शुक्रबार, असोज ९ २०७७ | Fri, September 25, 2020
नेपालको समय: १९:०६ | UK Time: 14:21

दस हजार बलिदानको जवाफ प्रचण्ड र वैद्यले दिनुपर्छ: चन्द

वीनेपाली
२०७१ मंसिर १५ गते १९:२७

काठमाडौं। माउ पार्टी नेकपा-माओवादीसँग सम्बन्ध विच्छेदको घोषणा गरेको एक साताभित्रै नेत्रविक्रम चन्दको नेतृत्वमा नेकपा माओवादी गठन भएको छ। राष्ट्रिय नाचघरको खचाखच भरिएको हलमा नवगठित नेकपा माओवादीका संयोजक नेत्रविक्रम चन्दले राष्ट्रिय स्वाधिनता, जनजीविका र जनताको अधिकार रक्षाका लागि बलिदान दिन तयार रहेको घोषणा गरेका छन्।

काठमाण्डूमा सोमबार पत्रकार सम्मेलन गरेको नेकपा माओवादीले सशस्त्र युद्धको अपेक्षा विपरित राजनीतिक प्रक्रिया अघि बढिरहेको भन्दै आफूहरुले पछिल्लो कदम चाल्नु ऐतिहासिक आवश्यकता भएको बताएको छ ।Picture_052

‘ क्रान्तिको नेतृत्व प्रचण्ड, बैद्यले गर्नु पर्थ्यो तर दुखका साथ भन्नुपर्छ उहाँहरुले जनयुद्धको एजेण्डा छोड्नुभयो’, उनले भने ‘ हामी रहरले होइन बाध्यताले नयाँ क्रान्तिमा होमिएका छौ । केहिले मर्ने बाटोमा लाग्यो भनेको पनि सुनियो तर भौतिक जीवन अजम्बरी हुँदैन । किन बाँच्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ । ’

जनचाहना पूरा गर्न नसकेको जवाफ प्रचण्डले दिनुपर्ने विप्लवले बताए । उनले भने, ‘जनयुद्धमा १० हजार जनताले बलिदान दिएका छन्, तर उनीहरुको चाहना पूरा भएको छैन, किन पुरा भएको छैन प्रचन्डले जवाफ दिनुपर्छ । ’

उनले अघि थपे ‘शहिदको सपनालाई लत्याएर एक्लै हिड्ने अधिकार कोहिसँग पनि छैन ।’ उनले राष्ट्रिय स्वाधिनता र जनताको अधिकार रक्षाको लागि बलिदान दिन नयाँ पार्टी गठन गरेको उल्लेख गर्दै प्रचन्ड लगायतका माओवादी नेताहरु निजी स्वार्थमा फंसेको आरोप लगाए । ‘काँग्रेस र एमालेले माओवादी नेतृत्वलाई करोडौ रुपैयाँमा किनेका छन् ’ उनले भने । तत्कालिन जनमुक्ति सेनाको तलव घोटलाको प्रशंग उल्लेख गर्दै विप्लवले अघि भने ‘ जनमुक्ति सेनाको ४ अर्ब रुपैया खोइ भन्ने अधिकार जनतालाई छ ।’

घोषणा कार्यक्रममा चन्दले मुख्य सत्तारुढ दलहरुविरुद्ध संघर्षमा उत्रिने चेतावनी त दिए, तर यसअघि चर्चामा आएजस्तो फेरि सशस्त्र संघर्ष थाल्ने योजनाबारे भने प्रष्ट जवाफ दिएनन्। माओवादीको नेतृत्वभन्दा कांग्रेस, एमालेप्रति कडा रुपमा चन्द प्रस्तुत भएका थिए। कार्यक्रममा नेकपा माओवादीले नेपाली कांग्रेस प्रमुख शत्रु भएको बताए।

प्रेस विज्ञप्तिको पूर्ण पाठ:

हाम्रो गौरवशाली पार्टी ने.क.पा.माओवादीको केन्द्रीय समितिको २०७१ साल मङ्सिर ११, १२ र १३ गते केन्द्रीय समितिका जेष्ठ सदस्य कमरेड असारेका अध्यक्षतामा सम्पन्न बैठकले लिएका ऐतिहासिक निर्णयहरू सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ –

१. मङ्सिर ७ गते कमरेड किरणको अध्यक्षतामा बसेको केन्द्रीय समितिको पूर्ण बैठकमा कमरेड किरणले पेश गर्नुभएको प्रस्ताव र अभिव्यक्ति दुवै आजको देशको राजनीति र पार्टीमा चलिरहेको दुईलाइन सङ्घर्षको परिवेशमा पार्टी एकतावद्ध गर्ने प्रकृतिको नभई पार्टी विभाजन उन्मुख भएको साथै उक्त प्रस्ताव स्वीकार गर्ने सम्भावना कुनै पनि क्रान्तिकारीको लागि सम्भव नरहेको निस्कर्षसहित कमरेड किरणको नेतृत्वसँग सम्बन्ध विच्छेद गर्न दिएको पत्र सही रहेको निष्कर्ष निकाल्दै बैठकले सो निर्णय अनुमोदन गर्यो ।

 

२. कमरेड किरणको नेतृत्वसँग सम्बन्ध विच्छेद गरिसकेपछि पार्टी पुनर्गठन गरियो । पुनर्गठित पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी माओवादी रहने निर्णय लिइयो ।

 

३. पुनर्गठित पार्टी ने.क.पा.माओवादीको अगाडि नीति र कार्यक्रमका लागि “प्रतिक्रियावाद र राष्ट्रघातका विरुद्ध एकीकृत आन्दोलन ! नयाँ जनवादी क्रान्तिका लागि प्रथम राष्ट्रिय सम्मेलन !!” नाराका साथ अगामी पुस २३, २४, २५ र २६ गते प्रथम राष्ट्रिय सम्मेलन गर्ने निर्णय लिइयो । त्यसपछि केन्द्रीय कमरेड किरणसँग सम्बन्ध विच्छेद गरी आउनुभएका केन्द्रीय समितिका सदस्य, वैकल्पिक केन्द्रीय समितिका सदस्य र सल्लाहकार कमरेडहरू रहेको राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरियो । आयोजक समितिको संयोजकमा कमरेड विप्लव र पार्टी प्रवक्तामा कमरेड प्रकाण्डलाई निर्वाचित गरियो ।

 

४. पुनर्गठित ने.क.पा.माओवादीलाई राज्य, जिल्ला, इलाका र सेलसम्म पुनर्गठन गर्ने र व्यवस्थित परिचालन गर्ने निर्णय भयो ।

 

५. वर्गीय, जातीय, लिङ्गीय, क्षेत्रीय साथै राष्ट्रिय स्वाधीनताको मुक्ति आन्दोलनलाई दृढतापूर्वक अगाडि बढाउन सबै जनवर्गीय संगठनहरू युवा, विद्यार्थी, मजदूर, किसान, जनजाति, दलित, महिला, सांस्कृतिक तथा सबै राष्ट्रिय मुक्ति मोर्चालाई ने.क.पा. माओवादीलाई साथ दिन आग्रह गर्ने निर्णय गरियो ।

 

६. सबै खालका विदेशी हस्तक्षेप एवं अतिक्रमण विशेषतः भारतीय विस्तारवादद्वारा नेपालको राजनीतिक, आर्थिक, सांस्कृतिक, प्रशासनिक, जलस्रोत आदिमा गरिएको हस्तक्षेपको सशक्त प्रतिरोध गर्ने सो प्रतिरोध आन्दोलनका लागि सबै देशभक्त, स्वाधीनताप्रेमी, प्रगतिशील, वामपन्थी शक्तिहरूसँग एकतावद्ध हुँदै अगाडि बढ्ने निर्णय भयो ।

७. संसदवादी राजनीतिक दलहरू मुलतः नेपाली कांग्रेस र नेकपा (एमाले) ले केही विदेशी शक्तिको आड र उक्साहटमा निर्वाह गरेको भूमिका र बेइमानीका कारण नेपाली जनताले पुनः ठुलो मुल्य चुकाउनुपर्ने परिस्थिति सृजना हुँदै गएको छ । दलालहरूको उक्साहटमा पर्दै जनताका प्रस्तावहरूबाट पछाडि फर्किन पुगेका छन् । संसदवादी र माओवादीबीचमा भएका सहमतिको राज्यमा सहअस्तित्व, सहकार्य र साझेदारीको विपरीत सबै सहमति र सम्झौताको उल्लङ्घन गर्दै जनयुद्ध; जनआन्दोलनबाट प्राप्त जनताका अधिकारहरूलाई निषेध गर्दै पछाडि फर्किरहेका छन् । उनीहरूको जोड एकलौटीरुपले राज्यलाई कब्जा गर्ने रहेको छ । यो प्रतिक्रान्तिकारी कदम हो । संसदवादीहरूको यसखाले भूमिकाले देशमा शान्ति, अग्रगमन, राजनीतिक निकास र समृद्धि ल्याउने नभई अस्थिरता, पश्चगमन, अराजकता सृजना हुँदैछ । देशको लागि यो गम्भीर राजनीतिक संकटको परिस्थिति हो । यदि जनता र देशको अपेक्षा र आवश्यकतालाई ग्रहण गर्ने हो भने आजको राजनीतिक सङ्घर्षको अग्रगामी समाधान संसदवादी र माओवादीको बीचमा पुनः शान्ति प्रक्रियाका समग्र विषय (राज्यसत्ता, न्यायालय, सुरक्षा प्रणाली, आर्थिक जनअधिकार, संविधान) मा पुनः समीक्षा गर्दै नयाँ सहमतिमा पुग्नुपर्ने आवश्यकता छ । त्यसको लागि कथित संविधानसभा विघटन गरी अधिकार सम्पन्न राष्ट्रिय राजनीतिक सभा गठन गरिनुपर्दछ । उक्त राजनीतिक सभाबाट नै सबै विषयको निकास निकालिनुपर्दछ ।

