पर्यटन प्रवर्धनमा अढाई दशक

985

समाजमा परिचित हुन कसलाई पो मन नलाग्ला, त्यो पनि विश्वभरका मानिस बसोवास गर्ने मुलुक बेलायतमा । समाजमा परिचित हुने र आफ्नो देशलाई विश्वमाझ चिनाउने चाहानाले नै केही नयाँ काम गर्ने प्रेरणा मिल्यो समाजसेवी ध्रुव केसीलाई । यो नाम अहिले पर्यटक प्रवर्धकका रुपमा स्थापित छ बेलायतमा ।

नेपालले सन् १९९८ मा नेपाल भ्रमण वर्ष मनाउन लाग्दा अहिले जस्तो न सामाजिक संजालहरुको जमाना थियो, न त नेपालीहरु नै विश्वमा छरिएका थिए । त्यस्तो कठिन दिनमा पनि नेपाललाई विश्वसामु चिनाउन उनी कम्मर कसेर लागे । सन् १९७४ तिर नेपालबाट रेस्टुरेन्टको वर्कपरमिटमा बेलायत प्रवेश गरेपनि उनको खास रुचिको विषय बन्यो पर्यटन ।

विश्वमान चित्रमा सानो देशका रुपमा रहेको नेपाल र त्यसको प्राकृतिक सौन्दर्यतालाई विश्वमाझ परिचित गराउन पाए देशको मुहार फेरिने सपना उनमा थियो । त्यसैले उनले अठोट लिए– ‘नेपाल सरकारको मुख ताक्नु भन्दा पनि निजी पहलमै नेपाल चिनाउन प्रयत्न गर्नेछु ।’ त्यसपछि खटिए उनी आफ्नो अभियानमा । विश्वसामु नेपाल परिचित गराउन उनले समाजसेवालाई भर्याङ बनाए ।

यसै उद्देश्यले प्रवासकै पहिलो नेपाली संस्था ‘यति नेपाली एसोसिएसन यूके’मा आवद्ध भए उनी । पशुपति शम्शेर जवराको अध्यक्षतामा सन् १९६० मा स्थापित उक्त सामाजिक संस्थामा त्यतिबेला उनीसहित डा. राघव धिताल, खगेन्द्र नेपाली, डा. चुडा कार्की, डा. कुमुद धिताल, वसन्त रायक्षेत्री, मदन थापा, हरि थापालगायतको टिम सक्रिय थियो । त्यो टिमको एउटै उद्देश्य थियो–‘ नेपाली भाषा र संस्कृतिको संरक्षण गर्ने ।’ बेलायतमा पनि नेपाली भाषा संस्कृतिको संरक्षण गर्ने काम सुरुका दिनमा निकै कठिन थियो । तैपनि उनले हिम्मत हारेनन्, निरन्तर लागि नै रहे । नेपाली भाषा संस्कृतिको संरक्षण गर्ने कठोर ‘टाष्क’ का बीच पनि उनले नेपालको पर्यटन प्रवद्र्धनलाई भने छाडेका थिएनन् ।

उनको योगदान देखेर तत्कालिन सरकारले यूकेका लागि ‘पव्लिक रिलेसन रिप्रेजेन्टेटिभ’ को नियुक्ति दियो । त्यसपछि उनमा झन् जिम्मेवारी थपिएको महशुस भयो भने निजीबाट सरकारी जिम्मेवारीमा परिणत भयो । त्यही योगदानले नै उनलाई समाजमा स्थापित पर्यटक प्रवद्र्धकका रुपमा परिचित गरायो । त्यही परिचय स्थापित गर्न आफ्नो जीवन कालमा पैसालाई भन्दा पनि नेपाललाई नै उच्च प्राथमिकतामा राखेर पर्यटक प्रवद्र्धकको बाटो लम्किए ।

नेपालको भाषा, संस्कृति र नेपालीपनको वचाउका लागी काम गर्दै जाँदा पर्यटन क्षेत्रलाई अघि बढाउने काममा तत्कालिन सरकारले उनलाई ठूलो सहयोग गर्दैनथ्यो । सरकारका तर्फबाट पर्यटक प्रवद्र्धनका लागि वर्षमा एक पटक गरिने पर्यटन कार्यक्रम अपर्याप्त थियो । तरपनि सरकारको ध्यान त्यता तिर थिएन आफ्नै आन्तरिक राजनीति र दुरदर्शीताको कमीले ।

तत्कालिन पर्यटन सचिव दीपेन्द्र पुरुष ढकालले पर्यटनका लागि यूके प्रतिनिधिका रुपमा आंैपचारिक नियुक्ति दिएपछि केसी पर्यटनमा झन् सक्रिय भए । ‘त्यो नियुक्तिले पर्यटन प्रवद्र्धनको क्षेत्रमा लाग्न मलाई औपचारिक मार्ग प्रसस्त गर्यो’, उनी सम्झन्छन् । सन् १९८० सम्म युरोपियन मुलुक इटालीको एउटा शहर नेपल्स्लाई नै चिन्ने भएकाले नेपाललाई चिन्ने पर्यटक हातमै गन्ने खालका थिए । सन् १९९० तिर आइपुग्दा त्यसलाई धेरै हदसम्म चिर्न सफल भइसकेका थिए बेलायतका नेपालीहरु ।

सन् २००२ मा विस्तारै नेपाललाई चिन्न थालेपछि ५, ६ हजारको हाराहारीमा रहेको पर्यटक आगमन ह्वात्तै बढेर ४० हजारको हाराहारीमा पुर्याउन उनले बेलायतमा निकै योगदान गरेका थिए । त्यसलाई सम्झंदै उनी भन्छन् ‘सरकारले पैसा नदिए पनि हामी आफ्नै निजी खर्चमा बेलायतमा थुप्रै पर्यटन प्रवद्र्धनका लागि काम गर्न थाल्यांै ।’ विशेषत सरकारले वर्षमा एक पटक मात्र पर्यटक भित्र्याउन कार्यक्रम गर्ने भएकाले खासै त्यसले पर्यटन प्रवद्र्धनका लागि काम गर्न सकेको थिएन । लन्डनस्थित दूतावासमा रहेका कर्मचारीले पनि त्यस्तो महत्व दिएको देखिंदैन थियो । किनकि सरकारले पैसा नदिएपछि सरकारी कर्मचारीले काम गर्ने कुरै आएन । एउटा उखानै छ ‘सरकारी काम कहिले जाला घाम ।’

सन् १९९८ सालमा केसीकै सक्रियतामा ‘फेन्ड्स अफ ब्रिटेन एण्ड नेपाल टुरिज्म अर्गनाइजेशन यूके’ स्थापनाले सरकारको तत्कालिन समयमा पर्यटक भित्र्याउने योजनालाई थप बल पुगेको सर्वविदितै छ ।
नेपालमा आशातीत पर्यटक मात्र भित्र्याउन सके धेरै नेपालीको घरमा चुलो बन्ने उनको धारणा छ । उनी अहिले पनि भन्छन् ‘नेपालको विकासको मेरुदण्ड नै हो टुरिज्म् ।’ तर, नेपालको तरल राजनीतिक अवस्था अनि असुरक्षा यसमा वाधक बनेको उनको ठम्याइ छ । आक्रोश पोख्दै उनले थपे–‘के गर्ने राजनीतिक दलका बन्द हड्तालले नेपाल र नेपालीलाई विश्वसामु चिनाउने कामका व्यवधान भइरहेको छ जुन कुरा नेपालका राजनीतिक दल र तिनका भातृसंगठनले बुझेनन् ।’

राजनीतिक दल र उनका भातृसंठनले मात्र नेपालमा बन्द हड्ताल नगर्ने हो भने थप २५ प्रतिशत विदेशी पर्यटक नेपाल भित्र्याउन सकिने उनको ठोकुवा छ । एक ठाउँबाट अर्काे ठाउँमा पुग्दा भेटिने हावापानी, भाषा र संस्कृतिको भिन्नता अनि सांस्कृतिक मौलिकता र भिन्दै प्राकृतिक सौन्दर्यताले नेपाललाई प्राकृतिक रुपमा साँच्चै धनी बनाएको उनको निक्र्यौल छ । पूर्वी नेपालको इटहरी बाट धरान पुग्दा नपुग्दै हावापानी नै फरक पाइने जस्तो प्राकृतिक सौन्दर्यता नेपालमा पाइन्छ भनेर विश्वसामु प्रचार गर्न सके निकै पर्यटक भित्रिने विश्वास उनमा छ । ‘तर, के गर्नु राजनीतिले पुस्तैपुस्तालाई खाने भो’ उनी निराश देखिए ।

बन्द र हडताललाई नेपालबाट सधंैका लागि बन्द गर्ने र सुरक्षा दिन सक्ने भए एक पर्यटक बरावर १० जना नेपालीको घरमा चुल्हो बन्ने दावी उनको छ । पर्यटकलाई नेपाल भित्राउन सके नेपालीहरुले विदेशमा आफ्नो रगत र पसिना बगाउन नपर्ने बताउँछन् उनी । ‘एउटा पर्यटक नेपाल जाने वित्तिकै उसले गर्ने खर्चले धेरै लाभान्वित हुन्छन्’ उनी सुनाउँछन् । बेलायत जस्तो विकसित मुलुकले पनि पर्यटक भनेपछि गर्ने सम्मान बेग्लै छ । यसबाट नेपालीले समेत शिक्षा लिनुपर्ने देख्छन् उनी ।

सन् १९७६ को अन्त्यतिर मदन थापा, लक्ष्मण थापा, रामदास मानन्धर, कालुराम तामाङ, जयकृष्ण तामाङ र धु्रव केसी स्वयंको लगानीमा ‘लाइट अफ नेपाल’ नामक रेष्टुरेन्ट खुलेको थियो । यो नै नेपालीद्वारा सञ्चालित पहिलो रेष्टुरेन्ट थियो जुन २००८ मा बन्द भयो । त्यो नेपालीको मात्र व्यवसाय भएकाले राम्रो गरेर देखाउनु पर्ने वाध्यता थियो उनीहरुमा । यही रेष्टुरेन्टमा समर्पित हुँदा हुँदै अन्य पेशा सोच्न सकेनन् केसीले । केसीको वेम्लीमा ‘वेम्ली तन्दुरी रेष्टुरेन्ट’ चालु छ । तीन दशक देखि सञ्चालित उक्त पुरानो रेष्टुरेन्ट केसीले सन् १९९९ बाट एकल स्वामित्वमा चलाइरहेका छन् ।

पारिवारिक व्यवसायका रुपमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन बाहेक पर्यटन प्रवद्र्धनका लागि ट्राभल व्यवसाय समेत छ उनको । उनको रेक्स् एयर ट्राभलले विभिन्न माध्यमबाट पर्यटन नेपाल पठाउन सहयोग गरिरहेको छ । त्यसो त उनले चलाएको रेष्टुरेन्टमा पनि टुरिष्टलाई चाहिने पर्याप्त सूचना उपलव्ध छ जसलाई केसी ‘टुरिष्ट इन्फर्मेशन सेन्टर’ भन्न रुचाउँछन् ।

उनको पर्यटनप्रतिको लगाव बुझ्न एउटा उदाहरण हेरे पुग्छ । सन् २००४ तिर हो, उनले सेन्ट्रल लण्डनको महंगो स्थान मध्येका अक्सफोर्ड स्ट्रिट र पिकाडेली सर्कस्मा कोठा भाडामा लिएर नेपाल पर्यटक सूचना केन्द्र खोली पर्यटनको प्रचार प्रसार गरेका थिए ।

एक्लै भन्दा पनि सबै मिलेर पर्यटन प्रवद्र्धन गनुपर्ने उनको आग्रह छ । ‘एक्लो व्यक्तिको मात्र भर भन्दा पनि एनआरएन, तमुधिं यूके लगायत विभिन्न संघसस्थासँग मिलेर काम गर्यांै भने नेपाललाई संसारमा पर्यटन गन्तव्यका रुपमा चिनाउन सकिन्छ’ केसी थप्छन्–‘बेलायतस्थित हामी सबै नेपालीले पिआरको भूमिका निर्वाह गर्न सके पर्यटनमार्फत सांच्चिकै देशको मुहार फेर्न सकिन्थ्यो ।’

केसीलाई पर्यटन क्षेत्रमा गरेको योगदानकै कारण नेपाल सरकारको पर्यटन मन्त्रालय मार्फत ‘लाइफ टाइम एचिभमेन्ट नेशनल अवार्ड’ समेत प्रदान गरिसकेको छ । त्यसबाहेक अन्य थुप्रै अवार्डस्ले सम्मानित भइसकेका छन् केसी । स्पष्ट वक्ता र अन्यायविरुद्ध खरो आवाज उठाउने उनको व्यवहारले कतिपय रुष्ट भएपनि धेरैमाझ उनी सम्मानित छन् । च्यारिटीमा उनको संलग्नता उस्तै छ । नेपाली विद्यार्थी अलपत्र पर्दा होस् वा कसैको अकालमा मृत्यु, दातामा उनी आइहाल्छन् ।

उनी नेपाली समुदायका हरेक कार्यक्रममा नियमित सहभागी हुन्छन् । पर्यटन क्षेत्रमा मात्र होइन, उनले विभिन्न संस्थामा सल्लाहकार, महासचिव र उपाध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् । उनी नेपलिज क्याटरिङ एसोसिएसन यूकेका संस्थापक अध्यक्ष हुन् । क्षेत्री समाज यूकेका संरक्षक,  नेप्लिज सेफ एसोसिएसन यूके सल्लाहकार, कोशेली सल्लाहकार लगायतका जिम्मेवारीले उनलाई एकछिन फूर्सद छैन् ।

केसीको एकताका नेपाली चलचित्रमा समेत रुचि थियो । थुप्रै काममा व्यस्त रहँदा पनि उनले बेलायतमै ६ जना साथीहरुसँग मिलेर नेपाली चलचित्र ‘कस्तुरी’ बनाएका थिए । नेपाली साहित्य विकास परिषदमा समेत उनको संलग्नता थियो । कोशेली मार्फत सांस्कृतिक कार्यक्रममा उनको सहभागिताले कतिपय प्रश्न गर्छन्, ‘केसीले हात नहालेको क्षेत्र कुन होला ?’

प्रतिक्रिया

सम्बन्धित सामाग्री