
दोस्रो दिन १६ विकेट खस्यो
काठमाडौं। नेपाल र श्रीलंका कम्बाइन ११ बीच दोस्रो तीन दिवसीय खेलको दोस्रो दिन १६ विकेट खसेको छ। पहिलो दिनको खेल वर्षाले प्रभावित भएपछि ५ विकेटको क्षतिमा ९५ रनबाट खेल्न थालेको कम्बाइन ११ एक सय ६२ रनमा अल आउट भएको थियो। नेपालका लागि सोमपाल कामीले पहिलो इनिङमा ४८ रन दिएर ६ विकेट लिएका थिए भने अमृत भट्टराईले तीन र करण केसीले एक विकेट लिए। पहिलो इनिङमा नेपाली टोली १ सय ९३ रनमा अल आउट भयो। श्रीलंकाका लागि प्रभात जयसूर्याले ६९ रन खर्चेर नेपालको ८ विकेट लिए।
केही भाग्यमानी देखिएका ओपनर सुवास खकुरेल र नरेश बुढाऐरले शतकीय पारी खेल्दै राम्रो सुरुवात दिलाएका थिए। तर मध्यक्रमका ब्याट्सम्यानहरुले त्यसलाई निरन्तरता दिन सकेनन्। खकुरेल ५५ र बुढाऐर ४३ रनको व्यक्तिगत स्कोरमा आउट भए । छैटौंनम्बरमा आएका राजेश पुलामीले सम्हालिएर खेले पनि अर्कोतिरबाट लगातार विकेट झरिरह्यो। पुलामी ३६ रनमा अविजित रहे।
पहिलो इनिङ्समा ३१ रनले पछि परेको श्रीलंका कम्बाइन ११ ले दोस्रो इनिङ्स सुरु गरेको छ। दोस्रो दिनको खेल सकिँदा उसले १ विकेटको क्षतिमा १० रन जोडेको छ । नेपालका अमृत भट्टराईले विकेट लिएका हुन्। श्रीलंका अझै २१ रनले पछाडि छ। लन्चपछि केही समय पानीले दोस्रो दिनको रोकिएको खेल पर्याप्त प्रकाश नभएको भन्दै निर्धारित समयअघि नै दिन समाप्तिको घोषणा गरिएको थियो।
पहिलो तीन दिवसीय खेलमा नेपाल पराजित भएको थियो।
प्रतिक्रिया
