केही वर्ष कुर्ने उनले जनाइन् । ‘पहिला म अध्ययन सक्छु, आफ्नै खुट्टामा उभिने भएपछि त्यो निर्णय गर्छु’, उनको अठोट छ । महिला पुरुष दुवैमा सौन्दर्यता जरुरी देख्छिन् निया । नियाको विचारमा प्रेमी प्रेमिकाबीच समझदारी र गलत सही छुट्याउन सक्ने सामर्थ भए बिहे अघिको शारिरीक सम्बन्ध नराम्रो होइन ।

सुमी श्रेष्ठ, मिस यूके नेपाल २०१४, फष्ट रनर अप

सुमी

सुमी

एमबीबीएस अध्ययनरत इष्टवर्न निवासी सुमी श्रेष्ठले अध्ययनमा व्यस्त भएर अहिले अफेयर्सको चक्करमा छैनन् रे । जीवनसाथी रोज्ने कुरा पनि अलिक परै भयो । ‘जीवनभरिको साथी हरेक सुःख दुःखमा साथ दिने होस्’, सुमीको अपेक्षा छ, ‘श्रीमान् श्रीमति भन्दा पनि एउटा मिल्ने साथी होस् । मलाई बुझ्ने, लभ, केयरिङ गर्ने र सबैभन्दा ठूलो महिलाहरुको सम्मान गर्ने होस् ।’

महिला जस्तो पुरुषमा वाह्य सौन्दर्यता महत्वपूर्ण ठान्दिनन् उनी । ‘स्वाभिमानी, व्यवहारिक र कर्तव्य पालना गर्ने पुरुषको गुणले मलाई आकर्षित गर्छ’, उनी भन्छिन् ।
सुमीको सौन्दर्यता सम्बन्धि बुझाइ अलिक पृथक छ । ‘मेरो लागि सुन्दरता भनेको बाहिरी रुप सुन्दर हुने होइन, स्वच्छ मन, स्वच्छ विचार र स्वच्छ सोच 
हुनुपर्छ’, उनको धारणा छ, ‘बाहिरी सौन्दर्यता त उमेर संगै चाउरी परेर जान्छ तर भित्री सौन्दर्यता सधैं रहिरहन्छ । तसर्थ मेरो विचारमा महिला पुरुष दुवै भित्रीरुपमा सुन्दर हुन आवश्यक छ ।’

विवाह बन्धन जरुरी देख्ने सुमीले कहिले गर्ने भन्ने चाहिं अहिलेसम्म नसोचेको 
बताइन् । ‘पुरुषको साथ महिलाको जीवनमा आवश्यक होइन, महत्वपूर्ण छ जसरी महिलाको साथ पुरुषको जीवनमा महत्वपूर्ण छ’, उनी भन्छिन्, ‘आजका हामी नारीहरु आत्मनिर्भर छौं, कोही पुरुषको साथ आवश्यक छैन् तर बुबाको रुपमा पुरुषको आर्शिवाद र माया, श्रीमानको रुपमा आदर, माया र साथ, दाजुभाईको रुपमा साथ र हौसला महत्वपूर्ण ठान्छिन् उनी ।’

रोजी ओली, ब्युटी फर अ चेन्जकी उत्कृष्ट सुन्दरी

10927925_10205133669117814_701323428_n

रोजी

साउथ इष्ट लन्डनमा बसिरहेकी रोजी कार्डिफ मेट युनिभर्सिटीबाट एमबीए अन्तिम वर्षमा अध्ययन गर्दैछिन् । जीवन साथी रोजिसकेको र उसैसित खुशी रहेको उनले जनाइन् । आफ्नो अध्ययनपछि राम्रो जागिर गरेर तीन चारवर्षभित्र बिहे गर्ने उनको योजना छ । सहनशिल, योग्य, समझदार र महिलालाई सम्मान गर्ने पुरुषले महिलालाई आकर्षित गर्न सक्ने रोजीको बुझाइ छ । ‘मेरो विचारमा भित्री बाहिरी दुवै सौन्दर्यता हुन जरुरी छ तर बढि चाहिं भित्री’, उनी भन्छिन् ।
आपसी समझदारी भए अहिलेको समयमा बिहे अघि पनि सेक्स सम्बन्ध अन्यथा ठान्दिनन् रोजी । पुरुषले आत्मियता, सुरक्षा, साथ र माया प्रदान गर्ने भएकाले महिलालाई पुरुषको साथ आवश्यक छ उनको विचारमा ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री