चेपाङ विद्यालयलाई बेलायतबाट साढे सात लाख

1

लण्डन । नेपालको अत्यन्त पिछडिएका जाति मध्ये दोस्रो नम्बरमा पर्ने चेपाङ जाति अध्यनरत श्री अन्तोदय विद्यालयको सहयोगार्थ बेलायतस्थित गिलफोर्डमा एक सांस्कृतिक कार्यक्रम गरिएको छ । संस्थाका संयोजक घनश्याम प्रधान बेलायत भ्रमणमा रहेको अवसर पारी कार्यक्रम गरिएको हो ।
कार्यक्रमबाट करिब ७ लाख ५० हजार रुपैयां संकलन भएको कार्यक्रम संयोजक कुशल श्रेष्ठले जानकारी दिएका छन् ।

उक्त विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्यापन गराइन्छ भने कक्षा ९ देखि माथिका विद्यार्थी नजिकैको सरकारी विद्यालयमा अध्ययनरत छन् । हाल १६१ विद्यार्थी रहेको उक्त विद्यालयमा ७२ छात्रा तथा ८९ छात्र छन् ।

संस्थापक स्वर्गीय किशोर चन्द्र ढुङ्गानाको सन् २००४ मा असामयिक निधन भएपछि सो विद्यालय उनकै नामबाट अर्थात किशोर चन्द्र ढुङ्गाना मेमोरियल पब्लिक एजुकेशन ट्रस्टबाट सञ्चालित छ । ढुङ्गानाको असामयिक निधनपछि विद्यालयमा आर्थिक संकट परेको हो ।

ब्रदर्श ब्याण्डका अमित र रोशनले जहाँ छन् वुद्धका आँखा… बोलको गीतबाट शुरु गरिएको कार्यक्रममा स्वागत मन्तव्य संजय कंडेलले दिएका थिए ।

स्थानीय कलाकारहरु र ब्रदर्श ब्याण्डको प्रस्तुतिसंगै कन्दरा ब्याण्डका गायक विवेक श्रेष्ठको विशेष प्रस्तुतिले उपस्थित दर्शकहरुले भरपुर मनोरन्जन लिए । केही कालजयी गीतबाट आफ्नो प्रस्तुति सुरु गरेका श्रेष्ठले आफ्नै एल्बमबाट हङकङ पोखरा… र लेककी हे माया… गाइरहँदा उपस्थित दर्शकहरु डान्स् फ्लोरमा आई कम्मर मर्काउन पछि परेनन् ।

कार्यक्रममा स्थायी घर चितवन भएका गिलफोर्डबासीको बाक्लो उपस्थिति थियो । साथै पुण्य कामका लागि सबैले आफनो तर्फबाट आर्थिक सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे ।

केदार थपलियाले सञ्चालन गरेको उक्त कार्यक्रममा खैरेनी माविका पूर्व प्रधानाध्यापक समेत रहेका संस्थाका संयोजक घनश्याम प्रधानले विद्यालयको स्थापना र यसको उद्देश्यबारे जानकारी दिएका थिए  । स्वर्गीय किशोर चन्द्र ढुङ्गानाद्वारा स्थापित श्री अन्तोदय विद्यालय चितवनको खैरहनी गा.वि.स. वडा नं. १ करैयामा छ । सो विद्यालयमा पिछडिएका चेपाङ बालबालिकाका लागि निःशुल्क पठनपाठन साथै पुस्तक लगायत अन्य पाठ्य सामग्रीको पनि व्यवस्था गरिएको छ ।
सो विद्यालयमा वार्षिक खर्च रु. ३४ लाख हुने गरेको छ भने आर्थिक सहयोग 
रु. २८ लाख ४३ हजार मात्र हुने गरेको छ जसका कारण विद्यालय अझै वार्षिक रु. ५ लाख ५७ हजार घाटामा छ ।

सन् २०१४ को अनुमानित तथ्यांक अनुसार नेपालमा चेपाङ जातिको जनसंख्या करिब ८८,४०९ मात्र छ जसमध्ये चितवनमा ४० प्रतिशत, मकवानपुरमा २९, धादिङमा २०, गोर्खामा ५ तथा लमजुङ, तनहुँ लगायत अन्य ठाउँमा ६ प्रतिशत रहेको संयोजक प्रधानले जानकारी दिए । कार्यक्रममा एकसय पाउण्ड भन्दा बढि सहयोग पुर्याउनेलाई खादा लगाई सम्मान गरिएको थियो ।

सञ्चारकर्मी कुशल श्रेष्ठको संयोजनमा आयोजित सो कार्यक्रम सफल पार्न सिप्रा श्रेष्ठ, प्रताप खरेल, दिपा उप्रेती, मोहन श्रेष्ठ, युरन जोशी लगायतले विशेष सहयोग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री