बेलायतमा एकल कन्सर्ट गर्ने तयारीमा सितु

photo 3
लन्डन । लन्डनबाटै स्थापित गायिका सितु खरेलले दशकपछि यहां आफ्नो एकल कन्सर्ट गर्ने भएकी छिन् । नेपालका अपाङ्ग वालवालिकाको सहयोगार्थ ७ तारिख प्रिन्सेस हल, अल्डरसट र ८ मा ग्रीनफोर्ड टाउन हल, लन्डनमा कन्सर्ट हुन लागेको हो । शनिवार सांझ आयोजित पत्रकार सम्मेलनमा गायिका खरेलले क्रस् कल्चरल ग्लोवल म्यूजिकल ग्रुपको लाइभ संगीतमा कन्सर्ट गर्ने जानकारी दिइन् । नेपालबाट आउने अतिथी कलाकार न्ह्यू बज्राचार्य र अर्का एक वरिष्ठ कलाकारका साथै क्रस कल्चरल ग्रुपका भोकलिष्ट गंगा थापाले केही युगल गीतमा साथ दिएपनि खरेलले करिब अढाइ घण्टा एक्लै गाउने जनाइन् । ‘मेरो आफ्नै एल्बमबाट र अन्य कालजयी गीत गाउने तयारी छ’, पत्रकारमाझ उनले भनिन् । संगीत अध्ययनका लागि विश्वप्रसिद्ध लन्डनस्थित ट्रिनिटी कलेज अफ म्युजिकबाट गायनमा चार वर्षको बीम्यूज (अनर्स डिग्री) गरेकी सितुले केही शास्त्रीय गीत समेत गाउने अपेक्षा छ ।

ब्रिटेनमा रहेर झण्डै एक दशकदेखि नेपाली गीत संगीतमा पूर्ण समर्पित गायिका खरेलको स्मारिका, सिम्रिक, परी, निर्मन, सितु र बताससंगै गरि ६ एल्बम सार्वजनिक भइसकेका छन् ।

सितुका श्रीमान् बीबीसी आवद्ध सञ्चारकर्मी सुमन खरेलले कन्सर्ट सञ्चालन 
गर्ने छन् । खरेलले नेपालमा अपांग वालवालिकाका लागि काम गरिरहेका तीन संस्थाहरु दयाराम महर्जनको ललितपुरस्थित डिसेबल्ड सर्भिस् एसोसिएसन, सुधा सिलवालको काभ्रेपलाञ्चोकस्थित सुस्तमनस्थिति पुनस्र्थापना केन्द्र र विमला श्रेष्ठको सुस्तमनस्थिति सेवा केन्द्र, टांडीको सहयोगार्थ कन्सर्ट गर्न लागिएको जनाए ।

‘उल्लेखित तीन संस्था र अन्य केही संस्थालाई सहयोग पुर्याउन कन्सर्ट खर्चपछि दश हजार पाउण्ड जुटाउने उद्देश्य छ’, उनले भने । खरेल दम्पत्तिकी ज्येष्ठ छोरी स्मारिका सुस्तमनस्थितिकी भएकीले उनीहरुको कन्सर्ट नेपालका त्यस्तै वालवालिकाको सहयोगमा समर्पित देखिन्छ ।

सन् २००४ मा लन्डनमा पहिलो कन्सर्ट गरेकी सितुको दशकपछि हुने यो कन्सर्ट विशुद्ध सांगीतिक च्यारिटीका रुपमा हुनेछ । लाइभ म्यूजिक दिने क्रस् कल्चरल ग्लोवल म्यूजिकल ग्रुपका संगीतकर्मी कंगो, वेल्स्, अमेरिकी र नेपाली नागरिक भएकाले संगीतमा नौलोपन आउने अपेक्षा समेत छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री