बिहीबार, असोज ८ २०७७ | Thu, September 24, 2020
नेपालको समय: ०३:२२ | UK Time: 22:37

हात्ती सधाउने महिला

वीनेपाली
२०७१ असोज ८ गते १६:०५

Mina mahato

चितवन । अजङ्गको हात्ती। देख्दै डरलाग्दो। परिचितबाहेक अरू मानिस हात्तीको नजिक जान पनि डराउँछन्। छुन पाइयो भने स्वर्ग पुगेजस्तो महसुस गर्छन् आगन्तुकहरू। चढ्न पाए त जिन्दगीकै अविष्मरणीय र ऐतिहासिक अवसर मान्छन्। हात्तीलाई बस् भन्दा बस्ने, उठ् भन्दा उठ्ने, हिँड् भन्दा हिँड्ने गरी आफ्नो काबुमा राख्नु निकै ठूलो कुरा हो। पहिलेपहिले पुरुषले मात्र गर्ने यस्तो काम अब महिलाले गर्न थालेका छन्। उनीहरूले यो काम तीन वर्षअघि सुरु गरेका हुन्। चितवन राष्ट्रिय निकुञ्जमा दुईवटी मीनाको दिन हात्तीसँग बित्ने गरेको छ। मीना महतो निकुञ्जको जङ्गलभित्रको कछुवानी पोस्टमा काम गरिरहेकी छिन्। मीना चौधरी चितवनकै सौराहाको हात्तीसारमा छिन्। चौधरीले उमाकली नामको हात्ती सम्हाल्छिन् भने महतोले सुन्दरमाला नामको। कसैकसैले उनीहरूलाई कलियुगका सुन्दरी र कलियुगका मीना पनि भन्ने गरेका छन्।
उनीहरूले सम्हाल्ने हात्तीका नामका आधारमा उनीहरूलाई यस्तो नाम दिइएको हो। उनीहरू आफूभन्दा झण्डै डेढ गुणा अग्लो र चालीस गुणाजति गह्रौँ हात्तीलाई लौरो, हात र खुट्टाले तह लगाउँछन्। उनीहरू हात्तीका लागि घाँस काटेर ल्याउँछन्, हात्ती चराउँछन्। हात्तीसारमा हात्तीलाई खाना खुवाउँछन्। हात्तीको सरसफाइ गर्छन्। उनीहरूले हात्ती चढेर जङ्गलमा गस्तीमा जानुपर्छ। पाहुनालाई हात्तीमा बसाएर जङ्गल घुमाउनुपर्छ। नेपालमा अहिलेसम्म पाँचजना मात्रै यस्ता महिला छन् जो जमिनमा बस्ने सबैभन्दा ठूलो जनावर हात्तीलाई उठबस गराउँछन्। चितवनमा काम गर्ने दुईवटी मीनाबाहेक पर्सा वन्यजन्तु आरक्षमा अनिता चौधरी, कोसीटप्पु वन्यजन्तु आरक्षमा बुनु रानामगर र बर्दिया राष्ट्रिय निकुञ्जमा हिमानी चौधरी यस्तै काम गरिरहेका छन्। शुक्लाफाँटा वन्यजन्तु आरक्षकी महिला माहुतेले भने बिहे गरेर अन्तै गएपछि काम छाडिन्। उनीहरूको काम एक किसिमले आकर्षक छ। सामान्य मानिस नपुगेका ठाउँमा उनीहरू पुग्न पाउँछन्। सामान्य मानिसले नदेखेका जङ्गली जनावर उनीहरूले देख्न पाउँछन। तर, यो काम अलि जोखिमपूर्ण पनि छ। एक दिन त जङ्गलमा झन्डै लडेँ । अलिकतिले मात्रै बाँचेँ, माहुते मीना चौधरीले भनिन्। कतिपय बेला जङ्गलमा गैंडा र बाघजस्ता ठूला जनावर भेट्दा हात्ती तर्सिन्छ। यस्तो बेलामा हात्तीमाथि बस्ने सतर्क भएन भने हात्तीबाट खस्न सक्छ। खसेका खण्डमा ज्यान जोखिममा पर्छ। पटकपटक यस्तो अवस्था भोगेकाले अब उनीहरूलाई बानी परिसकेको छ। कहिलेकाहीँ माहुतेलाई आफैँले सम्हालेको हात्तीले आक्रमण गर्ने गर्छ। चितवन राष्ट्रिय निकुञ्जमै पनि कतिपय माहुतेको यसरी ज्यान गएको छ। कति माहुते जङ्गली जनावरले आक्रमण गर्दा मरेका छन्।यी महिला माहुतेले यस्ता घटनाको पर्वाह गरेका छैनन्।
मीना चौधरीलाई सुरुसुरुमा हात्ती चढ्नै डर लागेको थियो। प्रशिक्षण लिएर बानी परेपछि भने उनलाई गाह्रो भएन। त्यत्रो जनावरलाई उठबस गराउन त गाह्रै हुन्छ, तर पनि तोकेको काम गर्न नाइँ भनेको छैन, मीनाले भनिन्।काम सजिलो छैन, तर सबैको सहयोगले साहस मिलेको छ, मीना महतोले भनिन्।

