शुक्रबार, असोज ९ २०७७ | Fri, September 25, 2020
नेपालको समय: १८:२१ | UK Time: 13:36

एनआरएनए यूके विवाद ः पात्रहरुको लडाईं सतहमा, निर्देशक अन्यत्रै

वीनेपाली
२०७१ मंसिर ३ गते २:३६

75692_1659251208730_5288872_n

पांच वर्षपछि फेरि सञ्चारमाध्यममा लेख्न मन लाग्यो । कुनै बेला सञ्चारमाध्यमहरुमा सक्रिय यो कलम केही पलका लागि विश्राममा राखें । यो बीचमा मैले मेरा औंला रुपी अवयवमा फेरि कलमलाई जवर्जस्ती डोब्ने काम गरिन । पहिले लेखिरहने कलमको बिर्को एक अमेरिकन लेखक Mark Twain को ‘If you want to build the society, you need two things; ignorance and confidence’ अर्थात समाज संरचनाको कुरा यदि तिमी गर्दैछौं भने तिमीसंग एक किसिमको अज्ञानता र विश्वास दुवै हुनुपर्छ भन्ने मान्यता अनुसरण गरेर रोकें । किनकि म संग विश्वास थिएन त्यसैले अज्ञानी भएको भानमा बसें । यस बीचमा फ्रेञ्च दार्शनिक Jacquic Darida को Deconstruction theory अथवा Semiotic analysis ले प्रभावित नभएको पनि होइन जसले भन्थेः I always dream of a pen that would be a syringe to the society. (म त्यो कलमको सपना देख्छु जसको प्रभाव समाजमा सुई जस्तो होस्) । मेरा एकजना साथी दिनेश घिमिरे पहिले पहिले मलाई लेख्न उक्साउंथे तर पछि भन्न छाडे । आज फेरि मेरो भाइ नवीनले आग्रह गरेर केही कोर्दैछु ।

जब समाज परिवर्तनका चाहना, एकीकृत हुने चाहना, आत्मअधिकारको चाहना, सामूहिक हितको चाहना शुरु हुन्छ कसैले बोल्नु पर्दैन, काल मार्क्स यही भन्छन् । उनी थप्छन्, यद्यपि समाजका केही सिमित व्यक्तिले जवर्जस्ती समाजको मसिहा बन्दै आम समुदायको प्रतिनिधित्व एक्लै गर्न खोज्छन् तब त्यो वर्ग, समुदाय आफ्नो अस्तित्व खोज्दै आफैं जुर्मुराउंछ र आफ्नो अस्तित्व आफैं खोज्न थाल्छ । हो मेरो आजको विषय यसैमा केन्द्रित छ, बेलायतको नेपाली समुदायको प्रसंगमा ।

वैयक्तिक तिक्तताको विषयमा मैले कहिल्यै लेखिन तर झुण्ड झुण्ड बीचमा भएको विवादमा म वाध्यताको कलम कोर्दैछु । मैले यहां झुण्ड झुण्ड भन्नुको मतलव हामी सबै विदेशिएका नेपालीहरुका साझा मुद्दाहरु छन्, साझा चाहना छ, सामूहिक अपेक्षा एवं एकै स्वरका अधिकारका मागहरु छन् तर हामी यहि सम्पूर्ण साझा सवालहरुबीच एक अर्काबीचको अस्तित्वलाई स्वीकार गर्न चाहन्नौं । मलाई लाग्छ, अहिलेको गैर आवासीय नेपाली संघ (एनआरएनए) को विवाद यसैबाट वीजारोपण भएको छ ।

विगतका १४ महिनामा हामी यही विवादमा अल्मलियौं । सयौं भेटघाटको अविछिन्न श्रृंखला शुरु गर्यौं । झुण्ड झुण्डमा विभाजित भयौं, व्यक्तिगत आरोप प्रत्यारोपको तल्लो तहमा सगौरव प्रस्तुत भयौं । कसैको व्यक्तिगत व्यवहारमा जसले जति प्रहार गर्यो त्यति नै आफूले गौरव गरेको महशुस गर्ने घृणित तहमा ओर्लियौं । हामी सबैले आफ्नो औकात देखायौं । तर कहिल्यै सोच्यौं आखिर हामी कहां पुग्यौं त ? नेपालमा जन्मेको विदेशमा लामो समय भएकोले जानी नजानी म पनि संगै संगै, शनै शनै सामेल भएको छु यो यात्रामा । आज सम्झिंदा लाग्छ आखिर यो समयमा कहां पुग्यौं त ? आखिर एनआरएन हुन कसको सदस्य भन्ने कुराको शुरुवात कसले गर्यो ? हालको अवस्थामा पुगेको एनआरएनए यूकेको मुख्य विवादको जरो के हो त ? के हामीले कहिल्यै बुझ्न तयार भयौं ? एनआरएन उसको वा त्यसको होइन। एनआरएन हाम्रो हो । अगाडि भने झैं नेपालमा जन्मेका वा नेपाली मुलका र निश्चित समयावधि विदेशमा बसेका हामी ढांट्न खोजेपनि एनआरएन हौं न कि त्यो हुन यो या त्यो पक्षको सदस्यताको रसिद काट्नु पर्दैन । कसैले सहीछाप र पासपोर्टको जमानी राख्नुपर्दैन । हामीसंग एनआरएन हुन अधिकार छ । हांसो उठेर आउंछ सदस्यताको रसिदको भरमा कुनै विदेशमा बस्ने नेपालीले आफ्नो कित्ता अनुसार यो वा त्यो अनुसारको भाग लगाउंछ । तपाईंलाई थाहै नभई यो पक्ष र उ पक्षको हिमायती बनाउंछ ।

केही समय यता बेलायतको सन्दर्भमा एनआरएनबारे सार्है चिन्ता भएको देखियो । विवादको चरम स्वरुपमा विभाजित महेन्द्र कंडेलजी र योगेन क्षेत्रीजीमा विभाजित एनआरएन । कता कता दया लाग्छ दुवैलाई देखेर तर श्रद्धा चाहिं कहिल्यै लागेन, ह्दयले मानेन । आखिरमा दुवै पात्रहरु हुन्, खेलाडीहरु अर्कै छन् । यथार्थ भन्दा एनआरएनए यूके लडाईं यि दुई पात्रबीच कहिल्यै थिएन । पात्रहरु (एक्टर्स) जहिले परिस्थिति अनुसार परिभाषित हुने कुरा निर्देशक (डाइरेक्टर्स) को हातमा हुन्छ ।

यो विवाद विम्वको तर स्वः विम्वको कहिल्यै थिएन, यो विवाद भिमानको हो स्वः भिमानको कहिल्यै थिएन । यो विवाद अभिमानको थियो तर अभिमानमा पनि स्वअभिमान कहिल्यै थिएन । द्धन्द्धका यी तीन महत्वपूर्ण आधारमा जहिले पनि स्व कहिल्यै झल्केन । आखिर पात्रहरु भएपछि स्व आफैं कहिल्यै मुल्य हुंदैन । स्व त क्रमशः त्वम मा परिभाषित हुन्छ । संस्कृतका महान विद्धान मदन मोहन मालवीय यसै भन्छन् ।

नढांटी भन्दा यो रंगमञ्चमा शुरुवात देखिनै दुई फरक प्रसंगका दुई झुण्ड थिए । एउटा झुण्डको प्रतिनिधित्व डा. उपेन्द्र महतो र जिवा लामिछाने (झुण्ड क) ले गर्थे भने अर्कोको शेष घलेहरुले झुण्ड ख बाट । सबैलाई विदित भएकै कुरा हो प्रारम्भदेखि नै यो संस्था यो वा त्यो कोणबाट नेपालका उच्च सरकारी ओहोदामा बस्ने र राजनैतिक वातावरणमा सम्वन्ध विस्तार गरेर आफ्नो व्यवसायिक फाइदा लिने मुलतः निजी योजनामा चल्यो । संस्थापन पक्षले यसैलाई मुल मन्त्र बनायो । आखिर यहांबाटै गलत परम्पराको शुरुवात भएको छ । तर, हामी विदेशमा बस्ने लाखौं नेपालीले निर्मिमेष सहमति जनाऔं, एनआरएनलाई आशाको धरोहर ठान्यौं र अझै भ्रममा छौं । जब झुण्ड (क) र (ख) को आपसी साझेदारी मिलेन । व्यवसायिक सामञ्जस्यता मिलेन, एक अर्काबीच वैमनस्यता शुरु भो । दुई पक्ष शुरु भयो । यो शुरुवातले अब एनआरएनका विभिन्न स्वरुप देखिनेछन्, कुनै एक एनआरएनको कल्पना अब कसैले नगरे हुन्छ यो मात्र यूकेको सवाल होइन । हामीले यी कुरा चिरा पार्न सक्नु  पर्थ्यो  तर हामी खाली पात्र बन्यौं, बेस्सरी ताली बजाउने तालिममा पारंगत भयौं ।

मलाई भित्रैदेखि सम्मान लागेर आउंछ प्रा. डा. सूर्य सुवेदी सरको । व्यक्तिगत रुपमा उहांको उपलव्धि, सामाजिक रुपमा उहांको उत्तरदायित्वको वहन र अन्तर्राष्टिय रुपमा उहांको पहिचान म जस्ता लाखौं मान्छेका लागि इर्ष्या गर्ने उपलव्धि हो र सर्वथा स्वीकार्य छ । मलाई विश्वास छ उहांको यही विश्वास कसैबाट विचलित नहोस् । मैले माथि भने जस्तै पात्र होइन तपाईं सक्षम निर्देशक बनेको हेर्न मन छ हामीलाई ।

अन्त्यमा, सम्पूर्ण हामी नेपाली आफैंमा चेतना भई हुर्किएका हौं । हाम्रो आफ्नै मुल्य मान्यता छ, आदर्श छ त्यसैले कसैको पात्र बन्न जरुरी छैन् । यद्यपि केही सिमित व्यक्तिले आफूले आफैंलाई जवर्जस्ती मसिहा घोषणा गर्न खोज्छन् तब त्यो वर्ग, समुदाय आफ्नो अस्तित्वको लडाईं आफैं खोज्छ भनेजस्तै गर्न सक्दैनौं । एनआरएन तपाईंको हो, मेरो हो, सबैको हो तर व्यक्तिको अहंमको होइन । नेपाली चर्चित पत्रकार विजय कुमारले भने जस्तै कुरोको चुरो अर्कै छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक