सफलताको बाटोमा संगीता

1544478_10201968790242534_5886147754373711672_n

उच्च शिक्षाका सिलसिलामा बेलायत आएकी संगीता मरहट्टाले नेपाल छंदै रेडियो पत्रकारितामा आफूलाई स्थापित गरिसकेकी थिइन् ।

बेलायत आएपछि पनि उनले बीबीसी नेपाली सेवामार्फत रेडियो पत्रकारितालाई निरन्तरता दिइन्, उच्च शिक्षा पत्रकारितामै लिइन् ।

बेलायतको एक प्रतिष्ठित वेष्ट मिनिष्टर विश्वविद्यालयबाट पत्रकारिता विषयमा एमएम गरेपछि उनको पत्रकारिता झन् खारियो ।

अध्ययन तथा पेशाका हिसाबले संगीताले सन् २००१ देखि करिव ५ बर्ष लण्डनमा बीबीसी नेपाली

सेवामा काम गरिन् । उनी बेलायतबाट प्रसारण हुने र करिव ७० देशमा हेर्न सकिने नेपाली टेलिभिजनमा

समेत कार्यक्रम प्रस्तोता तथा उत्पादकका रुपमा काम गर्छिन् ।

संगीता हाल आफ्नै लगानीमा फर्वार्ड एकेडेमिक टिम मार्फत व्यवसायमा क्रियाशिल छिन् ।

जतिसुकै जे गरेपनि आर्थिक हिसाबले सशक्त नभई धेरै काम गर्न नसकिने  र पछि परिने रहेछ

भन्ने अनुभवले हाल संगीतालाई एक सफल महिला व्यवसायिका  रुपमा बेलायतमा स्थापित गरिरहेको छ ।

गत नोभेम्बर २०१३ मा उनले आफ्नो एक्लो लगानीमा आफ्नै कम्पनी फर्वार्ड एकेडेमिक टिम लिमिटेड स्थापित

गरिन् र जम्मा ९ महिना अवधिमा बेलायतमा पांचभन्दा बढी शाखाहरु स्थापित भैसकेका छन् ।

हालै यसले थप कोर्सहरुका लागि समेत अनुमति पाएका कारण उनी यसलाई एक कलेजका रुपमा नै अगाडि बढाउने

सोचमा छिन् ।

उनको कम्पनीले बेलायती नागरिकता लिन वा बेलायती पासपोर्ट लिनका लागि आवश्यक पर्ने अनिवार्य अंग्रेजी

प्रमाणपत्रका लागि परीक्षा गर्ने गर्दछ जसलाई बेलायतमा इसोल भन्ने गरिन्छ । ९ महिनाको छोटो अवधिमा

व्यापार मौलाएकोमा उनी खुशी त छंदैछिन् तर मन लगाएर गर्यो भने जे पनि सफल हुंदो रहेछ र महिलाले पनि

सफल रुपमा व्यवसाय संचालन गर्न सक्दा रहेछन् भन्ने संगीतालाई लाग्छ। यति छोटो समयमा व्यवसाय

सफल हुंदै जानु मेहनत र भाग्य दुवैको संयोग भएको र नेपाली दाजुभाइ दिदीबहिनीहरु तथा हितैषीहरुको ठूलो

सहयोग रहेको उनी बताउंछिन् ।

पिता माधव प्रसाद मरहट्टा तथा आमा सरला मरहट्टाको कोखबाट गोर्खामा जन्मिएकी संगीता

मरहट्टाको एसएलसी सम्मको पढाई गोर्खाकै जनता माध्यामिक विद्यालय आंपपिपलमा भयो  ।

पढाईमा निकै तेज उनको शुरुमा डाक्टर बन्ने रहर थियो । तर पछि पत्रकारिता र अंग्रेजी बिषय लिएर

स्नातकसम्म काठमाण्डौमै अध्ययन गरिन् । अध्ययनकै क्रममा रेडियो सगरमाथामा रेडियो कार्यक्रम

उत्पादकका रुपमा काम गरेकी संगीताले २१ बर्षकै उमेरमा रेडियो पत्रकारिता तालिमका लागि बेलायत आउने

अवसर प्राप्त गरेकी थिइन् ।

बेलायत बसाईका लगभग १४ बर्षको अवधि आफ्ना लागि निकै सुखद र असंख्य अनुभव संगाल्ने एउटा

ठूलो माध्यम समेत भएको संगीताको भनाइ छ । काम भन्ने कुरा यही मात्रै गर्छु र यो गर्दिन भन्नु भन्दा पनि

परिस्थिति अनुसार आफुलाई पनि ढाल्दै लैजानुपर्छ भन्ने उनको धारणा छ । यही अवधारणाले होला, बेलायत

बसाईका क्रममा संचार माध्यममा काम गर्ने मात्र नभएर अन्य धेरै कामहरुको अनुभव उनमा छ । उनले

त्यहां आफ्नै पारिवारिक लगानी समेत रहेको कलेजमा लगभग दुई बर्ष लेक्चरर भएर अध्यापनको काम समेत

गरिन् भने बेलायतको गृह मन्त्रालय, पासपोर्ट अफिस लगायत कार्यालयमा उनी अनुवादकको काम

समेत गर्छिन्।

दुई साना छोरीहरुको लालनपालन संगै संगीताले समाज सेवामा समेत आफूलाई क्रियाशिल बनाएकी छिन् । सन्

२०११ देखि २०१३ मा उनी गैर आवासीय नेपाली संघ बेलायतको महिला विभाग प्रमुख भइन् । उनकै पालामा

एनआरएन युकेले महिला सहभागीता र अभियानलाई सशक्त तुल्यायो । यतिमात्र नभएर अष्ट्रेलिया, नेपाल,

हल्याण्ड, स्वीजरल्याण्ड, स्पेन लगायतका ठाउंमा भएका सम्मेलनहरुमा पनि उनले भाग लिइन् र

कार्यक्रमहरु समेत संचालन गरिन्। हाल उनी गैर आवासीय नेपाली संघ बेलायतको सचिव छिन् र प्रचार प्रसार

तथा मिडिया लगायतका कार्यहरु उनले गरिरहेकी छिन् ।

व्यवसाय, समाजसेवाभन्दा अगाडि पारिवारिक सुख आफ्ना लागि धेरै महत्व राख्ने हुंदा उनले दुई छोरीको

शिक्षाका लागि आफूले कुनै पनि अवसर गुम्न नदिएको दाबी गरिन् । संभव भएसम्म विश्वका विभिन्न देशमा

होलिडेका लागि जानु र ती ठाउंका बारेमा जानकारी लिनु उनको शौख हो । संगीतालाई भावुक खालका

गीतहरु सुन्न पनि खुब मन पर्छ । आगामी दिनमा आफूले  शुरु गरेको व्यवसायलाई मन, वचन र कडा

मेहनतले प्रगतिपथमा लैजाने उनको योजना छ । समाजसेवाको कामलाई पनि एनआरएनए मार्फत अघि बढाई

नै रहने उनले बताइन् ।

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री