लण्डन । विश्व नेपाली साहित्य महासङ्घले यस वर्षका साहित्यिक दूत, सम्मान पाउने स्रष्टाहरु तथा उत्कृष्ट शाखा र सदस्यहरुको नाम सार्वजनिक गरेको छ ।
महासंघ, विश्व केन्द्रीय समितिको बैठकले नाम सार्वजनिक गरेको हो । बैठकले विभिन्न व्यक्तिलाई शाखाहरुबाट केन्द्रमा मनोनित पनि गरेको छ ।
महासंघका अनुसार नेपालका उच्च ८ हिमालले विश्व सामु नेपाललाई चिनाए जसरी नै नेपाली साहित्यलाई देशविदेशमा चिनाउने उत्कृष्ट आठ साहित्यकारलाई साहित्य दूत सम्मान दिने घोषणा गरिएको हो ।
जस अनुसार नेपाली साहित्य दूत सगरमाथा कृष्ण प्रकाश श्रेष्ठ (मस्को रसिया), नेपाली साहित्य दूत कन्चनजंघा सुरेसजंग शाह (लण्डन युके), नेपाली साहित्य दूत लोत्से कपिल अधिकारी (ताइवान), नेपाली साहित्य दूत मकालु डा महेन्द्र कुमार मल्ल (वीरेन्द्रनगर नेपाल), नेपाली साहित्य दूत चोयु टंक सम्बाहाम्फे (हङकङ), नेपाली साहित्य दूत धौलागिरी विक्रमवीर थापा (मेघालय भारत), नेपाली साहित्य दूत मनास्लु डेन्जोम साम्पाङ (भुटान हालः न्यूयोर्क) र नेपाली साहित्य दूत अन्नपूर्ण लक्ष्मन न्यौपाने (बर्मा) लाई दिइने भएको छ ।
यसैगरी प्रत्येक बर्ष घोषणा गरिने बर्षको उत्कृष्ट शाखा यस बर्ष कुवेत शाखाले पाएको छ भने यस वर्षको उत्कृष्ट सदस्यमा इजरायल शाखाकी पूर्व महासचिव यासिन राई छानिएकी छिन् । अघिल्लो वर्षको कार्यलाई मूल्याङ्कन गरी उत्कृष्ट शाखा र सदस्य घोषणा गर्ने प्रचलन छ ।
बैठकले नेपाल शाखाका अध्यक्ष रमेश कंडेल, कुवेत शाखाका अध्यक्ष अमित राई, इजरायल शाखाका अध्यक्ष काजल घिमिरे र उत्कृष्ट सदस्य घोषित यासिन राईलाई केन्द्रीय समिति सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ ।
हाल संचालनमा रहेको विश्वब्यापी खुल्ला कविता प्रतियोगिता २ को लागि प्राप्त भएका कविता र त्यसको मूल्याङ्कन साथै पुरस्कारका लागि बैठकमा १ लाख २५ हजार पैसा संकलन भएको छ । जसमा अध्यक्ष विश्वास दीप तिगेलाबाट ३० हजार, उपाध्यक्ष सुरेन्द्र परदेशीबाट रु १० हजार, कोषाध्यक्ष केदार सुनुवार संकेतबाट रु २५ हजार, सदस्य डा. लेखनाथ काफ्लेबाट रु १० हजार, नव केन्द्रीय सदस्य रमेश कंडेलबाट ५ हजार र मातृभूमिको लागि युवा अभियान थाइल्याडबाट रु ५० हजार छ ।
साहित्य महासङ्घको लागि योगदान गर्ने सबैलाई महासङ्घले ढिलो छिटो नछुटाई सम्झने अध्यक्ष तिगेलाले बताए ।
महासङ्घको १७ मुलुकमा २३ शाखाहरु रहेका छन् ।
महासङ्घले उपलब्ध गराएको सम्मानित दूतहरुको योगदान विवरण
१. कृष्ण प्रकाश श्रेष्ठः वि.स. १९९४ कार्तिकमा थानकोट काठमाडौंमा जन्मनु भएका साहित्यकार श्रेष्ठका एक दर्जन बढि कृति प्रकाशित छन् । वहाले १२ वटा रसियन भाषाको पुस्तक नेपालीमा अनुवाद गर्नुको साथै ७ वटा नेपाली पुस्तक रसियन भाषामा अनुवाद गर्नुभई अमुल्य योगदान गर्नुभएको छ । झण्डै ४ दशक अघिदेखि रसियामा बसोवास गर्दै आउनु भएका श्रेष्ठ अनवरत नेपाली साहित्यको काममा सक्रिय अंग्रज स्रष्टा हुनुहुन्छ ।
