आर्थिक अभावले उल्टो साइकल यात्री लन्डनमै विचल्ली

 

Cycle-yatri

लन्डन । विश्व साइकल यात्राका क्रममा हाल लन्डन आइपुगेका उल्टो साइकल यात्री वीरेश दाहालसहितको टोली आर्थिक अभावले लन्डनमै विचल्ली परेको छ । बीस दिनअघि अमेरिकाको भिसा लागेपनि साथमा पैसा नहुंदा उनीहरुको थप यात्रा रोकिएको हो । टोलीमा दाहालसहित बरुण अधिकारी र बजेन्द्रकुमार महरा सहयोगी छन् ।

लन्डनस्थित नेपाली दूतावासले बास बस्न दिए पनि बेलायतका नेपाली संघसंस्था र व्यक्तिबाट सहयोग नमिलेपछि उनीहरु चिन्तित छन् । ‘हामीले धेरैलाई एकमहिना अघि देखि इमेल र फोन गरेर सहयोग याचना गरिरहेका थियौं तर कसैले पनि हाम्रो पीडा नबुझ्दा दुःख लागेको छ’, दाहालले  गुनासो गरे ।

एक दशक अघिदेखि उल्टो साइकल चलाएर ५७ औं देश घुमिसकेका दाहालले खाडीका नेपाली बरु सहयोगी भएको बताए । ‘यहां त बाहिरी आवरणमात्र रहेछ, ठूलो ह्दय भएका नेपाली भेट्टाउनै सकेनौं’, दाहालको गुनासो थियो । बेलायतमा गैर आवासीय नेपाली संघ, बेलायतबाट करिब पन्ध्र सय पाउण्ड र गुल्मी जिल्ला समाज यूकेबाट एकसय ५१ पाउण्डमात्र सहयोग पाएको उनीहरुले बताए । ‘बेलायतमा सयौं नेपाली संस्था छन् भन्ने सुनिएको थियो तर दुःख पर्दा कसैले सम्झिएनन्’, दाहालले भने ।

सन् २०११ मा बुरुण्डीबाट तान्जानिया जाने क्रममा दुर्घटना परेर बांचेका दाहालले त्यही दुर्घटनामा जोगिएको थोत्रो साइकलबाटै अहिलेसम्म यात्रा अघि बढाइरहेको जनाए । ‘बांच्चै मुश्किल परेका बेला नयां साइकल किन्न त सपना जस्तै भएको छ’, दाहालले भने, ‘हामी देशको नाम चिनाउन जोखिम मोलेर हिंडेका हौं, न कि घर वा पजेरो जोड्न ।’

अफ्रिका, एसिया, युरोप घुमिसकेका दाहालले यात्राका क्रममा धेरै हण्डर बेहोर्नुपरेको सुनाए । ‘साथीहरु दश वर्षमा जम्मा ५७ देश घुमेको भन्नुहुन्छ तर हामीलाई अगाडि बढ्न आर्थिक अभाव नै कारक बनिरहेको छ’, दाहालले भने ।

पत्रकारिता र कलाकारिताको समेत अनुभव संगालेका दाहालले गिनिज वल्र्ड रेकर्डस्का लागि लन्डन अफिसमा नाम दर्ता गराएर नतिजा पर्खिरहेको समेत बताए । ‘त्यसमा पनि बढि पैसा दिएको भए छिटो हुने रहेछ, सकिएन’, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री