 

८. शान्ति प्रक्रियाको विषयमै विस्तृत छलफल गर्न आवश्यक छ । हाम्रो विचारमा दुई सत्ता, दुई सेना, दुई अदालत, दुई प्रशासनको मान्यतालाई केन्द्र विन्दुमा राखेर सबै क्षेत्रमा पुराना संयन्त्रहरू दुवैतिर विघटन गरेर नयाँ संरचनाहरूमा पुग्न आवश्यक छ । किनकि शान्ति प्रक्रियाको मुल मर्म नै सहअस्तित्व, सहकार्य र साझेदारीता हो । कुनै पनि वहानामा यो मर्मको उलङ्घन कुनै एक पक्षद्वारा गरिनु भनेको अन्ततः शान्ति प्रक्रिया असफल हुनु नै हो । आज यो पक्षमा पनि हामी राज्यसत्ताको ध्यान केन्द्रित गर्न चाहन्छौँ ।

 

९. कम्युनिस्ट पार्टी श्रमजीवि जनताको अग्रदस्ता तथा प्रगतिशील, देशभक्त शक्तिहरूको नेतृत्वदायी शक्ति हो । यसले ठोस परिस्थिति अनुरुप ठोस निर्णयहरू गर्दै जनताको नेतृत्व गर्नुपर्दछ । हाम्रो पार्टीले यसको प्रयत्न गर्दै आएको छ । परन्तु कमरेड किरण पार्टी नेतृत्वमा रहिसकेपछि परिस्थिति अनुरुप देश र जनताको नेतृत्व गर्ने मामिलामा कमजोर बन्दै एक प्रकारले गतिहीन बन्न पुग्नुभयो । साथै प्रतिक्रान्तिकारी धारालाई चिर्न दृढतापूर्वक अगाडि बढ्नुको सट्टा यथास्थितिकै पछाडिमा घिस्रिने र गोलचक्करमा फस्ने समस्या देखापर्यो । यो समस्याबाट निकास दिन पार्टीले राष्ट्रिय सम्मेलन या विशेष महाधिवेशन गर्नुपर्ने निर्णय लिइयो । परन्तु उक्त निर्णयको कार्यान्वयन पनि समय बिताएर मात्र गर्ने या अन्तसम्म पछि धकेल्ने सोचाइ देखापर्यो । परिस्थितिको जटिलतालाई बुझेर विशेष कदम चालौँ भन्ने सुझावलाई बेवास्ता गर्दै उल्टो पार्टीभित्रको समस्यालाई मुख्य बनाउँदै असहिष्णुता, संकीर्णता, पुर्वाग्रह र वर्ग सङ्घर्षबाट भाग्ने र अन्तर्सङ्घर्षमै रमाउने शैली प्रकट भयो ।

१०.नेपालीमा कम्युनिस्ट पार्टीको स्थापनापछि राज्य र जनताको बीचको अन्तर्विरोध र सङ्घर्षको वस्तुस्थिति अनुरुप कम्युनिस्टहरूबीच बहस, अन्तर्सङ्घर्ष, एकता, पुनर्गठन निर्धारित हुँदै आएका छन् । प्रतिक्रियावादी राज्यसत्ताको विरुद्ध जनताका अधिकारहरूको नेतृत्व गर्नेगरी कम्युनिस्ट नेतृत्व अगाडि आउँदा व्यापक केन्द्रीकरण र ध्रुवीकरण हुने गरेको छ भने नेतृत्वले त्यो भूमिका पूरा गर्न नसक्दा भएको शक्ति विकेन्द्रित, विभाजित हुने गरेको छ । जनयुद्धकालमा माओवादी नेतृत्व वरिपरि व्यापक कम्युनिस्ट केन्द्रीकरण र शान्तिकालमा आएपछि भद्दा विकेन्द्रीकरण, विभाजन, छरपस्टता यसैका उदाहरण हुन । आज कम्युनिस्ट आन्दोलनमा अविश्वास, आशंका, छरपस्टता, अराजकता, आत्मसमर्पण मुख्या चुनौती बनेको छ । यसको बोध कम्यनिस्ट नेता, कार्यकर्ता, समर्थक सबैमा हुन पुगेको छ । माओवादी आन्दोलन हाल देखिएका अन्तर्सङ्घर्ष, विभाजन आदि पनि यसैका परिणाम हुन् । सम्भवतः यो कालक्रमले एउटा चक्र पार गरिसकेको छ । अब नेपाली कम्युनिस्ट आन्दोलनमा पुनः एकता, केन्द्रीकरण र ध्रुवीकरणको प्रक्रिया अगाडि आउनेछ । आजको प्रमुख सङ्घर्ष र समस्या कम्युनिस्टहरूबीचको होइन र बनाउनुहुँदैन । समस्या दलाल पुँजीवादी राज्यसत्ता र नेपाली जनताको बीचको नै हो । केही व्यक्तिको तुच्छ व्यक्तिगत स्वार्थ र कमिसनको लागि देशको अमुल्य श्रोतसाधन (खानी, पानी, व्यपार) बेचेर खाने दलाल र उनीहरूको संरक्षण गर्ने प्रतिक्रियावादी सत्ता र स्वाभिमानी नेपाली जनताको बीचको सङ्घर्ष हो । हामी कम्युनिस्टहरूले त्यसले नेतृत्व गर्ने बेला आएको छ । यसको लागि आपसी अन्तरहरूलाई सहायक बनाउँदै सबै कम्युनिस्टहरू विशेषतः माओवादी कम्युनिस्टहरू एक अर्काका सहयोगी बन्दै अगाडि बढ्नुपर्ने आवश्यकता छ ।

 

११. कमरेड किरणसहितको नेतृत्वसँग सम्बन्ध विच्छेद गरेर पार्टी पुनर्गठन गर्दा अनेकौं भ्रम फैलाइएको देखिन्छ । त्यस्ता प्रचारहरूमा मुख्यतः माओवादी जंगल फर्किदैछ, हतियार उठाउँदैछ, युद्ध गर्दैछ, संवाद र सहमतिको बाटो त्यागिसक्यो आदि आदि छन् । वास्तवमै माओवादीका राजनीतिक, जनअधिकार, राष्ट्रिय स्वाधीनतासहित अग्रगमनकारी सुस्पष्ट दृष्टिकोणलाई छोपछाप पारिदिने, सम्पूर्ण नागरिकहरूको ध्यान विषयान्तर गर्ने, पार्टीबारे भ्रम श्रृजना गरिदिन र प्रतिक्रान्ति र प्रतिक्रियावादी राज्यसत्ता स्थापनाको बाटो सहज गरिदिने जाल हो । यी सबै प्रायोजित भ्रमहरुलाई खारेज गर्दै ती सहमतिहरूको समीक्षा गर्दै नयाँ सहमतिसहित मुलुकलाई शान्ति र अग्रगमनतिर लैजान तयार होऊन् भन्ने रहेको छ । जुन कदम नै वास्तविक शान्ति, अग्रगमन र समृद्धिको आधार हो । यदि स्पष्ट इमानदारीतापूर्वक दृष्टिकोण र प्रस्तावलाई हुँदै नभएको सिर्फ युद्ध र हतियारतिर मात्र प्रचार गरिदिनु भ्रामक त छ नै, यो बेइमानी, जालझेल र भयानक षड्यन्त्रको पुलिन्दा मात्र हो । यसले अनजानमै देशलाई द्वन्द्वको भूमरीमा फसाउँछ । हाम्रो आग्रह छ कि यसखालका गलत प्रचार, भ्रम र जालझेलको भ्रममा नपर्न अन्तर्राष्ट्रिय समुदाय, आम नागरिक र सबै सरोकारवाला पक्षसँग आग्रह गर्दछौं ।

 

१२. संसदवादी र माओवादीबिच भएका पाँच बुँदे सहमति १२ बुँदे सहमति र त्यसको जगमा बनेको विस्तृत शान्ति सम्झौता हुँदै शान्ति प्रक्रियामा भएका तमाम सहमतिहरूको नेपाली कांग्रेसबाट उल्लंघन भएको छ । जसमा सहअस्तित्व, सहमति, सहकार्यको मन्यताअनुसार सत्ता साझेदारी, भूमिहीन, सुकुम्बासी तथा आम किसानका जमिनको समस्याको समाधान, कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका लगायत राज्यको पुनर्संरचना जस्ता आधारभूत सहमतिहरू एकलौटी रुपमा कांग्रेसको नेतृत्वमा बनेको संसदीय प्रणालीले भंग गरेको छ । त्यसलाई सच्याउँदै सहमतिहरूलाई इमानदारीपूर्वक कार्यान्वयन गरियोस् भन्ने हाम्रो पार्टी चाहन्छ ।

