बिहीबार, असोज ८ २०७७ | Thu, September 24, 2020
नेपालको समय: १७:१४ | UK Time: 12:29

सेवा गर्नै जन्मेका क्याप्टेनसा’ब

वीनेपाली
२०७१ भदौ ९ गते १०:१२

HB-thapa-front-page HB-Thapa

बिहानको आठ बजेको छ । निस्कन हतार छ उनलाई । हस्याङफस्याङ गर्दैछन् । मिनेट–मिनेट, सेकेण्ड–सेकेण्ड, पल–पलको मूल्य अनगिन्ती छ यसबेला । आङमा सुट, घाँटीमा टाइ लगाएपनि बाख्राको पाठोसरी बुर्कुसी मार्नुपर्ने स्थिति छ । शायद यही होला ‘इंगलिस टाइम’ । हिउँदो होस् वा बर्खा । विक डेज होस् वा विकेण्ड । हरेक दिन सबेरै घर छोड्नु अनि अबेर (कहिलेकाहीँ राति १० बजे) फर्कनु उनको दैनिकी जो छ ।

अनौठो, यस्तो दिनचर्या भएका पूर्व गोरखा सैनिक क्याप्टेन हरिबहादुर थापा (मगर) न त कुनै कम्पनीका जागिरे हुन् न त उनको आफ्नै व्यवसाय नै छ । तैपनि किन यस्तो धपेडी त ? फार्नबोरो,अल्डरसट क्षेत्रमा केही वर्षयता बसोबास गर्न आएका बुढापाका पूर्व गोरखाहरुलाई विभिन्न काममा मद्दत गर्दै आएका ७० वर्षीय थापा भन्छन् “म गएर कसैलाई मद्दत पुग्छ भने त्यत्तिकै घरमा किन बस्ने ?”
सन् १९४२ डिसेम्बर २ मा पाल्पा, बाखामालाङ गाविस वडा नम्बर २ ग्याजामा जन्मेका थापाले बाल्यावस्था सारै कहरमा काटे । तीन भाइ बाजेहरुले अंशवण्डा गर्दा उनको बाजेको भागमा साढे एकहलको मेलो लाग्ने बारी परेको थियो । चारवर्षको हुँदा माइला भाइ जन्म्यो । त्यसपछि दुई÷दुई वर्षको अन्तरमा थपिए अरु ४ भाइ र २ बहिनीहरु । घरमा खाँचो थियो काम गर्ने मान्छेको । त्यसैले ७ वर्षकै उमेरमा उनका बाउले बिहा गराइदिए १६ वर्षकी सालीसित । “मलाई त बिहे गरेको केही थाहै भएन । बिहान उठ्दा मेरो छेऊमा मभन्दा ठूली छोरीमान्छे सुतिरहेको रै’छ । पछि साथीहरुले त्यही हो तेरो बूढी भने” थापा सम्झन्छन् ।
१२ वर्षको छँदा उनको थाप्लोमा अर्को दुःखको भारी थपियो । वर्षभरि पनि खान टुमटुम हुने बाली गाउँकै सामन्तले लुटे । एकवर्ष, दुईवर्ष, तीन वर्षसम्म लुटियो । बाउआमाले बेसाहा खोजेर जसोतसो धाने । त्यो घटना सम्झँदा अहिले पनि उनी विह्वल हुन्छन् । भन्छन्, “हुनसम्म दुःख भयो । हलो उचाल्न सक्दिनँथे । आमाले हलो उचालेर सीधा बनाइदिनुपथ्र्यो ।” १३ वर्षको उमेरमा बाउआमा छोडेर तानसेनमा एक कर्मचारीको घरमा गोठाला बस्न बाध्य भए उनी । लुटिएको बाली फिर्ता पाउन उनको परिवारले हालेको नालिसमा शुन्य हात लागेको थियो । मुद्दा लड्दा र बेसाहा खेप्दा आमाको नाक कान बुच्चै भइसकेको थियो । त्यसैले मुद्दा अघि बढाउन उनीसामू अरु कुनै बाटो थिएन । आपूmले समातेको हलो माइला भाइलाई थमाएर हिँडे उनी ।
अड्डामा काम गर्ने ती कर्मचारीको गाईलाई घाँस काट्ने, गोबर सोहोर्ने, जुठा भाँडा माझ्ने उनको जिम्मेवारी थियो । स्मृतिमा अझै ताजै छ रातको ११ बजेसम्म भाँडा माझेको । त्यसवापत ती कर्मचारीले उनलाई केही दिँदैनथे तैपनि उनी खुशी नै थिए । कारण उनलाई मुद्दाका तारिख लिइदिए पुग्थ्यो । कहिलेकाहीँ ‘तारिख लिन जाऔँ’ भन्दा ती कर्मचारी भन्थे रे ‘तेरो तारिख लिन तैँ जा’। उनी पनि के कम । कमजोर कडी थाहा छँदै थियो । ‘तेसो भए तेरो गाईले आज घाँस खान पाउँदैन’ भनेर घुर्की लगाएपछि कर्मचारीकी श्रीमती भन्थिन् ‘हरिले भनेको ठीकै हो तारिख लिइदिनुस् न त’ । त्यसपछि हरिबहादुरलाई पछि लाएर ती कर्मचारी लुरुलुरु अड्डा गई तारिख दिन्थे । सत्य डग्दैन झूठो तक्दैन । दुई वर्षपछि उनको परिवारले न्याय पायो, बिगो पनि पायो ।
पहिलो विश्वयुद्धका योद्दा बाजे र दोस्रो विश्वयुद्धका योद्दा बाउको पाइला पछ्याउँदै आपूm जन्मेकै दिन २ डिसेम्बर, १९५९ मा उनी बेलायती सेनामा भर्ती भए । घरमा पैसाको गर्जो छ छैदै थियो त्यसमाथि बाउले पनि उनलाई भर्ती जान हुट्हुट्याएका थिए । अझ उनको सर्लक्क परेको ज्यान देखेर लोभिएका गल्लाको मृदुवचन पाएपछि भर्ती हुन केले रोक्ने ? भर्तीपछि तालिम गर्दागर्दै घरबाट बाउको चिठ्ठी आयो –‘तेरी श्रीमती पोइल गई जारी मिलाउन आउनु’ । गुरुजीले सोधे –‘के गर्छस् केटा ?’ । उनले बुझे–जारी मिलाउन गए तालिममा पछि परिन्छ । पछि आएकाहरुले उछिन्छन् । उनले गुरुजीलाई भन्दिए–‘श्रीमती जतासुकै जाओस्, म घर जान्न ।’ एकवर्ष तालिम गरेपछि उनलाई पठाइयो फस्ट सेकेन्ड गोरखा राइफलमा । त्यतिबेला उनले मासिक ४० मलाया डलर पाउँथे जसमध्ये २० डलर सीधै घरमा पठाउँथे । १९६२ सालमा पहिलो छुट्टी जाँदा उनले चार मुरीको खेत जोडे । पहिलेकी श्रीमतीसित जारी मिलाए अनि अर्कीलाई घर भित्र्याए । पल्टनमा हाजिर हुँदा बोर्नियोको लडाइँ उनलाई कुरेर बसेको थियो ।
सरवाग फोर्थ डिभिजनमा उनी खटिए । छ महिना लडाइँ, छ महिना ‘बेस क्याम्प’ बस्नुपथ्र्यो । सन् १९६५ सम्म लडाइँमा खटिएपछि उनी १९६६ मा सिँगापुर फर्के लडाइँको स्मृति आजिवन सँगालेर ।
शुरुमा म आउटबोट मोटर चलाउँथेँ । त्यसपछि फ्रण्टलाइनमा गएँ । दुश्मनसित कन्टक्याक्ट हुन थाल्यो । एकपटक लुल्लु भन्ने ठाउँमा गोरा पल्टनलाई सहायता गर्न जाँदा दुश्मनहरु भेटियो । तर गोरखालीलाई फायर गरेनन् । पछि पक्रेर ल्याएपछि सोध्दा उनीहरुले भने–गोरखालीहरुलाई छोयो भने हामी अचार हुन्छौँ भनेर नछोएको ।

एकपटक अरु प्लाटुनहरुसित संयुक्त पट्रोल गर्दैजाँदा दुश्मनहरुले तालिम गर्दै गरेको गाउँमा पुगियो । सिपाहीँहरु भोकाएका थिए म ट्वाइसी थिएँ । कमाण्डिङसित सल्लाह नै नगरी मैले १५ मिनेटमा भात पकाएर खाओ भन्ने आदेश दिएँ । कमाण्डरलाई पनि खान दिएँ । उसले ‘कसको हुकुमले’ भन्यो । मैले ‘मेरो आदेशले’ भनेपछि चुप्प लाग्यो । अरु प्लाटुनले भात खान हुकुम दिएनन् । पछि पट्रोल गर्दै अघि बढ्दै जाँदा अरु प्लाटुनका सिपाहीँहरु खुट्टा फर्किएर ऐ्यया भन्दै थचक्क बस्न थाले । मेरो प्लाटुनका लाई केही भएन । पछि त्यसबारेमा हरेक ट्वाइसीसमेतलाई राखेर छलफल भयो । प्लाटुन कमाण्डनले तिम्रो मान्छेलाई किन केही भएन भनेर सोधे । मैले ‘भात खाएर हिँडेपछि के हुन्थ्यो त’ भनेँ । उसले ‘कसले भात पकाउन आदेश दियो’ भन्यो । ‘मैले’ भनेर जवाफ दिएँ । त्यसपछि ‘स्याब्बास हरिबहादुर, साला कम्ती बाठो छस्’ भन्यो ।
त्यत्तिञ्जेलमा पाल्पाबाट नवलपरासीको देउराली गाविसमा भात खाने जग्गा जोडिसकेका थिए उनले । खानेमुख पनि तीनटा (छोरा) थपिइसकेका थिए । अफसोच यसपटक पनि तीन छोराकी आमा पोइल गएको समाचार आयो । उनी छुट्टीमा घर आए । घर उजाड थियो, मरुभूमिजस्तै । सुत्ने बस्ने लत्ताकपडा केही थिएनन् । घरबाट हराएको सूचीमा थियो कान्छो छोरो पनि । आफैँले लगेको स्लिपिङ ब्यागमा दुईतिर जेठो र माइलो छोरालाई च्यापेर घुस्रिए । “छोराहरु सुते, म रातभरि निदाउन सकिनँ” उनले सम्झे । “ बाउ फेरि पनि मेरो लागि केटी खोज्नतिर लाग्नुभो, मैले भो बाबा अब म आफैँ खोज्छु भनेँ । वरिपरि आफ्नो दौँतरी मिल्ने कोही थिएनन् ।”
पल्टनमा छँदै उनले विकास निर्माण र समाजसेवाको चास्नी चाख्न थालिसकेका थिए । ‘लडाइँ हुञ्जेल कमाण्डिङको सुरक्षा बाँकी समय दशैँघर, सुँगुरको खोर, बाटो बनाउने’ उनको काम थियो । सन् १९७९ देखि १९८१ सम्म बेलायत बस्दा उनले चर्चक्रुखाममा बाटो बनाए जसको उद्घाटन फिल्डमार्शल जोन च्यापलले गरेका थिए । स्ट्राटफोर्डमा फ्रिन्स चाल्र्सलाई ‘डेमो’ सिकाउन भ्याए । सन् १९८४ मा उनी सैन्यजीवनबाट सेवानिवृत्त भए । अर्को वर्षदेखि तत्कालीन सेभ द चिल्ड्रेन, नर्वेमा खानेपानी योजनाको प्रमुख पद सम्हाले । पूर्वी पाल्पाको १५ गाउँबाट उनले योजना शुरु गरे । उनको सोचाइ थियो स्थानीय स्रोत र ज्ञानको प्रयोग गर्ने । उनका हाकिमहरु भन्थे शहरबाट विज्ञ ल्याउने । उनले तर्क गरे–यो योजना कसको लागि ? हाकिमहरुको जवाफ हुन्थ्यो–गरिबका लागि । ‘त्यसो भए शहरबाट विज्ञ किन ?’ उनको तर्कको अगाडि हाकिमहरु फिक्का भए ।
स्थानीय बासिन्दाहरुलाई तालिम दिए । उनीहरुबाटै काम लिए । तनहुँको पाँच गाविस, लमजुङको छ गाविस, उदयपुर, वीरगञ्ज, चितवनमा गरी उनले करिब आठ लाख मानिसका लागि खानेपानी धारा बनाए । करिब २०० जनलाई तालिम दिए जसमध्ये चारजना ओभरसियर भए । तनहुँको बालबालिकासम्बन्धी योजना माओवादी द्वन्द्वका कारण अवरुद्ध भएपछि सो योजनाको जिम्मा पनि लिए । बाथको रोगले मुटुमा समेत हान्दै गएपछि सन् २००० मा सेभ द चिल्ड्रेनबाट राजिनामा दिएर उनी उपचारमा लागे ।
यता काठमाडौँको क्षेत्रपाटीमा उनले बनाएको धारा देखेपछि वल्र्ड वाटर एडका एलान भन्ने क्यानेडिनले उनलाई फोन गरे । आपूm बिरामी भएको बताउँदा पनि उनले धर पाएनन् । उनलाई घरैमा लिन आए । काठमाडौँ उपत्यकाको वैकल्पिक खानेपानीका बारेमा भइरहेको छलफलमा उनलाई लगे । उनको प्रस्तुतिबाट प्रभावित भएर उनलाई जागिरका लागि आग्रह गरे । बिरामीको बहाना देखाएर उनी उम्कन चाहे । आपूmले टार्न नसकेर श्रीमतीलाई समेत भन्न लगाए तर घरमै बसेर काम गर्ने, काम परे अफिसले लिन आउने आपूm मुताबिक शर्त दाताले नै तेस्र्याएपछि एकवर्ष उनी कन्सल्ट्यान्ट भए ।
काम छोडेर घरमै बसेको बेला फेरि नम्बरी हस्तबहादुर थापा आएर उनलाई मगर संघ, काठमाडौँमा भित्र्याए । सदस्य, कोषाध्यक्ष हुँदै त्यहाँ उनले अध्यक्ष सम्हाले । छातीमा मुटुको चाल नाप्ने मेसिन र हिटर च्याप्दै मगरहरुको घर–घर पुगेर जागरण ल्याएपछि सन् २००७ मा उनले पद हस्तान्तरण गरे । सन् २००८ मा छोरीको दीक्षान्त समारोहका बेला बेलायत आएका उनी छोरी अलि बिसञ्चो भएको चाल पाएपछि यतै बस्ने निधोमा पुगे । बेलायतको आवासीय भिसा पाएर युके आएका बूढापाकाहरुलाई आपूmले पाउने सुविधाका बारेमा थाहा नहुँदा मर्का परिरहेको र केहीले उनीहरुबाट फाइदा समेत उठाइरहेको थाहा पाएपछि उनी मद्दत समूहमा आवद्ध भए । त्यसयता बूढापाकालाई पाउने अधिकारका बारेमा जानकारी दिने, अनुवाद गरिदिने, फाराम भरिदिने, अस्पताल आदिमा भेट्ने समय मिलाइदिने लगायतमा उनले सहयोग गर्दै आएका छन् । “अहिले समूहमा ७५० सदस्य भइसकेका छन् । युकेका अन्य भागमा बसोबास गर्ने करिब चार सयलाई सहायता दिइसकेका छौँ” उनले भने ।
तलव भत्ताको आशा नगरे पनि समाजसेवा गर्दा अपजसको भने कमैले अपेक्षा गरेको हुन्छ । तर अरुको कुरा नकाटेसम्म खाएको नपच्ने नेपाली समाजमा समाजसेवीकै हुर्मत लिनेहरु खोज्न टर्च बाल्नै पर्दैन । उनी पनि यसबाट अछूतो छैनन् । “तपाईहरुले सिकेको जानेको अरुलाई पनि सिकाउनु, भन्नुपर्छ भन्दा ‘तैँले पो पैसा पाएको छस् र हामीले किन भन्ने’ पनि भने”, गुनासोको पोको फुकाउँदै उनी भन्छन् ।
तीन छोरा, एक छोरीलाई ग्राजुयट बनाएका उनी अहिले समाजसेवाबाट प्रपूmल्ल छन् । माइला भाइ उनलाई हौस्याउँछन् रे ‘होइन दाइ समाजसेवा त गर्नैपर्छ’ । आपूmले गरेको कामको कदर भएको सुनाउँदा अमेरिकामा रहेका जेठा र कान्छा छोरा हर्ष मान्छन् रे । बाउको बिँडो थाम्दै ब्रिटिश सेनामा भर्ती भएका माइला छोरा चाहिँ पटक–पटक फोन गर्दा पनि बाउलाई नभेटेपछि कहिलेकाहीँ भन्छन् रे, “कति गर्ने र’ैछ समाजसेवा पनि ?” उनको जवाफ हुँदोरहेछ, “के गर्ने भगवानले मलाई समाजसेवा गर्नै पठा’का रै’छन् ।”
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक