देउवाले नियतवश कोइराला पक्षीय कार्यकर्तालाई अपमान गरेपछि…

10421296_10203123400388259_3142158434760238139_n

लन्डन । नेपाली जनसम्पर्क समिति, बेलायतको गुटवन्दी चरम उत्कर्षमा पुगेको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको बेलायत आगमनसंगै बेलायत कांग्रेसको मेलमिलाप वातावरण झन् खल्बलिएको हो । वरिष्ठ नेता देउवाले कोइराला पक्षका कार्यकर्तालाई नियतवश भेट नदिई उनीहरुले राखेको कार्यक्रममा समेत सहभागी नभएपछि कार्यकर्तामा आक्रोश छ ।

एकताको भावना र शीर्ष नेतालाई गुटवन्दीबाट माथि राख्ने भन्दै दुवै पक्षका कांग्रेसीहरु गत साता देउवालाई स्वागत गर्न लन्डनस्थित हिथ्रो विमानस्थल पुगेका थिए । त्यतिबेला कोइराला पक्ष भनेर चिनिएका कांग्रेस केन्द्रिय विभाग सदस्य विज्ञान प्रसाईं, कोइराला पक्षका सभापति चेतनाथ खनाल लगायत देउवालाई स्वागत गर्न विमानस्थल पुगेका थिए ।
तर, एकता र मेलमिलापको भावनालाई समेत कदर नगरि देउवाले आफ्नो गुटका कांग्रेसीहरुको मात्र औपचारिक तथा अनौपचारिक कार्यक्रमहरुमा सहभागी भएर कोइराला पक्षले राखेको औपचारिक कार्यक्रममा जानी जानी सहभागिता नजनाएपछि कार्यकर्ता देउवासंग चिढिएका छन् ।

कोइराला पक्षीय क्षेत्रीय समितिले साउथ लन्डनमा बेलायत कांग्रेसका पुराना कार्यकर्ता, वुद्धिजिवी तथा भूतपूर्व गोर्खाहरुको व्यापक उपस्थिति रहने गरि १५ दिन अगाडि नै तय गरेको ३० सेप्टेम्बरको कार्यक्रममा समेत देउवा उपस्थित भएनन् तर देउवा त्यही दिन आफ्नो गुटको अल्डरसट भेटघाट रेष्टुरेन्टस्थित कार्यक्रममा प्रमुख अतिथी बन्न पुगे जहां उपस्थिति न्यून थियो । त्यसबाहेक, कोइराला पक्षीय कांग्रेसीहरुले अनौपचारिक भेटघाटका लागि समय मिलाइ १ अक्टोबर विहिवार दिउसो तीन बजे चौतारी रेष्टुरेन्ट, नर्थहोल्टमा राखेको कार्यक्रममा समेत देउवा झुल्किएनन् । ३ देखि बेलुका ७ बजेसम्म कुर्दा देउवा नआएपछि कार्यकर्ता निराश भएर फर्किए । तर, त्यही बेला देउवा आफ्ना गुटका कार्यकर्तासंग सपिङ र सांझ ६ बजे मन्टिज रेष्टुरेन्टमा केही शिक्षकहरुसंग डिनर ड्रिंग्स् जमघटमा सहभागी भए ।
जनसम्पर्क सम्पर्क केन्द्रिय विभाग सदस्य विज्ञान प्रसाईंले वरिष्ठ नेता देउवाले आफ्नो गुटका कार्यकर्तालाई मात्र भेटनु दुःखदायी भएको बताए । उनले यही शनिवार ४ अक्टोबरका दिन गोल्डेनसिप रेष्टुरेन्टमा राखिएको चियापान समारोहमा कोइराला पक्षीय कार्यकर्ता उपस्थिति हुने मैत्री वातावरण नभएकाले कार्यक्रम वहिष्कार गरिएको समेत जनाएका छन् । उता, साउथ इष्टका क्षेत्रीय सभापति भोजप्रसाद गुरुङले वरिष्ठ नेता देउवाले क्षेत्रीय समितिले धेरै अघि राखेको कार्यक्रममा उपस्थित नजनाइ त्यसै दिन आफ्नो गुटको अर्को कार्यक्रममा उपस्थित भएर कांग्रेसीहरुलाई अपमान गरेको जनाउंदै आफू शनिवारको चियापान कार्यक्रममा सहभागी नहुने बताए । उनले अरु कांग्रेसीहरुलाई समेत उक्त एकपक्षीय कार्यक्रममा उपस्थित नहुन आव्हान समेत गरेका छन् ।

साथै, कोइराला पक्षीय नेपाली जनसम्पर्क समिति, बेलायतका सभापति चेतनाथ खनालले देउवाले समय दिएर पनि उपस्थित नभएकोमा ज्यादै अपमानित भएको जनाउंदै वाध्य भएर ४ अक्टोबरको एकपक्षीय चियापान कार्यक्रममा उपस्थित हुने वातावरण नभएको जनाए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री