भूतपूर्व गोर्खा सैनिकले बेलायती छायाँ रक्षामन्त्री भेटे

लन्डन । बेलायतको स्वीन्डन बस्दै आएका ६० भन्दा बढी पूर्व गोर्खा सैनिकले हाउस अफ कमन्समा छाँया रक्षामन्त्रीसँग भेट गरेका छन्। पेन्सन सुधार र गोर्खालीहरुको बाक्लो उपस्थिति रहेको स्थानमा कसरी सहयोग गर्न सकिन्छ भन्नेसहितका विविध विषयमा छलफल गर्न विपक्षी लेबर पार्टीको आमन्त्रणमा उनीहरु संसद भवन पुगेका हुन्। सन् १९९७ भन्दाअघिका गोर्खा सैनिकहरुले बेलायती समकक्षीको तुलनामा निकै कम पेन्सन पाउने गरेका छन् । बेलायतले सन् १९४७ को सम्झौताको हवला दिएपनि समान पेन्सनका लागि पूर्व गोर्खा सैनिकले लामो समयदेखि संघर्ष गर्दै आएका छन् ।

पूर्व सांसद एनी स्नेलग्रोभसँग हाउस अफ कमन्समा पूर्व गोर्खा सैनिकको सामूहिक फोटो

पूर्व सांसद एनी स्नेलग्रोभसँग हाउस अफ कमन्समा पूर्व गोर्खा सैनिकको सामूहिक फोटो

छायाँ रक्षामन्त्री केभान जोन्ससँगको भेटमा लामो समय समान पेन्सनको विषयमा केन्द्रित थियो ।

‘विगत दुई शताब्दीदेखि गोर्खाहरुले बेलायती राजमुकुटको सेवा गरेको विषयलाई अपमानको रुपमा नभै सम्मान र गर्वको रुपमा लिएको छ ‘जोन्ससँग छलफलमा संलग्न रहेका नेपाली संगठनका संयोजक रहेका लालसुन्दर राईले भने, ‘लेबर सरकारको पालामा गोर्खाले धेरै वटा अधिकार प्राप्त गरेका छन् । लेबर पार्टीको छायाँ सरकारका रक्षामन्त्रीसँग भेट निकै सम्मानको रुपमा लिएका छौं । ‘

राईले गोर्खालीहरुले बेलायती समकक्षीहरुले भन्दा आफ्नो जिम्मेवारी पुरा गर्न कसर बाँकी नराखेपनि पूर्व गोर्खा सैनिकहरुले पेन्सनको विषमा विभेद र समस्या झेल्नु परेको बताए ।

उनले चाँडै नै बेलायत सरकारबाट निष्पक्ष व्यवहार हुने अपेक्षा लिएको बताए। पूर्व गोर्खा सैनिकको भेटमा साथमा रहेकी साउथ स्वीन्डनकी पूर्व संसाद एनी स्नेलग्रोभ गोर्खा समुदायको सहयोग अझै धेरै गर्न आवश्यक रहेको बताइन् । तर उनले पेन्सन सुधारको प्रतिवद्धता असमर्थ रहेको बताइन।

‘पछिल्लो २ सय वर्षदेखि बेलायती सैनिकसँगै बहादुरीसाथ द्वन्द्वमा लडेका गोर्खा सैनिकलाई धन्यवाद दिनका लागि धेरै बाँकी नै छ,’ उनले भनिन् ‘केभानले सन् १९६८ को कटौतीमा परेका चरम गरिबीमा बाँच्दै आएका गोर्खा सैनिकहरुको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री