तीन वर्षअघि लोकसेवा आयोगले माहुते पदमा महिलाका लागि पहिलोपटक कोटा छुट्यायो। त्यसपछि हरेक हात्तीसारमा एकजना महिला नियुक्त गर्नुपर्ने भयो। यसले गर्दा महिला माहुते हुन पाए।

निकुञ्ज र आरक्षको कामलाई पुरुषले गर्ने काम भन्ने गरिएको थियो। यस क्षेत्रमा महिला कर्मचारी निजामती सेवाका अन्य क्षेत्रका तुलनामा कम छन्। चितवनका हात्तीसारका ४९ वटा हात्तीका लागि एक सय २९ जनाको दरबन्दी छ जसमा एक सय ११ जना कर्मचारी छन्। तीमध्ये महिला कर्मचारी दुईवटी मीना मात्र हुन्।

मीना चौधरीको घर चितवनकै कुमरोज हो।उनका श्रीमान् रामेश्वर चौधरी चितवन राष्ट्रिय निकुञ्जका हात्ती व्यवस्थापन शाखाका यसअघिका प्रमुख हुन्। उनले भने, ‘काम गर्न त जोखिमै छ, तर गरे सकिन्छ। उनीहरूले गरिरहेकै छन्। उनीहरूले काम गर्ने वातावरण चाहिन्छ। त्यो वातावरण अहिले हात्तीसारमा त्यति राम्रो हुन सकेको छैन।’ उनका अनुसार महिलालाई यस काममा हौसला दिने मान्छेको कमी छ।

महिला माहुतेले साहसिक र चुनौतीपूर्ण काम गरेर बाहिरबाट राम्रै स्याबासी पाएका छन्। तर, सहकर्मीबाटै उनीहरूलाई हौसला मिल्न गाह्रो छ।

हात्ती व्यवस्थापन शाखाका प्रमुख बुधन चौधरीले हात्ती डुलाउने काम महिलालाई गाह्रो भएको बताए।उनीहरूलाई प्रशासनिक कामतिर पठाउन सके हुन्थ्यो भन्ने ठान्छन् हात्तीसारका अन्य कर्मचारी पनि। ‘रूख चढ्नुपर्छ। जङ्गलमा एक्लै हात्ती लिएर जानुपर्छ। यसो गर्न महिलालाई गाह्रो हुन्छ’, मीना चौधरीको हात्ती रेखदेख गर्ने कर्मचारी नेत्रबहादुर दर्जीले भने। नेत्रबहादुर मीनालाई हल्का काम गर्न लगाएर अरू सबै काम आफूले गरेको दाबी गर्छन्।

मीना अहिले गर्भवती छिन्। केही महिनादेखि उनले हात्ती घुमाउन सकेकी छैनन्। महिनावारी हुँदा पनि काममा अलि अप्ठ्यारो हुनु स्वाभाविकै हो। यस्तो बेलामा कर्मचारीले अलिअलि सहयोग त गरेकै छन्, तर उनलाई हौसला भने दिएका छैनन्।

निकुञ्जका एकजना कर्मचारीका अनुसार यो काम महिलाले गर्न सक्दैनन् भनेर अरू कर्मचारीले महिला माहुतेलाई निरुत्साहित गर्ने गर्छन्। हात्तीसारमा कसैले पनि महिला माहुतेलाई हौसला दिने कुरा गरेनन्। सबैले मीना चौधरीलाई अरू काममा सार्नुपर्ने बताए। महिलालाई उनीहरूले सक्दै नसक्ने काम दिएको उनीहरूले बताए।

चितवन राष्ट्रिय निकुञ्जका पूर्वी सेक्टर प्रमुख तथा सहायक संरक्षण अधिकृत रमेश थापाले महिला माहुतेलाई काम लगाउँदा समस्या रहेको बताए।’महिलालाई प्रशासन फाँटतिर सार्ने कि भनेर छलफल भइरहेको छ’, उनले भने।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक