युथ च्यारिटीमा आकर्षणका केन्द्र बने क्रिकेटर खड्का

तस्विर सौजन्यः ह्याभ अ मोमेन्ट

तस्विर सौजन्यः ह्याभ अ मोमेन्ट

लन्डन । साता दिनको निजी भ्रमणमा लन्डन आएका नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का बुधवार सांझ लन्डनमा आयोजित एउटा च्यारिटी डिनरमा सहभागी भए । एनआरएनए यूके युथ काउन्सिलले सडवरी हिल, लन्डनमा आयोजना गरेको च्यारिटीमा खड्का आकर्षणका केन्द्र बने । च्यारिटी र सामाजिक कार्य भनेपछि नाक खुम्च्याउने तन्नेरी समेत उक्त कार्यक्रममा आएर तस्विर खिचाउन व्यस्त थिए ।

च्यारिटी डिनर कार्यक्रम नेपालका खेलाडीहरुको सहयोगार्थ भएको हो । युथ काउन्सिलकी संयोजक श्रद्धा गुरुङले च्यारिटीबाट सातसय पाउण्ड बढि संकलन भएको जनाइन् ।

कार्यक्रम अन्तरक्रियात्मक बनेको थियो, सहभागीले क्रिकेटर पारससंग प्रत्यक्ष जिज्ञासा राखेका थिए । एनआरएनए यूके युथ एड्भाइजर चण्द्रिका गुरुङले सबै सामु अन्तर्वार्ता समेत लिएकी थिइन् । पारसले क्रिकेट खेलमा आफ्नो पाइला कसरी बढ्यो ? अण्डर १५, अण्डर १९ देखि राष्टिय टिम कप्तानसम्म हुन सफल भएकोबारे सहभागीलाई बताए । उनले हालै सम्पन्न विश्व कपमा पुग्न सामना गर्नुपरेको संघर्ष पनि दर्शकलाई सुनाए । स्वदेश तथा विदेशमा रहेका नेपालीले म्याच अवधिभर आफूहरुलाई दिएको माया, हौसला र समर्थनप्रति उनी ज्यादै कृतज्ञ थिए ।

उक्त अवसरमा पारसले विश्व कपमा लगाएको पञ्जा, नेपाल प्रिमियर लिग जर्सी, नेपाल क्रिकेट टिमले यात्रामा लगाएको पोलो टिसर्ट, आइसीसी टेष्ट सिरिज टिसर्ट अक्सनमा राखिएको थियो । च्यारिटीमा युथ काउन्सिल कोअर्डिनेटर श्रद्धा गुरुङले कप्तान पारसलाई मायाको चिनो स्वरुप चांदीको विकेट आकृति प्रदान गरिन् ।

भोलि १५ अगष्ट स्वदेश फर्कन लागेका पारसले लन्डन भ्रमणका क्रममा नेपाली खेलाडी र क्रिकेट खेल विकासका लागि विभिन्न बेलायती क्लव पदाधिकारीसंग भेट गरेका थिए । नेपाल सरकारले गरेन भनेर उसको आलोचना वा मुख मात्र ताक्नु भन्दा आ आफ्नै पहलबाट खेल विकास सम्भव छ भन्ने आत्मविश्वास उनमा छ । खड्काकै पहलमा नेपालका खेलाडीहरुको हित र क्षमता अभिवृद्धिका लागि  नेपाल क्रिकेट प्लेयर्स एसोसिएसन दर्ता गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री