२. सुरेसजंग शाहः वि.स. २०१५ साउन १५ गते कार्तिक स्वामी ७ जुम्लामा जन्मनु भएका साहित्यकार शाह सन् १९९० को दशकबाटै युकेमा बसोवास गर्दै आउनु भएको छ । वहाका ९ वटा कृति प्रकाशित छन् । युकेमा नेपाली साहित्यको सस्थागत विकासको प्रथम श्रेय साहित्यकार शाहलाई जान्छ । वहाकै पहलमा सन् १९९५ मा स्थापित नेपाली साहित्य विकास परिषद अहिले पनि माउ साहित्यिक संस्थाको रुपमा रहदै आएको छ । युकेमा नेपाली साहित्यको केन्द्रविन्दुको रुपमा शाहलाई चिनिन्छ ।
३. कपिल अधिकारीः ताइवानमा सेवारत अधिकारीको जन्म वि.स. २०२३ भाद्रमा जिरी दोलखामा भएको हो । अधिकारीले सन् २००३ देखि इपत्रडटकम संचालन गर्दै आउनु भएको छ । नेपाली साहित्यलाई नयाँ प्रविधिमा लैजाने पहिलो पुस्ताको रुपमा चिनिनुहुन्छ । नेपाली साहित्य अनलाइनमा सन् १९९४ ताकै प्रवेश गरेको भएपनि निरन्तर संचालनमा रहेको नेपाली साहित्यिक वेवसाइट इपत्रडटकम हो । साहित्यकार अधिकारीका फर्मोसाका गीतहरु नामक एक कविताकृति प्रकाशित छ ।
४. डा. महेन्द्र कुमार मल्लः दैलेख डाँडापराजुलमा वि.स. २०२६ पुष २५ मा जन्मनु भएका डा. मल्लले आधुनिक नेपाली उपन्यासमा मिथक विषयबाट विद्यावारिधि गर्नुको साथै नेपाली भाषा तथा साहित्य सम्बन्धिका ४ कृति नेपाली साहित्य जगतलाई प्रदान गर्नुभएको छ ।
५. टंक सम्बाहाम्फेः धनकुटाको कुरुलेतेनुपा ५ मा जन्मनु भई सन् १९९० कै दशकमा हङकङ प्रवेश गर्नुभएका सम्बाहाम्फेले www.srasta.blogspot.co.ukनिर्माण गरि सम्पूर्ण नेपाली साहित्यकारहरुको वायोडाटा राखेर नेपाली साहित्यलाई ठूलो योगदान दिनु भएको छ । वहाको ६ वटा कृति प्रकाशित छन् साथै नेपाली साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष हुनुहुन्छ ।
६. बिक्रमवीर थापाः २२ फेब्रुवरी १९५० मा वारपथ्थर सिलाङ, मेघालयमा जन्मनु भई भारतीय सेनामा सेवागरि सेवानिवृत्त हुनुभएका साहित्यकार थापाको ६ वटा आफ्नै कृतिहरु प्रकाशित छन् ।
७. डेन्जोम साम्पाङः गोलन्टी गाँउ जोङखर भुटानमा जन्मनु भएका साम्पाङ नेपाली साहित्यमा स्वीकारोक्ति सिद्धान्तका अध्यता तथा भुटनीज लिटरेरी अर्गनाइजेशनका अध्यक्ष हुनुहुन्छ । हाल वहा अमेरिकामा बसोवास गर्दै आउनु भएको छ ।
८. लक्ष्मन न्यौपानेः रत्नभूमी मोगोक म्यान्मा बर्मामा जन्मनु भएका न्यौपानेले नेपाली भाषा साहित्यको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएको छ । नेपाली साहित्य डिप्लोमाका संस्थापक दुई कृति र अनेक सम्पादन रहेका छन् ।
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन