बेलायत काँग्रेसमा जन्मियो तेस्रो गुट

bp jayanti uk

लण्डन । नेपाली काँग्रेसको प्रवासस्थित भातृसंगठन नेपाली जनसम्पर्क समिति बेलायतमा दुई गुटबाट तेस्रो गुट देखा पर्न लागेको छ ।
आफूलाई अध्यक्षको दाबी गर्दै आएका लोकबहादुर गुरुङ र चेतनाथ खनाललाई पन्छाउँदै साउथ वेष्ट लण्डनमा स्वर्गीय विपी कोइरालालाई सम्झना गर्ने निहुँमा तेस्रो गुटलाई अघि बढाउन खोजिएको छ ।
प्रजातान्त्रिक समाजवादका विचारक स्वर्गीय कोइरालाको निधन भएको दिनमा काग्रेसले विश्वभर विविध कार्यक्रमसहित विपी स्मृति दिवस मनाउने गरेको छ । यही सिलसिलामा जनसम्पर्क समिति, बेलायतले विपीका सम्झनामा मात्र तीन वटा अलग अलग कार्यक्रम गरेको हो । ती कार्यक्रम अलग-अलग गुटले गरेका थिए ।
गुरुङ अध्यक्ष रहेको जनसम्पर्क समितिका वरिष्ठ उपाध्यक्ष लामिछानेको पहल र साउथ वेस्ट लण्डन शाखाको आयोजनामा गत अगष्ट ३१ तारिखमा ग्रीनफोर्डस्थित गोर्खा स्पाइस रेस्टुरेन्टमा विपी स्मृति शतवाषिर्की दिवस आयोजना गरियो । शाखाका अध्यक्ष नारायण आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रधानमन्त्री सुशील कोइरालाका सल्लाहकार डा. विजनप्रसाद पन्त, चिरञ्जीवी ढकाल, शान्ताविनोद लामिछाने, ध्रुव ढकाल, रमेश पौडेल, तस्वीर लामा लगायतको उपस्थिति थियो ।
त्यसपछि सेप्टेम्बर ७ मा खनाललाई अध्यक्ष मान्नेहरुले साउथ इष्ट क्षेत्रमा भोजप्रसाद गुरुङको अध्यक्षतामा विपी स्मृति दिवस मनाए । कार्यक्रममा अध्यक्ष खनाल, युवराज सिंह, महेश दाहाल, दुर्गाबहादुर राना लगायतको उपस्थिति थियो ।

अन्तिममा सेप्टेम्बर १४ मा संस्थापन पक्षले ह्यारोस्थित गोल्डेनसीप रेस्टुरेन्टमा विपी शतवाषिर्की समारोह मनाएको सञ्चारकर्मी रोशन राईले जानकारी दिएका छन् । सभापति गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा राजकुमार त्रिपाठी, रविप्रकाश राई, युवराज गुरुङ लगायतको सहभागिता थियो । यसैगरी, युकेका स्थानीय सांसदहरु गारेथ थोमस र बब ब्लाक्मेन तथा कार्यबाहक नेपाली राजदुत तेजबहादुर क्षेत्रीको उपस्थिति थियो ।

लोकबहादुर गुरुङ पक्षले आफ्नै वरिष्ठ उपाध्यक्ष शान्ताविनोद लामिछाने पक्षले आयोजना गरेको कार्यक्रम रोक्न विभिन्न प्रयास गरेपनि लामिछानेले नमानेपछि छुट्टाछुट्टै कार्यक्रम गरिएको स्रोतले जनायो ।

दुई चिरामा बाँडिएको बेलायत काँग्रेसलाई मिलाउन काँग्रेसको केन्द्रले कुनै भूमिका निर्वाह गर्न नसक्दै तेस्रो चिरा पर्न लागेको हो । यसैवर्ष बेलायत आएका काँग्रेस केन्द्रीय सदस्य तथा संचारमन्त्री डा. मिनेन्द्र रिजाल पनि समस्या समाधानभन्दा दुवै पक्षसँग बारबीक्यु मात्र खाएर फर्केका थिए ।

अध्यक्ष गुरुङले स्वेच्छाचारी ढंगले संस्था चलाएको, संस्थाको निर्देशन विपरीत नेपाल विद्यार्थी संघको अधिवेसन गराउनेहरुलाई कारबाही गर्नुको साटो उल्टै काखी चेपेको भन्दै लामिछाने पक्ष गुरुङसित असन्तुष्ट बनेको बुझिएको छ ।

खनाललाई सँस्थापनको साथ छ भने गुरुङलाई देउवाको । लामिछानेलाई कस्को साथ छ खुलिसकेको छैन ।

यसैबीच, खनाल पक्षसँग नजिक नेपाल विद्यार्थी संघ, बेलायतले पनि विपी शतवाषिर्कीको अवसरमा नर्थफिल्डस्थित काठमाडौँ कुजिन रेस्टुरेन्टमा एक कार्यक्रम गरी पवित्र समाज सेवा नेपाललाई करिब साढे दुई लाख रुपियाँ सहयोग संकलन गरेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री