 

१३. सहमतिहरूको उल्लंघनको प्रभाव राष्ट्रियता, जनतन्त्र, जनजीविकामा देखापरेका छन् । जनताको नैसर्गिक तथा मानव अधिकारको हनन भएको छ । स्वास्थ्य, शिक्षा, रोजगारीमा व्यापारीकरण भएको छ । महिला तथा बालबालिकाको बेचबिखन जस्ता जघन्य अपराधहरू भएका छन, घरेलु हिंसा, पारिवारिक तथा सामाजिक विखण्डन, धार्मिक असहिष्णुता र अतिक्रमण, मूल्य वृद्धि, सेना तथा प्रहरीमाथि राजनीतिक विभेद भएको छ । कर्मचारीन्त्रको व्यापक भ्रष्टीकरण भएको छ । साथै, देशका विभिन्न जाति, क्षेत्र, लिंग र वर्गका जनताको सत्तामा हुने समानुपातिक सहभागिताको व्यवस्थालाई खारेज गर्ने हर्कत भइरहेको छ । जातीय क्षेत्रीय लिंगीय वर्गीय विभेदको अन्त्य गरी राष्ट्रिय सवाधीनता, आर्धिक समृद्धि सांस्कृतिक रुपान्तरण सहित राष्ट्रिय एकता पैदा गर्ने उद्देश्यका साथ माओवादीले अगाडि सारेको राष्ट्रिय पहिचानको आधारमा संघीयताको मुद्दालाई कांग्रेस लगायतका संसदवादीहरूले जातीय विभेद र जातीय साम्प्रदायिक तथा राष्ट्रिय विखण्डनको दिशातिर धकेलिएको छ । यी समस्याहरूको कारणहरू सहमतिको उल्लंघनले लयाएका परिणामहरू हुन् ।

 

१४. माथिका सहमतिहरू क्रान्तिको नेतृत्व गरेको तत्कालीन माओवादी, सत्तासीन संसदवादी र संयुक्त राष्ट्र संघ लगायत अन्तर्राष्ट्रिय समुदायको रोहवरमा भएका हुन् । यी सहमतिहरू कांग्रेसबाट एकलौटी रूपमा उल्लंघन हुँदा संयुक्त राष्ट्र संघ लगायत अन्तर्राष्ट्रिय समुदायको घोर अवहेलना तथा उपेक्षा भएको छ । तसर्थ, यी सहमतिहरूलाई पूर्ण रुपले कार्यान्वयन गराउन संयुक्त राष्ट्र संघ लगायत अन्तर्राष्टिय समुदायको विशेष हाम्रो पार्टी ध्यानाकर्षण गर्दछ ।

१५. भारतसित भएको सन् १९५० को असमान सन्धि र त्यसपछिका तमाम गोप्य तथा नेपालको हित विपरीत सहमतिहरुको जगमा टेकेर पीटीए, पीडीए लगायत नेपालका जमिन, जङ्गल, जल, खनिज लगायतका प्राकृतिक सम्पदामाथि नियन्त्रण गरिरहेको छ । सन् १९५० लगायत सबै प्रक्रिया तत्काल खारेज गरियोस्् भन्ने हाम्रो पार्टी चाहन्छ ।

 

१६. हामी शान्ति चहान्छौं, स्वाधीनता चाहन्छौं, परिवर्तन र समृद्धि चाहन्छौं । हामीलाई नेपाली जनता, श्रमजीवि वर्ग, राष्ट्रिय स्वाधीनताको अधिकारबाहेक अरू कुनै स्वार्थको सर्त र आवश्यकता मान्य छैन । हाम्रो यो अभियानमा देशभक्त, वामपन्थी, प्रगतिशील, मजदूर, किसान, जनजाति, दलित, महिला, युवा सबैले सहयोग पुर्याई दिनु हुनेछ भन्ने विशेष आग्रह गर्दछौं ।

क्रान्तिकारी अभिवादनसहित !

…….. ……….

मितिः– २०७१ मङ्सिर

(विप्लव)

संयोजक

राष्ट्रिय सम्मेलन आयोजक समिति

नेपाल कम्युनिस्ट पार्टी माओवादी

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक